महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाविरुद्ध हुने हिंसाको सन्दर्भमा आफू तथा मन्त्रालयले शून्य सहनशीलता अपनाएको बताएका छन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातका लागि राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘महिलाको क्षेत्रमा मैले धेरै काम गरेको छु। मभन्दा बढी यदि कसैले गरेको छ भने भन्नुस्, म राजीनामा दिन्छु। महिलाविरुद्ध हुने हिंसाको विषयमा म र मन्त्रालय शून्य सहनशील छाैँ,’ उनले भने। यसअघि पनि आफू प्रदेशमन्त्री हुँदा महिलाका क्षेत्रमा काम गरेको भन्दै हिंसा बढ्दै जानुमा कुन मानसिकताले काम गरेको हो, यो अध्ययनको विषय भएको बताए।
‘पितृसत्तात्मक देश भएकोले महिलालाई पछि पारिएको हो। तर, यो समय, यो २१औँ शताब्दी भनेको महिलाहरूकै हो। अधिकारबाट महिलालाई कसैले वञ्चित गर्न सक्दैन,’ उनले भने। महिला आयोगकी अध्यक्ष कमला पराजुलीले हिंसा न्यूनीकरण केवल एउटा संस्था वा संगठनको नभई सबै सभ्य नागरिकको हुने बताइन्।
लैंगिक हिंसाविरुद्धको यो अभियान यस वर्ष नेपालमा ‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ नाराका साथ मनाइँदै छ।