१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार १२:५७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गगन थापाको आरोप– प्रधानमन्त्री ओलीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ७ शुक्रबार १२:५७:००

कांग्रेस नेता एवं सांसद गगन थापाले भारतीय गुप्तचरसँग भेटघाट गर्नुले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन् ।

कूटनीतिक मर्यादा उल्लंघन गर्दै सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भेट्नुलाई सामान्य त्रुटिका रूपमा मात्र प्रस्तुत गर्न खोजिए पनि गम्भीर गल्ती भएको औंल्याउँदै थापाले यसको अनुसन्धान हुनुपर्ने माग गरेका छन् । थापाले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटमा आपत्ति जनाएका छन् ।

प्रधानमन्त्रीकोे सचिवालयले प्रेस नोट निकालेर रअ प्रमुखसँग शिष्टाचार भेट भन्नु अकूटनीतिक र हास्यास्पद भएको थापाले बताएका छन् । लडाइँका वेलामा बाहेक विदेशी गुप्तचरसँग प्रधानमन्त्रीको भेटलाई जायज र सामान्य मान्न नसकिने उनको जिकिर छ ।

‘परराष्ट्र मन्त्रालय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय हो,’ उनले भनेका छन्, ‘प्रधानमन्त्रीको यस्तो गैरराजनीतिक र विशुद्ध गुप्तचरसँग भएको ‘शिष्टाचर भेट’माथि अनुसन्धान हुनुपर्छ । यस प्रकरणले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षा थ्रेट देखाएको छ।’

यस प्रकरण पनि केही बुद्धिजीवी दुई देशबीचको सम्बन्धमा सुधारका लागि यो भेटघाट आवश्यक थियो  भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको बचाउमा लाग्नु उदेकलाग्दो भएको उनले बताएका छन् ।

नेपाल–भारत सम्बन्ध अहिले कूटनीतिक हिसाबले जटिल  अस्थामा रहेको उल्लेख गर्दै उनले यो वेला नेपाल सरकारले कूटनीतिक कौशल देखाएर भारतीय राजनीतिक नेतृत्वलाई छलफलमा ल्याउनुपर्नेमा दुई देशबीच छलफल र वार्ता हुनुपर्छ भन्नेमा अलमल रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘भारतीय गुप्तचरसँगको कुनै पनि प्रकारको छलफलले नेपाल–भारत सम्बन्धको यथास्थितिको समस्या समाधान गर्ने सामर्थ्य राख्दैन । हाम्रो कूटनीतिमा हेक्का राख्नुपर्ने छलफल गर्नुपर्छ भन्ने मात्र होइन, कोसँग कसरी छलफल गर्ने भन्ने पनि हो।’

उनले नेपाल–भारत सम्बन्धको पछिल्लो समस्या र जटिलतातको समाधान उच्चस्तरको राजनीतिक तहबाट मात्र सम्भव हुने स्पष्ट पारेका छन् । भारतको राजनीतिक तहलाई वार्ता र छलफलमा ल्याउने जिम्मेवारी प्रधानमन्त्री र सरकारको भएको उल्लेख गर्दै सबै राजनीतिक तथा कूटनीतिक मर्यादालाई नाघेर अँध्यारो कोठामा गुप्तचरसँगको भेटघाटबाट नेपाल–भारत सम्बन्धमा निकास निस्कन्छ भन्ने तर्क गर्नु मूर्खता भएको बताएका छन् । 

‘राजनीतिक तहमा दुईपक्षीय सम्बन्धलाई सामान्य बनाउन छलफल गरेको भए निःसन्देह हामीले स्वागत र समर्थन गर्ने थियौँ,’ उनले भनेका छन्, ‘तर कहिले बेप्रसंग, केवल आन्तरिक खपतका लागि, राम जन्मभूमिको कुरा निकालेर दुईपक्षीय सम्बन्धलाई झन् जटिल बनाउनतिर लाग्ने, अनि कहिले लत्रक्क परेर गुप्तचरसँग भेट्ने प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण उत्ताउलो व्यवहारमा हाम्रो प्रश्न हो । प्रधानमन्त्रीको यस्तो अप्रत्यासित व्यवहार आन्तरिक राजनीतिमा हामीले भोगेकै हौँ । तर, अन्तर्राष्ट्रिय सम्बन्धमा समेत यस्तो व्यवहार हुँदा हामी गम्भीर हुनैपर्छ।’

यो प्रकरणले प्रधानमन्त्री ओली नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सही दिशानिर्देश तथा राष्ट्रिय हितमा प्रयोग गर्न पूर्णरूपेण असक्षम भएको प्रस्ट पारेको उनको भनाइ छ ।  

उनले भनेका छन्, ‘मुख्यसचिव नै परराष्ट्र सेवाको, सचिवालयमा अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ हुँदाहुँदै प्रधानमन्त्री निर्लज्ज भएर विदेशी गुप्तचरसँग भेट सम्भव भएबाट राज्यको कूटनीतिक कौशल मात्र नभई प्रधानमन्त्री वरपरका विज्ञहरूको हैसियत पनि सबैसामु प्रस्ट पारेको छ । र, भेटपश्चातको बचाउको प्रायसले सम्पूर्ण राजनीतक व्यवस्थाकै उपहास गरेको छ । यस प्रकरणबाट देशभित्रको समस्याबाट हात उठाएको ओली सरकार कूटनीतिमा पनि पूर्णत असक्षम रहेको पुष्टि भएको छ।’
 

प्रधानमन्त्रीको भारतिय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको छ।सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसंग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ।यसको अनुसन्धान हुनुपर्छ। pic.twitter.com/zW1J00xLmU

— Gagan Thapa (@thapagk) October 23, 2020