बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चारजनालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई महिलासहित चारजनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार परिषद्को सदस्यमा ललितपुरका रवि महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नविना खनियाँ र रामेछापकी कल्पना खड्कालाई नियुक्त गरिएको प्रदेश सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
एक सदस्यको कार्यावधि बाँकी रहेकाले हाललाई चारजनाको नियुक्त गरिएको उनले बताए । मन्त्री लामिछानेका अनुसार कानुनी अड्चनको समाधानका लागि सदस्यहरूको नियुक्तिका लागि सामाजिक विकास मन्त्रालयको सिफारिस तथा युवा तथा खेलकुद मन्त्रालयको सहमति लिएर निर्णय गरिएको हो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश सुशासन केन्द्रको वार्षिक प्रतिवेदनलाई प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको मन्त्री लामिछानेले जानकारी दिए।
बागमतीका दुई सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले संस्कृति तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा सचिवको जिम्मेवारी तोकेको हो ।
बैठकले सामाजिक विकास मन्त्रालयमा कार्यरत बद्रीनाथ गैरेलाई युवा तथा खेलकुद मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको थप जिम्मेवारी तोकेको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले जानकारी दिए ।
प्रदेशमा सचिवस्तरको कर्मचारी अभाव हुँदा दैनिक कार्य प्रभावित भएपछि अन्य मन्त्रालयमा कार्यरत सचिवहरूलाई थप जिम्मेवारी तोकेको उनको भनाइ छ । यस्तै, बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
गत मन्त्रिपरिषद् बैठकले उक्त नियमावलीहरूलाई आवश्यक छलफलका लागि मन्त्रीस्तरीय समितिमा पठाउने निर्णय गरेको थियो । उक्त समितिमा छलफलपश्चात् प्राप्त नियमावलीलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।