मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २४ बुधबार
  • Thursday, 19 December, 2024
२o७७ मङ्सिर २४ बुधबार १४:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेका दुई स्थानीय तहमा अझै भएन अस्पताल भवनको शिलान्यास 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर २४ बुधबार १४:o३:oo

सरकारले मंसिर १५ गते देशैभरी स्थानीय तहमा तीन सय ९६ वटा पाँच, १० र १५ शय्याका आधारभुत अस्पताल भवन शिलान्यास गर्‍यो । तर, काभ्रेका दुई स्थानीय तहमा भने अस्पताल भवनको अझै शिलान्यास हुन सकेको छैन ।

जिल्लाको महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकामा आधारभूत अस्पताल भवनकाे शिलान्यास हुन नसकेको हो ।

महाभारत गाउँपालिकामा बन्ने अस्पताल भवनको लागि दुई पटक सरकारबाट पत्र आउँदा दुवै स्थानका स्वास्थ्य चौकीलाई स्थरोन्नती गरी अस्पतान निर्माण गर्न पत्र आएकाले कुन स्वास्थ्यचौकीलाई स्तरोन्नती गर्ने भन्नेअन्योलका कारण शिलान्यास हुन नसकेको बताइएको छ । 

त्यस्तै, खानीखोला गाउँपालिकामा बन्ने अस्पतालका लागि जग्गा उपलब्ध नभएका कारण शिलान्यासको काम रोकिएको छ ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ असोज १८ मा पठाएको पत्रमा बनखु स्वास्थ्यचौकीलाई स्तरोन्नती गर्नु भन्ने आएको र पछि पुनः ०७७ कात्तिक २८ मा पठाएको पत्रमा घर्तिछाप स्वास्थ्यचौकीलाई स्तरोन्नती गर्नु भन्ने पत्र आएकाले अन्योल भएर शिलान्यास नभएको बताएका छन् । 

मन्त्रालयबाटै ठाउँको यकिन नगरी पत्र पठाएका कारण शिलान्यास हुन नसकेको जिम्बाको भनाइ छ । ‘हामीले ठाउँको यकिन गरी पठाउन भनेर मन्त्रालयमा पत्राचार गरिसकेका छौँ’, अध्यक्ष जिम्बाले भने, ‘मन्त्रालयबाट टाउँको यकिन गरेर पत्र आएपछि हामी तत्काल शिलान्यास गर्नेछौँ, हामी तयारी अवस्थामा छौँ ।’ 

ठाउँ यकिन गरी पठाउनका लागि पत्र पठाएको, तर अहिलेसम्म ठाउँ यकिन गरेर मन्त्रालयले पत्र नपठाएको जिम्बाले बताएका छन् ।

खानीखोला गाउँपालिकाको तालढुंगामा रहेको अस्पतालका लागि नक्साअनुसारको जग्गा नपुगेका कारण अस्पताल भवनको शिलान्यास रोकिएको गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेले बताएका छन् । ‘नक्साअनुसार जग्गा नपुगेकाले अस्पतालको शिलान्यास नगरेका हौँ ।’ गोलेले भने, ‘हामी प्राविधिक ल्याएर जग्गा नाप गरिरहेका छौँ, जग्गा मिलेपछि शिलान्यास गर्नेछौँ ।’

नेपाल सरकारको एक स्थानीय तह एक अस्पतालको नीतिअनुरूप काभ्रे जिल्लामा पाँच स्थानीय तहमा अस्पताल भवन निर्माण हुने भएको हो । 

महाभारत गाउँपालिकाको घर्तिछाप स्वास्थ्यचौकी, खानीखोला गाउँपालिकाको तालढुंगा स्वास्थ्यचौकी, कोसीपारि क्षेत्रको भुम्लु गाउँपालिकाको भुम्लुटार स्वास्थ्यचौकी र रोशी गाउँपालिकाको खहरेपाँगु स्वास्थ्यचौकीको स्तराेन्नति गरी दश–दश शय्याका अस्पताल बन्ने भएको छ भने धुलिखेल नगरपालिकाको काभ्रे स्वास्थ्यचौकीको स्तराेन्नति गरी १५ शय्याको अस्पताल बन्ने भएको हो ।

महाभारत र खानिखोला गाउँपालिकाबाहेक अन्य तीन स्थानीय तहले मंसिर १५ मा अस्पताल भवनको शिलान्यास गरेको थियो । अस्पताल भवन निर्माणका लागि निर्धारित समयमा नै धुलिखेल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले शिलान्यास गरिसकेको छ ।

जिल्लाको कोसीपारिस्थित चौरीदेउराली गाउँपालिकाको भालाचौरमा भने यसअघि नै १५ शय्याकाे अस्पताल भवन निर्माण भइरहेको छ ।