जापान मानव तस्करी प्रकरणमा कोशीका तत्कालीन मन्त्रीमाथि अनुसन्धान सकियो
कोशी प्रदेशका तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीको सहयोगमा जापानमा मानव तस्करीको प्रयास भएको घटनाको प्रहरीले अनुसन्धान पूरा गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले तत्कालीन मन्त्री अधिकारीसहित १२ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।
प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन आइतबार सरकारी वकिल कार्यालयमा बुझाएको छ । अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले बताए । तर, घटना संगठित प्रकृतिको देखिए पनि प्रहरीले संगठित अपराधतर्फ अनुसन्धान गर्न चासो नदिँदा धेरै पाटो खुल्न बाँकी नै रहेको स्रोत बताउँछ ।
यो प्रकरणमा अधिकारीसहित नौजना पक्राउ परेका छन् । अन्य तीनजना फरार छन् । फरार रहेका तीनजना मुख्य बिचौलिया हुन् । उनीहरूले नै अधिकारीलाई जापान लैजान मनाएका थिए । तर, उनीहरू नै पक्राउ नपर्दा पूर्वमन्त्रीविरुद्ध प्रमाण कमजोर भएको स्रोत बताउँछ ।
मोरङका गोपाल भन्ने योगराज गौतम, उदयरपुरका विष्णु भट्टराई र अमेरिका बस्ने दिवाकरबाबु भट्टराईलाई फरार प्रतिवादी बनाउन सिफारिस गरिएको छ । भट्टराई दाजुभाइ नै मानव तस्करीका योजनाकार हुन् ।
उनीहरूले नै जापानमा हुने ‘इन्टरनेसनल कन्फरेन्स अन ओपन ऐसस टु कल्चर २०२४’ बाट निमन्त्रण मगाएका थिए । रजिस्ट्रेसन शुल्क तिरेपछि त्यहाँबाट निमन्त्रणा प्राप्त हुने भएकाले त्यही कार्यक्रमको आवरणमा मानव तस्करीको योजना बनाइएको थियो । त्यसका लागि सामान्य व्यक्तिलाई भिसा नलाग्न सक्ने भएकाले मन्त्री र उनका टिमका तीनजना बनाएर भिसा लगाइएको थियो ।
उनीहरूको धादिङका महेश पाण्डेसँग चिनजान थियो । हाल थुनामा रहेका पाण्डेले नै पैसा तिरेर जापान जाने व्यक्ति खोजेका थिए । तर, सहजै भिसा नलाग्ने भएकाले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीलाई प्रयोग गरिएको थियो । पाण्डेका साथी योगराज गौतमको उनीसँग चिनजान थियो । उनले नै मन्त्रीलाई जापान जाने प्रस्ताव गरेकोमा उनी तयार भएका थिए । अन्य दुईजनाको परिचयपत्रसमेत उनकै मन्त्रालयको बनाइएको थियो । सोही आधारमा भिसा पाएर मन्त्री र अन्य चारजना सँगै जापान गएका थिए । तर, जापान अध्यागमनले विमानस्थलबाटै फर्काइदिएपछि घटना बाहिर आएको हो ।
प्रहरीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ का महेश पाण्डे, नुवाकोटको विदुर– ७ का जुगल रिजाल र दोलखाको जिरी– ९ का वीरबहादुर सुनुवारविरुद्ध मानव बेचबिखन मुद्दा चलाउन लागिएको छ । यसैगरी खोटाङ ऐंसेलुखर्क– २ दावा शेर्पा, खोटाङकै केपिलासगढी–४ का जनक राई रसुवा कालिका– ५ कञ्चन देवकोटा, गुडी राई र नवीन राईविरुद्ध भने लिखत किर्ते कसुरअन्तर्गत मुद्दा चलाउन लागिएको छ ।