१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ मङ्सिर १६ मंगलबार ११:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अग्निशालामा अब तामाको छाना

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १६ मंगलबार ११:३७:००

ललितपुर महानगरपालिकाले महानगरको वडा नं. १९ मा रहेको प्राचीन सम्पदा अग्निशाला भवनमा तामाको छाना राख्ने भएको छ ।

गौरवशाली योजनाअन्तर्गत महानगरले तामाको छाना राख्न ४० लाख दिएको हो । अहिले उक्त भवनमा जस्ताको छाना छ ।

धार्मिक मान्यताअनुसार पूजाअर्चना गरिने स्थानको जीर्णोद्धार वा पुनर्निर्माण गर्नुअघि क्षमापूजा गर्ने परम्परा छ । जसअनुसार महानगर प्रमुख चिरिबाबु महर्जनले सोमबार क्षमापूजा गरे ।

महानगर प्रमुख महर्जनले सम्पदा संरक्षणलाई महानगरले प्राथमिकता राखेको बताए । उनले भने, ‘महानगरको यो प्रचीन सम्पदा संरक्षणका लागि बजेट छुट्याएको हो, काम एकदम राम्रोसँग गर्न आग्रह गर्छु ।’ क्षमापूजालगत्तै काम थालिने महानगरले जनाएको छ ।

अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माका अनुसार अग्निशालामा पाँचवटा छुट्टाछुट्टै धुनी छन् । यी धुनीमा निरन्तर आगो बलिरहन्छ ।

धार्मिक मान्यताअनुसार काठ रगडेर निकालिएको काष्ठाग्नि, ढुंगा रगडेर निकालिएको पासाग्नि, सूर्यको रापबाट निकालिएको सूर्याग्नि, पानीबाट निकालिएको जलाग्नि, अग्निहोत्री बज्यैको नाइटोबाट निकालिएको जठराग्नि यी पाँच फरक–फरक नामका अग्नि पाँच धुनीमा बालिन्छ ।

यस शालामा पूजापाठ गर्दा लागेका ग्रह दशा हटेर जान्छ भन्ने मान्यता छ ।

यहाँका पुजारीहरूका अनुसार यो शालाबारे उल्लेख भएको शिलालेखहरू हालसम्म कतै भटिएको छैन, तर चार हजार वर्षअघि निर्माण भएको अनुमान उनीहरूले लगाएका छन् ।