डाक्टरको सल्लाह
डा.उत्सव श्रेष्ठ
एमबिबिएस–एमएस
(अर्थोपेडिक्स)
मेरुदण्ड रोग विशेषज्ञ
अक्टोबर १६ मा हरेक वर्ष विश्वभर स्पाइन रोगसम्बन्धी जनचेतनाका लागि ‘वर्ल्ड स्पाइन डे’ मनाइन्छ । स्पाइन भन्नाले ढाड तथा गर्धन भन्ने बुझिन्छ । जीवनभरमा स्पाइन (ढाड र गर्धन)सम्बन्धी रोग एकपटक पनि नहुने मानिस बिरलै हुन्छन् ।
आधुनिक जीवनशैली, शारीरिक कामको कमी, कार्यालयको काममा आएको वृद्धि र विशेषगरी कोरोनाका कारण भएको बन्दाबन्दीले हुने गरेको अत्यधिक मोबाइल प्रयोगले स्पाइनसम्बन्धी दुखाइको समस्या बढिरहेको पाइन्छ । स्पाइन शरीरको महत्वपूर्ण र संवेदनशील अंग भएकाले यसलाई स्वस्थ राख्नै पर्छ ।
स्पाइन एउटा यस्तो जटिल अंग हो, जसले हाम्रो उपल्लो शरीरको भार बहन गर्दछ । साथै यसमा अगाडि पछाडि झुक्न सक्ने र दायाँबायाँ घुम्न सक्ने अद्भुत क्षमता हुने गर्दछ ।
विभिन्न कामले गर्दा स्पाइनमा अत्यधिक दबाब पर्न जान्छ । स्पाइनको दुखाइ खराब आसन, कमजोर मांशपेसी, कीटाणुको संंक्रमण, चोटपटक इत्यादिले गर्दा हुने गर्दछ ।
यस्तो ढाड दुखाइमा छोटो समयको आराम, बरफको सेकाइ, दुखाइ कम गर्ने क्याप्सुल अत्यन्त लाभदायी हुन्छन् । कतिपय अवस्थामा एक्सरे/एमआरआई स्क्यान÷ब्लड टेस्ट पनि आवश्यक पर्न सक्छ ।
उभिनु र सुत्नु ढाड दुखाइका लागि धेरै उपयुक्त हुन्छ । बस्दा ढाडमा धेरै दबाब पर्ने भएकाले यस्तो अवस्थामा सकेसम्म नबस्नु नै राम्रो हुन्छ । औषधि सेवन र आरामबाट दुखाइमा केही राहत भएपछि फिजियोथेरापीबाट मांशपेसी र नशालाई बलियो पार्न‘ आवश्यक हुन्छ ।
दुखाइको मूल्यांकन
बिरामीको शरीरको जाँच गर्दा मात्र गर्दा पनि कैयौँ संकेत देखिन सक्छन् । त्यसैअनुरूप चिकित्सकले एक्सरे/एमआरआई स्क्यान/ब्लड टेस्ट गराउन पठाउनुपर्ने हुन्छ । त्यसमध्ये एमआरआई स्पाइनसम्बन्धी रोगका लागि उपयुक्त हुन्छ ।
एमआरआई स्क्यानले बिरामीको ढाडमा कीटाणुको संक्रमण, क्यान्सर, नसा च्यापिने समस्या रहे/नरहेको किटानीका साथ देखाउन सक्दछ । ढाडको दुखाइ लामो समयसम्म रहेको खण्डमा यसको विस्तृत मूल्यांकन, लामो समयसम्मका लागि फिजियोथेरापी एवं नियमित रूपमा स्पाइन सर्जनको परामर्शको आवश्यकता पर्दछ । साथै कतिपय अवस्थामा ढाडको शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ ।
स्पाइनसम्बन्धी रोगका लक्षण
- दुई हप्ताभन्दा बढी लगातार दुखिरहनु
- दुखाइ ढाडबाट खुट्टातर्फ सर्न‘
- खुट्टा वा पाइतालामा झमझम गर्न‘ वा घोचेको अनुभव हुनु
- खुट्टामा कमजोरी हुनु र खुट्टाका औँला चलाउन नसक्नु
-पिसाब चुहिएको थाहा नहुनु
यीमध्ये एक वा सोभन्दा बढी लक्षण देखिएमा तुरुन्त स्पाइन सर्जन वा अर्थोपेडिक सर्जनको सल्लाह लिनुपर्दछ ।
स्पाइन स्वस्थ राख्ने उपाय
- बस्दा वा हिँड्दा ढाड र गर्धनलाई सीधा राख्नुहोस् ।
- ढाड तथा पेटको व्यायाम नियमित गर्न‘होस् र पौडी खेल्नु पनि स्पाइनका लागि अत्यन्त लाभदायी व्यायाम मानिन्छ ।
- कुनै पनि सामान भुइँबाट माथि उचाल्दा घुँडा र हिप जोर्नीलाई खुम्च्याउनुहोस् । यसो गर्दा ढाडलाई सकेसम्म खुम्च्याउनु हुँदैन ।
- गह्रौँ सामान उचाल्दा सही तरिकाले उचाल्नुहोस् ।
- यदि लामो समयसम्म बसिराख्नुपर्ने भएमा बीच–बीचमा ब्रेक लिनुहोस् ।
- धुम्रपान त्याग्नुहोस् ।
- तौल घटाउनुहोस् ।