१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २ आइतबार
  • Saturday, 29 June, 2024
अजित अधिकारी काठमाडौं
२o७७ कार्तिक २ आइतबार १८:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

सरकारले भोलिबाट प्रतिकिलो पाँच सय ५० रुपैयाँमा खसीबोका बिक्री गर्ने, व्यापारीको भन्दा किलोमै ५० रुपैयाँ सस्तो

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक २ आइतबार १८:४o:oo

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारबाट काठमाडौं उपत्यकामा खसी, बोका बिक्री सुरु गर्ने भएको छ । संस्थानले बजार मूल्यभन्दा प्रतिकिलो कम्तीमा ५० रुपैयाँ सस्तोमा बिक्री मूल्य निर्धारणसमेत गरेको छ । संस्थानको थापाथलीस्थित कार्यालयबाट खसी, बोका बिक्री हुनेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नेत्रप्रसाद सुवेदीका अनुसार सोमबारबाट बिक्री हुने खसी, बाेकाको मूल्य प्रतिकिलो पाँच सय ५० रुपैयाँ तोकिएको छ । ‘संस्थानले प्रतिकिलो पाँच सय ६० रुपैयाँ मूल्य निर्धारण गरेको हो । तर, यसअघि नै हामीले जिउँदो खसी, बोकाको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरिसकेकाले उपभोक्तालाई प्रतिकिलो पाँच सय ५० रुपैयाँमा दिनेछौँ,’ उनले भने । गत वर्ष पनि कम्पनीले पाँच सय ५० रुपैयाँमा नै खसी, बोका बिक्री गरेको थियो । 

संस्थानले निर्धारण गरेको मूल्य कलंकीस्थित खसीबजारको तुलनामा प्रतिकिलो कम्तीमा ५० रुपैयाँ सस्तो हो । कलंकीस्थित खसीबजारमा खसी, बोकाको कारोबार गर्दै आएका चौपाया खरिद–बिक्री सेवा संघका निवर्तमान अध्यक्ष दीपक थापाका अनुसार शनिबार जिउँदो खसी, बोका प्रतिकिलो पाँच सय ८० देखि ६ सय ४० रुपैयाँमा बिक्री भएको थियो । आइतबार भने न्यूनतम मूल्य ६ सय रुपैयाँ प्रतिकिलोमा कारोबार भएको संघले जनाएको छ ।

संस्थानका सिइओ सुवेदीले बजारमूल्य अध्ययन गर्दा जिउँदो खसी, बोका प्रतिकिलो ६ सयभन्दा कम नरहेको पाएपछि उपभोक्तालाई ठूलो छुट दिने गरी मूल्य निर्धारण गरेको बताए । ‘यसपटक उपभोक्ताको क्रयशक्ति घटेको छ । यस्तो वेला संस्थानले घाटा खाएर भए पनि उपभोक्तालाई राहत दिनुपर्छ भन्ने हिसाबले न्यूनतम मूल्य निर्धारण गरिएको हो,’ उनले भने ।
व्यवसायीले सानो खसीको थोरै मूल्य र ठूलो खसीको बढी मूल्य दर निर्धारण गर्दै आएका छन् । तर, संस्थानले सबै प्रकारका खसी, बोकाको बिक्रीदर एउटै बनाएर उपभोक्तालाई खरिदका लागि सहज गरिदिएको छ । संस्थानले आइतबार साँझसम्म उपत्यकामा चार सय ५ वटा खसी, बोका भित्र्याइसकेको छ । सोमबारसम्म गरेर कुल एक हजार खसी, बोका ल्याउने निर्णय भएको छ ।

‘यसपटक हामीले एक हजारवटा खसी, बोका ल्याएर बिक्री गर्ने योजना बनाएका थियौँ, तर माग बढ्न सक्ला कि भनेर थप ६ सय जति ल्याउने गरी गृहकार्य गरेका छौँ,’ उनले भने, ‘सोमबारको बिक्री संख्या उत्साहजनक भयो भने हामी तुरुन्तै अर्डर गरेर थप खसी, बोका भित्र्याउनेछौँ ।’

संस्थानले बिक्री गर्ने खसी, बोका सस्तो हुने भएकाले काठमाडौं उपत्यकाका मासु पसलेहरूले धेरै खरिद गर्ने गरेका छन् । यसपटक प्रहरी परिचालन गरेर मासु व्यवसायीभन्दा पनि अन्तिम उपभोक्तालाई नै खरिद गर्ने वातावरण सिर्जना गर्न लागेको संस्थानको भनाइ छ । ‘एकजनालाई एउटा मात्र खसी वा बोका लैजान दिने प्रावधान बनाएका छौँ । यसले पनि धेरैभन्दा धेरै उपभोक्ताले लैजान पाउने हाम्रो अपेक्षा छ,’ सुवेदीले भने ।

ad
ad
ad
ad