बिपी प्रतिष्ठान धरानमा कोरोना उपचारमा देखिएको बेथिति सुधारका लागि दबाब समूह गठन गरिएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सञ्चालन गरेको कोभिड- १९ अस्पतालमा चरम लापरबाही भएर बिरामीको मृत्यु हुने गरेको आलोचना बढेपछि नागरिक दबाब समूह गठन भएको हो ।
आज बिहीबार सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा एक सय एक सदस्यीय बिपी प्रतिष्ठान सुधार दबाब समूह गठन गरेको हो ।
कोरोना महामारी चुलिएसँगै अस्पतालको व्यवस्थापन तथा सञ्चालन अस्तव्यस्त भएका कारण बिरामी समस्यामा परेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । केही कोरोना संक्रमितहरूले भेन्टिलेटर तथा अक्सिजन नपाएर अकालमा ज्यान गुमाएका थिए ।
उचित व्यवस्थापनको अभावमा नागरिकको अकालमा ज्यान जान थालेपछि राजनीतिज्ञ तथा नागरिक समाजको एक भेलाले दबाब समूह गठन गरेको नेकपा धरान नगर इन्चार्ज फोक्साहाङ लिम्बू (चोत्लुङ)ले जानकारी दिए ।
समूहमा धरानमा रहेका सामाजिक संघसंस्था, नागरिक समाज, हरेक वडाका अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, राजनीतिक दल, पत्रकारहरू सहभागी छन् । प्रतिष्ठान सुधारका लागि समूहले दबाब सिर्जना गर्ने र त्यसको लागि भद्र अवज्ञालगायतका विभिन्न गतिविधिहरू गर्ने बताइएको छ
सेवा प्रवाहबारे आलोचना बढेपछि प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले समेत आज अस्पतालको आकस्मिक अनुगमनको निर्देशन दिएका थिए ।
त्यसपछि अस्पतालका निर्देशक प्रा.डा. गौरीशंकर साहको नेतृत्वको टोलीले बिहीबार नै कोभिड अस्पतालको आकस्मिक अनुगमन गरेको थियो । निरीक्षणको क्रममा प्रतिष्ठानका आठवटा भेन्टिलेटरले काम गरिरहेको भेटिएको निर्देशक साहले बताए ।
प्रतिष्ठानले भने १० थान भेन्टिलेटर जडान गरेको थियो । यीमध्ये ६ वटा बिग्रिएको कारण बिरामी अन्यत्र रेफर गरिँदा कतिपयका ज्यान गएको आरोप लागेको थियो ।
प्रतिष्ठानमा आएका कोरोना सङ्क्रमितहरूको उचित हेरचाह, आवश्यक अक्सिजन, भेन्टिलेटर तथा अन्य उपचारको अभावमा ज्यान जाने गरेको जनगुनासो बढेको छ ।
यसअघि यही कात्तिक ९ मा सुनसरी क्षेत्र नं. १ का सांसदहरूले समेत अस्पतालका पदाधिकारीहरूलाई भेटेर प्रतिष्ठानको कोभिड अस्पताल सुधार गर्न माग गरेका थिए ।
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रतिनिधिसभा सदस्य जयकुमार राई नेकपा सत्तारुढ दलका स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश सांसद भीम आचार्या, उमित बराइली, सावित्री श्रेष्ठलगायतको टोलीले १५ दिनभित्र सुधार गर्न निर्देशन दिएको थियो ।
यता सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले पनि जिल्ला प्रमुखको हैसियतमा लिखित रूपमा जनताको गुनासोको सुनुवाइ गर्न अनुरोध गरेका थिए ।