१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
इमिली स्क्मल/भद्र शर्मा
२०७७ मङ्सिर २५ बिहीबार ०७:१८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सगरमाथाको उचाइसँगै अग्लिँदै  नेपाल र चीनको सम्बन्ध 

Read Time : > 2 मिनेट
इमिली स्क्मल/भद्र शर्मा
२०७७ मङ्सिर २५ बिहीबार ०७:१८:००

मंगलबार सगरमाथाको उचाइ दुई फिटभन्दा बढीले बढ्यो । चीन र नेपालले संयुक्त रूपमा यो नयाँ उचाइ सार्वजनिक गरेका हुन् ।

इमिली स्क्मल/भद्र शर्मा 

विश्वको सबैभन्दा अग्लो हिमालको उचाइमा दुई देशले जनाएको सहमतिले चीन र नेपालबीच पछिल्लो समय न्यानो हुँदै गएको सम्बन्धलाई पनि संकेत गर्छ । चीन र नेपालका अधिकांश सिमाना उच्च हिमाली भूभागमा  छन्, सोही क्षेत्रमा रहेको सगरमाथालाई नेपाल सरकारले प्रतिष्ठाको विषय मान्ने गर्छ । सोही हिमालको उचाइ नाप्न दुई देशले सहकार्य गरेका थिए ।

काठमाडाैं र बेइजिङका अनुसार सगरमाथाको नयाँ औपचारिक उचाइ ८ हजार ८४८.८६ मिटर अर्थात् २९ हजार ०३१.७ फिट पुगेको छ । विगत ६५ वर्षदेखि यसको उचाइ ८ हजार ८४८ मिटर वा २९ हजार ०२८.८७ फिट स्विकारिएको थियो । उचाइ सार्वजनिक गर्ने क्रममा नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले ‘सगरमाथाको उचाइसँगसँगै चीन र  नेपालबीचको सम्बन्ध पनि बढेको’ बताए । ज्ञवाली र उनका चिनियाँ समकक्षीले भर्चुअल माध्यमबाट संयुक्त रूपमा उचाई सार्वजनिक गरेका थिए ।

चिनियाँ नेता सी जिनपिङले पनि सगरमाथाको नयाँ उचाइमा समर्थन जनाएका छन् । खासमा सीले एक वर्षअघि नेपाल भ्रमणका क्रममा आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई दुई देशले सगरमाथाको उचाइ संयुक्त रूपमा नाप्ने घोषणा गरेका थिए । अहिले सीको सोही वाचा पूरा भएको छ ।

हिमालय क्षेत्रका अन्य छिमेकीसँग चीनको सम्बन्ध त्यति सौहार्दपूर्ण छैन । यही वर्षको जुन महिनामा भारत र चीनबीचको सीमाविवादले रक्तपातपूर्ण भिडन्त निम्त्याएपछि भारतसँग चीनको सम्बन्ध अझै तनावपूर्ण छ । त्यस्तै चीन र हिमालय क्षेत्रमा पर्ने अर्को मुलुक भुटानबीचको सम्बन्ध पनि राम्रो छैन । तिनको तुलनामा बेइजिङले नेपाललाई आदर देखाउने गरेको छ । नेपालमा अहिले बेइजिङप्रति सकारात्मक रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकार छ । चीन नेपाललाई बेल्ट एन्ड रोड इनिसियटिभ रणनीतिको महत्वपूर्ण हिस्सा मान्छ । भारतसँगको सम्बन्ध केही चिसिएको भनेको वेला नेपाल चीनको नजिक गएको छ । 

भारतीय सर्वेयर जनरलले नेपालसँग २०७४ सालमा सगरमाथाको उचाइ पुनः मापन गर्ने प्रस्ताव गरेका थिए । तर, आफ्ना पर्वत मापन गर्ने क्षमता भएका सर्वेक्षक आफूसँग रहेको भन्दै नेपालले प्रस्ताव अस्वीकार गरिदियो । नेपालले सुरुमा चीनको प्रस्ताव पनि अस्वीकार गरेको थियो । तर, पछि उसले उचाइ मापनलाई संयुक्त परियोजना बनाउन सहमति जनाएको थियो । चीनले कोरोना भाइरस महमारीका कारण पवर्तारोहण अवरुद्ध भएको समयमा यही वर्ष सगरमाथाको उत्तरी मोहडाको मापन गरेको थियो । 

विश्वको सबैभन्दा अग्लो हिमालको उचाइमा नेपाल र चीनले जनाएको सहमतिले चीन र नेपालबीच पछिल्लो समय न्यानो हुँदै गएको सम्बन्धलाई पनि संकेत गर्छ ।

नेपालले त्यसअघि नै दक्षिणी भाग नापिसकेको थियो । नेपाल भूपरिवेष्टित भएकाले यहाँका आरोहीहरूले सटिक समुद्री सतह यकिन गर्न भारतीय सर्वेक्षण विभागको तथ्यांक प्रयोग गर्नुपरेको थियो । त्यसपछि नेपाली आरोहण समूह सन् २०१९ मेमा स्याटेलाइट रिसिभर र एन्टेना बोकेर सगरमाथा उक्लियो । उनीहरू सगरमाथाको चुचुरोमा स्याटेलाइट डाटा समात्न दुई घन्टासम्म पर्खिएका थिए । 

नेपालको सगरमाथा आरोहण टिमको नेतृत्व गरेका थिए, सर्वेक्षण अधिकारी खिमलाल गौतमले । गौतमका अनुसार सर्वेक्षकले त्यति उचाइमा स्याटेलाइट डाटा समातेको त्यो पहिलोपटक थियो । विगतमा शेर्पा र गाइडले स्याटेलाइट डाटा समात्ने गरेको गौतमले बताए । सगरमाथा हेर्दा अटल देखिए पनि टेक्नोटिक हलचलले यसमा असर गर्ने गर्छ । ०७२ सालको भूकम्पका कारण आम रूपमा हिमालय क्षेत्रका कैयौँ चुलीसँगसँगै सगरमाथा पनि केही होचिएको अनुमान थियो । तर, अहिले सार्वजनिक भएको दोहोरो मापनले त्यसभन्दा फरक तथ्यांक निकालेको छ । 

वैज्ञानिकहरूले पहिलेदेखि नै सगरमाथाको उचाइ बढिरहेको बताउँदै आएका थिए । भारतीय प्लेट युरोसियन प्लेटमुनि घुस्रिरहेकाले हिमालय उचालिने गर्छ । भूकम्पले चुलीको उचाइ घटाउन पनि सक्छ । तर, सगरमाथाको उचाइ सधैँ एउटै थिएन । १९औँ शताब्दीमा तत्कालीन ब्रिटिस–इन्डियाका सर्वेयर जनरल सर जर्ज एभरेस्ट र उनको समूहले सगरमाथाको उचाइ ८ हजार ८४०.०७ मिटर (२९ हजार ००२.८५) मापन गरेको थियो ।

त्यसपछि पनि भारत, चीन, अमेरिका, इटली र डेनमार्कले सगरमाथाको मापन गरेका थिए । नेपालले सबै मापनलाई अस्वीकार गर्दै आएको थियो । अझ नेपालले यो हिमालको नाम ‘माउन्ट एभरेस्ट’लाई पनि अस्वीकार गर्ने गरेको छ । मंगलबारको संयुक्त ब्रिफिङमा पनि चिनियाँ विदेशमन्त्री वाङ यीले हिमाललाई ‘चोमोलङमा’ र नेपालका परराष्ट्रमन्त्रीले ‘सगरमाथा’ सम्बोधन गरेका थिए । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

भद्र शर्मा र इमिली स्क्मल पत्रकार हुन्, शर्मा काठमाडौंमा बसेर पत्रकारिता गर्छन् भने स्क्मल नयाँदिल्ली ।