१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर ८ सोमबार २०:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीका मुख्यमन्त्री गुरुङप्रति कांग्रेस सांसदको टिप्पणी– जनताको होइन, प्रधानमन्त्रीको कुर्सी जोगाउने चिन्ता छ

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ८ सोमबार २०:५८:००

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि कोरोना संक्रमणबाट जनता जोगाउनेभन्दा प्रधानमन्त्री केपी ओलीको कुर्सी जोगाउने चिन्ता धेरै रहेको आरोप लागेको छ । सोमबार कास्की क्षेत्र नम्बर २ (ख)को पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छनोट भएका योजना सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा गण्डकी प्रदेश सभाको लेखा समितिका सभापति एवं कांग्रेस नेता कुमार खड्काले यस्तो आरोप लगाएका हुन् ।

उनले कोरोना संक्रमणबाट जनता जोगाउन आवश्यक परे प्रदेश सभाको विशेष अधिवेशन बोलाएरै भए पनि सरकार र मुख्यमन्त्रीलाई जनताप्रति जिम्मेवार बन्न लगाउने बताए । ‘कोरोनामा जनता बचाउनेभन्दा पनि बालुवाटारमा सरकार बचाउने काममा मुख्यमन्त्री लागिरहनुभएको छ । सायद यतिवेला उहाँ बालुवाटरमै सुतिरहनुभएको हुन सक्छ । उहाँको काठमाडौंमा समस्या समाधान भएर पोखरा आएपछि वार्ता गरेर सबै कुराको सम्बोधन गर्नुभयो भने संसद्को विशेष अधिवेशन बोलाउन परेन । नत्र विशेष अधिवेशन बोलाएर भए पनि साझा शत्रु (कोरोना) सँग लड्न हामी तयार छौँ,’ उनले भने । 

विशेष अधिवेशन बोलाउन २५ प्रतिशत सांसद चाहिने र त्यो सुविधा गण्डकी प्रदेशमा मात्र कांग्रेसलाई रहेको उनले बताए । ‘विशेष अधिवेशन बोलाउन २५ प्रतिशत सांसद चाहिन्छ । अरू ६ वटा प्रदेशमा त्यो सुविधा जनताले कांग्रेसलाई दिएका छैनन् । गण्डकी प्रदेशमा मात्र यो सुविधा छ ।  हामी यसको उपयोग गर्ने विषयमा छलफल गरिरहेका छौँ । विशेष अधिवेशन माग गरेर भए पनि सरकारलाई जिम्मेवार बनाउँछौँ,’ उनले भने । 

संसदमा संकल्प प्रस्ताव नै पेस गरेर एक घर एक पिसिआर परीक्षणको माग गरे पनि त्यतिवेला आफूहरूलाई खिसी गरिएको उनले टिप्पणी गरे । अहिले कांग्रेसले भनेको कुरा नमान्दा कोरोना संक्रमणको यो अवस्था आएको उनको दाबी छ । 

योजना सार्वजनिक कार्यक्रममा सँगै रहेकी नेकपाकी प्रदेश सांसद मीना गुरुङले भने प्रदेश सरकार र मुख्यमन्त्री गुरुङको बचाउ गरेकी थिइन् । सरकारले सक्दो प्रयास गरेको र संक्रमणविरुद्ध लड्न आरोप–प्रत्यारोपमा नलागी एकजुट हुनुपर्ने उनले बताइन् । 

कार्यक्रममा कांग्रेसका सांसद बिन्दुकुमार थापा र नेकपाकी सांसद प्रभा कोइरालाले समेत योजनाबारे जानकारी दिएका थिए ।