मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फु यिङ
२०७७ मङ्सिर २२ सोमबार ०९:१८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीन–अमेरिका सहकार्य

Read Time : > 2 मिनेट
फु यिङ
२०७७ मङ्सिर २२ सोमबार ०९:१८:००

ठूला देशको घरेलु राजनीति तिनका साँधसीमाभित्र मात्र सीमित हुँदैनन् । त्यसैले त अमेरिकाको भावी नीतिबारे चीनका धेरै मानिसले ध्यानपूर्वक हेरिरहेका छन् । विगत चार वर्षमा चीन–अमेरिका सम्बन्धमा गम्भीर धक्का लागेकाले परिवर्तित स्थितिमा अब के होला भन्ने चासो र चिन्ता उत्पन्न भएको हो ।

अमेरिकालाई चीन विश्व आधिपत्यको उद्देश्यमा छ भन्ने लाग्छ । चीनलाई भने अमेरिकाले उसको अग्रगमनको यात्रा अवरोध पुर्‍याउन खोजिरहेको छ भन्ने परेको छ । दुवै पक्ष अर्को पक्ष खराब छ भन्नेमा ढुक्क देखिँदै गएका छन् । त्यसैले अर्को पक्षले उठाएको हरेक कदमलाई आफूविरुद्धको कदमको रूपमा हेर्ने क्रम बढेको छ । 

उदाहरणका लागि चीनको प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभलाई नै लिउँ । चीनले यस परियोजनाले विश्व कल्याण गर्ने बताएको छ । बिआरआईले विश्व अर्थतन्त्रमा योगदान गर्ने र सम्पर्क विस्तार गर्ने चीनको धारणा छ । तर, अमेरिकाले यस परियोजनालाई भूराजनीतिक आधिपत्य विस्तारको रणनीति मान्छन् । पछिल्ला वर्ष तनाव बढिरहँदा वासिङ्टनले चिनियाँ हाईटेक कम्पनीमाथि कडाइ गर्न थाल्यो ।

प्रविधि उद्योग मात्र होइन, चिनियाँ विद्यार्थीमाथि समेत कडाइ हुन थालेको देखिन्छ । यो अवस्थाबाट सम्बन्ध पुनर्ताजगी गर्नका लागि दुवै पक्षले अर्कोको मनसायलाई सही रूपमा मूल्यांकन गर्नुपर्छ । चीनले अमेरिकाको विश्व आधिपत्यको हैसियत खोस्न चाहँदैन । दुई देशले एक–अर्कालाई नबुझी मुठभेडतर्फ अघि बढे भने त्यो ऐतिहासिक भूल हुनेछ । यस्तो अवस्थामा दुवैको आधारभूत स्वार्थमाथि धक्का लाग्नेछ ।

 दुवै देशका सरकारका धेरै घरेलु एजेन्डाहरू छन् र यदि चीन तथा अमेरिकाबीचको प्रतिस्पर्धा पन्छाउन सकिएन भने पनि यसलाई सहकार्यात्मक रूपमा अघि बढाउनुपर्छ । एक–अर्काको चासो सम्बोधन गरेर दुई देशबीच सहकार्ययुक्त प्रतिस्पर्धा सम्भव छ ।

अर्थशास्त्र तथा प्रविधि क्षेत्रमा विधि तथा नियम लागू हुनुपर्छ । बेइजिङले चीनमा काम गरिरहेका अमेरिकी कम्पनीहरूले भन्ने गरेको बौद्धिक सम्पत्तिको सुरक्षा, साइबर सुरक्षा तथा गोपनीयताजस्ता सच्चा चासो महत्वका साथ सुन्नुपर्छ । केही हदसम्म चिनियाँ सरकारले यो क्षेत्रमा काम सुरु गरिरहेको छ । वासिङ्टनले पनि अमेरिकामा सञ्चालन भएका चिनियाँ उद्योगहरूलाई समान व्यवहार गर्नुपर्छ । अमेरिकाले हुवावेजस्ता कम्पनीको उच्च प्रविधिसँग डराउनुभन्दा आफ्ना उद्योगलाई थप प्रतिस्पर्धी बनाउन काम गर्नु राम्रो हो । 

चिनियाँ कम्पनीले आफ्नो राष्ट्रिय सुरक्षामा आघात पुर्‍याउने अमेरिकी दाबी धेरै चिनियाँलाई अतिशयोक्तिपूर्ण लागिरहेको छ । किनकि, चीनको चार दशक लामो सुधार र खुलापनको अवधिमा उसले तमाम पश्चिमी प्रविधिलाई स्वागत गरेकै थियो । त्यस अवधिमा पनि चीनले आफ्नो राष्ट्रिय सुरक्षा कायम राख्न सक्यो ।

चीन र अमेरिकाले समानताका आधारमा सौहाद्र्रपूर्ण अन्तरक्रिया सुचारु गरे भने दुवै पक्षलाई फाइदा हुने दिगो सम्बन्धको बलियो आधार बनाउन सम्भव छ 

चीन र अमेरिकाले समानताको हिसाबमा सौहाद्र्रपूर्ण अन्तरक्रिया सुचारु गरे भने दुवै पक्षलाई फाइदा हुने दिगो सम्बन्धको बलियो आधार बनाउन सम्भव हुन्छ । राजनीतिक मोर्चाको सन्दर्भमा अमेरिकाले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी त्याग्नुपर्ने समय आइसकेको छ । वासिङ्टनले अफगानिस्तान, इराक र लिबियाका असफल हस्तक्षेपबाट सिक्नुपर्छ ।

जसरी अमेरिकीहरू आफ्नो राष्ट्रपतीय चुनावमा विदेशी शक्तिको हस्तक्षेपको चिन्ता गर्छन्, अन्य देशलाई पनि आफ्नो घरेलु मामिलामा अन्य देशको हस्तक्षेपलाई लिएर डर हुने गर्छ भनेर अमेरिकाले ख्याल गर्नुपर्छ । अमेरिकाले चिनियाँ शासन प्रणालीप्रति नै औँला उठाउने गरेको प्रवित्तिप्रति चीनको आपत्ति रहने गरेको छ । चीन र अमेरिकाले एक–अर्काको राजनीतिक प्रणाली अलग छ भनेर स्विकार्न सके र सम्मानको संस्कृति मलजल गरे मात्र सौहाद्र्रपूर्ण वातावरण विकास हुन्छ । 

सुरक्षा क्षेत्रमा दुवै देशको काँधमा एसिया–प्रशान्तीय क्षेत्रमा वर्षौंदेखि कायम शान्तिलाई निरन्तरता दिनुपर्ने जिम्मेवारी छ । चीनको बढ्दो नौसैनिक शक्तिले पश्चिम प्रशान्तीय क्षेत्रमा अमेरिकालाई दबाबमा राखेको सत्य हो । सो क्षेत्रमा लामो समयदेखि आधिपत्यको दाबी गर्दै आएको अमेरिकी नौसैनिकले स्थानीय सैन्य शक्तिको बलियो उपस्थितिबाट असहजता महसुस गरेको छ । कुनै प्रकारको असमझदारी तथा अनपेक्षित द्वन्द्व पन्छाउनका लागि दुई सेनाले रणनीतिक स्तरमा वार्ता गर्नुपर्छ । यसबाट एउटा संयन्त्र निर्माण गरी सम्भावित खतरा व्यवस्थापना गर्ने र दुई देशको शान्तिपूर्ण अस्तित्व खोज्नुपर्ने हुन्छ । 

यो असम्भव पनि होइन । सन् १९९० को अन्तिममा चीन र अमेरिकाले समुद्री सुरक्षा सम्बन्धमा परामर्श संयन्त्र बनाएका थिए । पछि तिनले समुद्र, आकाशमा अचानक हुन सक्ने जम्काभेटलाई व्यवस्थापन गर्न निर्देशिका बनाएका थिए । त्यसबाहेक सम्भावित संकटलाई मत्थर पार्नका लागि हटलाइन पनि बनाएका थिए । हालैका वर्षमा पनि तिनले एक–अर्काको सैन्य गतिविधिबारे सूचित गर्नका लागि औपचारिक संयन्त्र विकास गरेका छन् ।

विश्वासको वातावरण वृद्धि गर्न र एक–अर्काको उद्देश्यलाई थप स्पष्ट पार्न खुला कुराकानी हुनु आवश्यक छ । विभिन्न विश्वव्यापी मुद्दामा पनि चीन र अमेरिकाको सहकार्यको खाँचो देखिन्छ । सबैभन्दा तत्कालै कोरोना भाइरसविरुद्धको लडाइँमा त्यस्तो सहकार्य आवश्यक छ ।

विगतका स्वास्थ्य संकटमा दुई देशका वैज्ञानिकको निकट सहकार्यको उदाहरणीय इतिहास छ । तिनलाई पुनः सुचारु गर्नुपर्छ । चीन र अमेरिका दुवै खोप विकासमा अगाडि छन् । यदि दुई देशले खोपलाई सबैको पहुँचमा पुर्‍याउन सहकार्य गरे भने विश्वको हित हुनेछ । 

चीनका पूर्वउप–विदेशमन्त्री फु यिङ १३औँ नेसनल पिपुल्स कंग्रेसको विदेश मामिला समितिकी उपाध्यक्ष हुन् । "via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य