पाँच बंगलादेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँचजना विदेशी नागरिकलाई सोमबार साँझ सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ।

एपिएफ इन्टेलिजेन्स ब्युरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको छ।

नियन्त्रणमा पर्नेहरूमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अली, जाहिगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेको प्रहरी सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । ​​​​​​

रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्ने क्रममा नौजना बंगलादेशी नागरिकका १४ थान राहदानी र ठुलो संख्यामा आर्थिक लेनदेन भएको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत फेला परेको थापाले बताए ।

त्यसैगरी, नियन्त्रणमा परेका जाहिगिर आलममाथि एकजना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको खुलेको छ। उनी ०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ।

नियन्त्रणमा लिइएका पाँचैजनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको छ।
 

सुझावित समाचार