मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १६ मंगलबार
  • Tuesday, 15 July, 2025
रासस
२o७७ मङ्सिर १६ मंगलबार १३:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

Read Time : < 1 मिनेट
रासस
नयाँ पत्रिका
२o७७ मङ्सिर १६ मंगलबार १३:५७:oo

नेपालका ए डिभिजन फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता खेल्न नपाउने भएका हुन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली क्लबलाई लाइसेन्स दिनका लागि एएफसीलाई अनुरोध गरेको थियो । एएफसीले मापदण्ड नपुगेको भन्दै नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स दिन अस्वीकार गरेको एन्फाले जनाएको छ । एएफसीका प्रतियोगिता खेल्न एएफसी क्लब लाइसेन्स अनिवार्य मानिन्छ ।  
सन् २०२१ का लागि नेपालका १३ ए डिभिजन क्लबले निवेदन दिएका थिए । एएफसीले नेपाली क्लबमध्ये त्रिभुवन आर्मी क्लबको निवेदनबारे सकारात्मक प्रतिक्रिया दिएको एन्फाले जनाएको छ । लाइसेन्सका लागि एन्फाले पुनः एएफसीसँग अनुरोध गर्ने भएको छ । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । गत सिजन बी डिभिजन लिगमा घटुवा भएको सरस्वती युथ क्लबले भने क्लब लाइसेन्स आवेदन प्रक्रियामा थिएन । 

क्लब लाइसेन्सका लागि क्लबको आफ्नै खेल मैदान, युवा टोली, एकेडेमी, खेलाडी बसोवासको व्यवस्था, प्रशिक्षण गर्ने स्थान, खेलाडी, प्रशिक्षक र पदाधिकारी हुनुपर्नेलगायत मापदण्डको व्यवस्था गरिएको छ । लाइसेन्सका लागि मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, जाउलाखेल युथ क्लब, संकटा क्लब, न्युरोड टिम एनआरटी क्लब, च्यासल युथ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब, एपिएफ क्लब र ब्रिगेड ब्वाइज क्लबले निवेदन दिएका थिए ।