१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार २१:५४:००
Read Time : > 3 मिनेट
Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार २१:५४:००

नेकपा र कांग्रेस केन्द्रीय कार्यालयका मुख्य नेताका कार्यकक्षमा ताला, निवासबाटै भेटघाट र गुटका गतिविधि

लोकतन्त्र, विधि–पद्धति र संस्थागत निर्णयको सन्देश दिने मुख्य दायित्व देशका प्रमुख दुई राजनीतिक दल सत्तारुढ नेकपा र विपक्षी कांग्रेसको काँधमा छ । तर, आन्तरिक झगडामा फसेका दुवै दल विधि–पद्धति र संस्थागत निर्णयमा होइन, सीमित नेताको सोच र गतिविधिमै चलेका छन् । नेता–कार्यकर्ताको बाक्लो आउजाउ हुनुपर्ने ती पार्टीका केन्द्रीय कार्यालय सुनसान छन् । शीर्ष नेताहरूले आफ्नो निवासलाई नै बैठक, भेटघाट र उठबसको ‘शक्तिकेन्द्र’ बनाएका छन् । अर्कोतिर पार्टी कार्यालयमा नेताहरूको कार्यकक्षमा ताला लगाइएको छ । ताला कार्यकक्षमा मात्र होइन, पार्टीको विधि–पद्धतिमा पनि लागेको छ ।

कोरोना मिटर : १५ सय ७५ निको हुँदा १२ सय ७२ संक्रमित थपिए 

नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको छ । 

आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार चार सय ४७ रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५ सय ७५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै निको हुने संक्रमितको संख्या दुई लाख २१ हजार आठ सय ४७ पुगेको छ।

नेपालमा पछिल्लो २४ घन्टामा थप १६ जनामा कोरोना संक्रमणबाट निधन भएको छ ।  

सिं‌गे बुमीले लिए ७१ वर्षमा नागरिकता 

मुगुको सोरु गाउँपालिका– ३ भिई गाउँका सिंगे बुमीले ७१ वर्षकाे उमेरमा पहिलोपटक नागरिकता लिएका छन् । उनलाई बुधबार जिल्ला प्रशासन कार्यालय मुगुले नेपाली नागरिकताको प्रमाणपत्र दिएको हो । 

००६ साल भदौमा जन्मिएका बुमी गत भदौ महिनामा ७१ वर्ष पूरा भएका छन् । कलिलो उमेरमै ज्याला-मजदुरी गर्न भारत पसेका उनलाई नेपाली भाषा बोल्न आउँदैन । भारतको गडुवालमा करिब ४० वर्ष बिताएका उनलाई आफ्नो पारिवारिक अवस्थाबारे पनि खासै याद नभएकाे बताउँछन् । 

गुप्तचर प्रमुखलाई राति निवासमा भेटेकाे सुहाएन– भीम रावल, ‘रअ’ प्रमुखकाे हिसाबले उनी आएका हाेइनन्- परराष्ट्रमन्त्री

नेकपा नेता भीम रावलले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई राति प्रधानमन्त्रीनिवासमा प्रधानमन्त्रीले भेट्ने कुरा ठीक नभएको बताएका छन् । रावलले भने, ‘भारतीय गुप्तर प्रमुख नेपाल आए । यसबारेमा सरकारले कुनै जानकारी गराएको पनि थिएन । राति प्रधानमन्त्रीनिवासमा भेट्ने कुरा मिलेन । यसले प्रधानमन्त्रीको मर्यादा र देशको मर्यादा पनि बढाउँदैन । हाम्रो स्वतन्त्र परराष्ट्र नीतिविरुद्ध हो । यो कुरा मेल खाँदैन ।’

नेता रावलकाे भनाइकाे जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘रअ’का प्रमुख सामन्तकुमार गोयलकाे नेपाल भ्रमण ‘रअ’का प्रमुखका रूपमा नभएकाे बताए । उनले भने, ‘गाेयलको भ्रमणको बारेमा उहाँ ‘रअ’को प्रमुखको रूपमा नेपाल भ्रमणमा आउनुभएको हाेइन । भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आउनुभएको हो । उहाँकाे भ्रमणकाे रिजल्ट अहिले आइसकेको पनि छ ।’

काठमाडौंको स्थानीय पाठ्यपुस्तक तयार

काठमाडौं महानगरपालिकाले आफूमातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ । महानगरपालिकाले कक्षा एकदेखि कक्षा आठसम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तकको अध्यापन थालेको हो ।

काठमाडौं महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती खनालले काठमाडौं महानगरपालिकाभित्र ९२ वटा सामुदायिक विद्यालयमध्ये ८६ वटा साधारण विद्यालय, तीनवटा विशेष र तीनवटा विद्यालय बन्दीहरूका लागि रहेको र संस्थागत विद्यालयको संख्या करिब ६ सय ४० रहेको भन्दै यी सबै विद्यालयमा १०० पूर्णांकको स्थानीय विषयको पठनपाठन हुने जानकारी दिए । 

बैठकमा नगए ओलीलाई नै नोक्सान हुन्छ, भाग्न पाउनुहुन्न : अष्टलक्ष्मी शाक्य

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सचिवालय बैठकमा नगए प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई नै नोक्सान हुने बताएकी छिन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीको भेलामा शाक्यले निकास बैठकबाटै निकाल्नुपर्नेमा जोड दिइन् । 

किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चितता सरकारले गर्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चितता सरकारले गर्ने बताएकी छिन् ।  

उनले सरकाले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको बिक्री तिनै बिक्री केन्द्रबाट सुनिश्चित गरिने बताइन् । 

उनले यस्तै किसानले उत्पादन गरेका वस्तु बिक्री गर्न सहकारीहरूले आफैँ बजारको स्थापना गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुनेछ । अहिले बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले बिचौलियालाई हटाउँदै, किसान, बजार र उपभोक्ताको दूरी कम गर्ने अभियान सुरु भइसकेको छ ।’ 

बाइडेनको पहिलो काम : ‘सय दिन मास्क लगाऔँ अभियान’ सञ्चालनकाे तयारी

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । 

उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै ‘सय दिन मास्क लगाऔँ’ अभियान चलाउने बिहीबार जानकारी दिएका हुन् । 

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना महामारी फैलिन नदिनका लागि मास्क लगाउनुपर्ने मान्यताको विपक्षमा उभिँदै आएका छन् । 

जनवरीदेखि कोरोनाविरुद्धको खोप दिने क्यानडाको तयारी

क्यानडा सरकारले आगामी जनवरीदेखि कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ ।  क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले जनवरीदेखि खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिए ।‘यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,’उनले भने ।

क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । १२ हजारभन्दा बढीले कारोनाका कारण ज्यान गुमाएका छन् । 

इटालीमा फेरि मानवीय गतिविधिमा प्रतिबन्ध 

इटालीमा चाडपर्वका बेला कोरोना संक्रमण फैलिनसक्ने भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिने भएकाे छ । महत्वपूर्ण चाडपर्वहरू आएकाले चाडपर्व मनाउने क्रममा कोरोना महामारी थप फैलिन सक्ने आकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएको हो ।  

नयाँ व्यवस्थाअनुसार मानवीय गतिविधि तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा सीमित गरिनेछ । ‘क्रिसमस बिदा आउँदै छ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दै छौँ, हामीले राम्रो ख्याल गरेनौँ, लापरबाही गऱ्याैँ भने महामारी झन् फैलिन सक्छ,’ प्रधानमन्त्री कोन्टेले भने । 

नयाँ प्रतिबन्धात्मक व्यवस्था यही डिसेम्बर २१ देखि जनवरी ६ तारिखसम्म लागू हुने पनि उनले जानकारी दिए ।