
हराउँदै गएको दाइँ परम्परा जोगाउन लमजुङका साहित्यकार जुटेका छन् । लमजुङको बेसीसहर नगरपालिका– ११ चिती बरबोटमा आयोजित दाइँ साहित्य महोत्सवमा कवि तथा कवयित्रीहरूले नेपाली किसानका दुःख, पीडा र कर्मलाई आ–आफ्नो सिर्जनाबाट अभिव्यक्त गरेका छन् ।
हिमालचुली कला साहित्य प्रतिष्ठान र चिती साहित्य समाजको आयोजनामा शुक्रबार दाइँ साहित्य महोत्सवको नवौँ संस्करण सम्पन्न भएको हो । ‘साहित्य र सिर्जना : कोरोना सचेतना’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दाइँ साहित्य कार्यक्रममा सहभागीहरू स्रष्टाहरूले किसानहरूको चासोको विषय र उनीहरूकै दुःख, पीडा र कर्मलाई आफ्नो सिर्जनाको मूल विषय बनाएका थिए ।
कार्यक्रममा स्थानीय वृद्ध, साहित्यकर्मी, आमा समूह तथा सञ्चारकर्मीहरूले भाका हालेर दाइँगीतसमेत गाएका थिए । दाइँमा किसानका कथाव्यथासँगै कोरोना महामारीले निम्ताएको समस्याबारे पनि चर्चा गरिएको थियो ।
कार्यक्रममा चिती बरबोटका आमा समूहले सालको टपरीमा दँहरेहरूलाई खाना खुवाएका थिए । बिहानको पारिलो घाममा गुन्द्रुकको अचार र सागको तरकारीसँग भात खाएर पुनः दाइँको थलोमा पुगेका दँहरेहरूले आ–आफ्नो साहित्य रचना वाचन गर्दै पराल छिरोलेको दृश्य निकै रमाइलो थियो ।
मेलापात, खेती किसानी, दाइँ, रोपाइँजस्ता कृषि कर्मबाट नै साहित्यको सुरु भएको विश्वासका साथ साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको प्रतिष्ठानका अध्यक्ष वेनबहादुर सुयलले बताए ।
पछिल्लो समय गोरुको सहायताले दाइँ लगाउने चलन हराउँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको सहायताले दाइँ लगाउने चलन हराएको हो । धान झार्न गोरु परालमा हिँडाएर दाइँ लगाउने चलन रहेकामा मेसिनको प्रयोग बढेपछि सो चलन हराउँदै गएको बेसीसहर नगरपालिका ११ का लेखनाथ शर्माले बताए ।
कम खर्च र छिटोछरितो रूपमा काम गर्न सकिने भएपछि किसान थ्रेसरको प्रयोगप्रति आकर्षित भएका हुन् । बेसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले गाउँमा मान्छे नहुँदा थ्रेसर मेसिनले दाइँ हालेर कतिपय किसानले खेती थन्क्याउने गरेको बताए ।