हरेक वर्ष पाँच डिसेम्बरमा पर्ने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवक दिवसका रूपमा मनाउने गरिएको छ । १७औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक दिवस २० मंसिर अर्थात् ५ डिसेम्बरमा मनाइयो ।
यस दिवसलाई खासगरी महिला स्वास्थ्य स्वयंसेविकाको कदर र मनोबल उच्च राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको भए तापनि प्रत्येक वर्ष मनाइने यस्ता दिवसले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र सम्मानमा के भूमिका खेल्दै आइरहेको छ भन्ने प्रश्न जहाँको त्यहीँ नै छ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् ।
चिकित्सकको सहरकेन्द्रित मानसिकताले गर्दा गाउँघरका कयौँ स्वास्थ्य संस्था चिकित्सकविहीन छन् भने भएका अन्य स्वास्थ्य कर्मचारीले पनि बिरामीलाई राम्रो सेवा दिन नसकिरहेको हाम्रोजस्तो देशमा स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेख्य रूपमा सह्राहनीय छ ।
खासगरी, महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा मानिसको ढोका–ढोकामा पुगेर स्वास्थ्य सेवा दिने काम उनीहरूले गरिरहेका छन् । नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको युनिसेफले उल्लेख गरेको छ ।
समग्रमा सामुदायिक स्वास्थ्य कार्यकर्ताभित्र पर्ने यिनीहरूलाई विभिन्न देशमा फरक–फरक नामले सम्बोधन गर्ने गरिएको छ । चीनको ‘वेयरफुट डाक्टर’को सफलतापछि यो अवधारणाको अनुसरण अन्य मुलुकले पनि गर्न थालेका थिए । सन् १९७८ को अल्माआटा सम्मेलनले ल्याएको प्राथमिक स्वास्थ्य सेवाको अवधारणले यसलाई अनिवार्य बनाइदियो, जसको नारा थियो, ‘हेल्थ फर अल बाई २०००’ ।
यसपछि सन् १९८० ताका विभिन्न अल्पविकसित मुलुकले स्वास्थ्य स्वयंसेवा कार्यक्रमलाई स्वास्थ्यका लागि जनशक्तिका रूपमा अगाडि सारी तालिम दिन थाले । यो क्षेत्रमा महिला र पुरुष दुवै लागे पनि धेरै मुलुकमा महिला नै स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेको पाइन्छ । उदाहरणका लागि भारतमा स्थानीयस्तरमा काम गर्ने स्वास्थ्य क्षेत्रको कार्यक्रम आशामा एक लाख, आगनबाडी हेल्परमा एक लाख २० हजार र आगनबाडीमा एक लाख ३० हजार सबै महिला छन् ।
धेरै जिम्मेवारी वहन गर्ने स्वास्थ्य स्वयंसेविकाको सेवा–सुविधा भने नगन्य छ । केही वर्षयता उनीहरूको सेवा–सुविधाका बारेमा अलि बढी चासो देखिए पनि यसमा यथोचित सुधार हुन सकेको छैन ।
प्रारम्भिक चरणमा २७ जिल्लामा आरम्भ गरिएको कार्यक्रम ९० को दशकमा देशभर लागू गरियो र अहिलेसम्म पनि सफल रूपमै चलिरहेको छ । नेपालको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको सफलताबारेमा अन्तर्राष्ट्रियस्तरमै चर्चा हुने गर्छ ।
नेपालमा स्वास्थ्य स्वयंसेविकाले बीचमै काम छाड्ने दर पनि विश्वको तुलनामा अत्यन्त न्यून अर्थात् जम्मा चार प्रतिशत रहेको छ, जबकि दक्षिण अफ्रिकामा ४३ प्रतिशत बीचमै काम छाड्ने गर्छन् । यसले नेपालमा स्वास्थ्य स्वयंसेविकाको कामप्रतिको प्रतिबद्धतालाई नै झल्काउँछ । यसरी नेपालको स्वास्थ्य क्षेत्रको आधारका रूपमा रहेका यी स्वास्थ्य स्वयंसेविकाले सरकारबाट भने यथोचित् सम्मान नपाएको कुरा साँचो हो ।
गाउँघरमा स्वास्थ्य स्वयंसेविकाले राम्रो सम्मान पाउनुका साथै कतिपय दुर्गम ठाउँमा स्थानीयवासीले उनीहरूलाई डाक्टरसमेत भनेर सम्बोधन गर्ने गरेकाले उनीहरू विनापारिश्रमिक यस पेसामा लगातार लागिरहने थुप्रै कारणमध्येको महत्वपूर्ण कारण रहेको विभिन्न अनुसन्धानले देखाएको छ ।
सुरुमा मासिक एक सय रुपैयाँबाट सुरु भएको, यो कार्यक्रम केही समयपछि दातृ संस्थाको सहयोग बन्द भएपछि भत्तामा मात्र सीमित हुन पुग्यो । ०५० सालमा ४० रुपैयाँ रहेका छलफल भत्ता अहिले चार सय पुगेको छ । साथैै, त्यतिवेला पोसाकका लागि भत्ता दिने गरिँदैनथ्यो, तर पछि तीन हजारबाट सुरु गरेर हालसम्म आइपुग्दा १० हजार दिने गरिएको छ ।
भारतमा भने आशा तथा आगनबाडीका स्वयंसेविकालाई मासिक रूपमा पारिश्रमिक भत्ता दिने गरिन्छ । यद्यपि, त्यो अत्यन्त न्यून हुने गरेकाले वेला–वेला उनीहरू श्रमको उचित मूल्यांकन हुनुपर्यो भनेर आन्दोलनमा पनि उत्रने गरेका छन् । त्यसो त वेलाबखतमा स्वास्थ्य स्वयंसेविकालाई कामको मूल्यांकनका आधारमा केही सामान पनि दिने गरिन्छ ।
तर, ती सामान निम्न गुणस्तरका हुने र उनीहरूले प्रयोग गर्नै नपाउने लेखकले गरेको एक अनुसन्धानको सिलसिलामा थुप्रै स्वास्थ्य स्वयंसेविकाले गुनासो गरेका छन् । वास्तवमा बाहिरबाट हेर्दा अलिअलि सेवा–सुविधा पाइराखेकोजस्तो देखिए पनि यथार्थमा उनीहरूको लगन र खटाइको कदर भएको देखिँदैन ।
महिला स्वास्थ्य स्वयंसेविकाको खास काम महिला तथा बालबालिकाको क्षेत्रमा भए पनि कतिपय अवस्थामा अन्य संघ संस्थाले पनि उनीहरूलाई स्वयंसेवकका रूपमा प्रयोग गरिरहेका छन् । नेपाल सरकारले लागू गर्ने थप स्वास्थ्य कार्यक्रममा पनि उनीहरूलाई संलग्न गराइनै राखिएको हुन्छ, जुन कयौँ अवस्थामा उनीहरूको जिम्मेवारीभित्र पर्दैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको रोकथाममा महिला स्वास्थ्य स्वयंसेविकालाई कामको जिम्मेवारी दिएकोे छ ।
होम क्वारेन्टाइनमा रहेका मानिसको विवरण संकलन गर्ने, स्वास्थ्य अवस्थाबारे जानकारी लिने र सम्बन्धित स्वास्थ्य संस्थालाई प्रतिवेदनमार्फत जानकारी गराउनेजस्ता काम तोकिएको छ । तर, कोभिडको रोकथामका लागि योगदान दिने स्वास्थ्यकर्मीमा उनीहरूको नाम विरलै सुन्न र पढ्न पाइन्छ ।
सामुदायिक स्वास्थ्य स्वयंसेवकको आवश्यकता र महत्व सन् ००६ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले छर्लंग पारेको छ । प्रतिवेदन भन्छ, अल्पविकसित देशमा व्यावसायिक स्वास्थ्यकर्मीको अभाव हुँदा विकल्पका रूपमा यिनै सामुदायिक स्वास्थ्यकर्मी हुन् ।
यसले व्यावसायिक स्वास्थ्यकर्मीको कमीलाई पूर्ति गर्ने काम मात्र गरेको छैन कि यसले देशलाई आर्थिक भारबाट जोगाइरहेको छ । यति धेरै जिम्मेवारी वहन गर्ने स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा भने अत्यन्त नगन्य छ । केही वर्षयता उनीहरूको सेवा–सुविधाकाबारेमा अलि बढी चासो देखिए पनि यसमा यथोचित सुधार हुन सकेको छैन ।
राज्यको पुनर्संरचनापछि भने स्वास्थ्य स्वयंसेविकाको सेवा–सुविधामा प्रदेशअनुसार भिन्नता आएको छ । बिमाको व्यवस्था गरिएको छ, तर पनि यसको पूर्ण कार्यान्वयन भइनसकेको गुनासो स्वास्थ्य स्वयंसेविकाबाट आइरहेको छ ।
विनापैसा दिनदिनै घरको काम छाडेर बाहिर जाने भनेर परिवारका सदस्यको रुखो बोली धेरै स्वास्थ्य स्वयंसेविकाले खाइरहेका छन् । हाम्रोजस्तो पितृसत्तात्मक मुलुकमा पारिवारिक जिम्मेवारी सँगसँगै विनापारिश्रमिक निश्चित समयसीमाविनाको काममा अहोरात्र खटिरहनु ठट्टाको विषय हुनै सक्दैन ।
उनीहरूको सामान्यभन्दा सामान्य मागलाई पनि ‘निःशुल्क सेवा गर्ने भनेर आपूmखुसी आएकाले माग गर्न मिल्छ ?’ भनेर मुखमा बुझो हाल्ने काम बारम्बार भइरहेको छ । तर, उनीहरूले जस्तो मिहिनेतका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्, त्यसको मूल्यांकन राज्यले गर्नुपर्ने हो कि होइन ?
वास्तवमा, प्रभावकारी कार्यक्रम हुँदाहुँदै पनि यसका मुख्य योगदानकर्तालाई राज्यले बिर्सने खालको जुन अवस्था देखिएको छ त्यसमा अब सकारात्मक ‘ब्रेक थ्रु’ हुनैपर्ने देखिन्छ ।
धेरैजसो स्वास्थ्य स्वयंसेविका निम्न आर्थिक अवस्थाबाट आएकाले र सेवा नै धर्म हो भन्ने सोचबाट विकसित भएकाले यो कामलाई निरन्तरता दिइरहेका छन् । यस्तोमा उनीहरूले गरिरहेको कामको सही मूल्यांकन गरी सकारात्मक सन्देश दिनुपर्ने दायित्व राज्यको काँधमा आइपुगेको छ ।