मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडौं
२०७७ असोज २६ सोमबार १८:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महामारीमा पनि बिजनेस भिसामा नेपाल : चिनियाँ लगानीकर्ता बढ्दै, अमेरिकी र युरोपेली घट्दै

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असोज २६ सोमबार १८:००:००

कोरोना महामारीले आर्थिक क्षेत्र अस्तव्यस्त छ । त्यसका बाबजुद नेपालमा लगानी गर्न विदेशी आकर्षण देखिएको छ । साउनयता मात्र बिजनेस भिसामा चार सय ९२ जना विदेशी नागरिक नेपाल आएका छन्, तीमध्ये करिब ६० प्रतिशत नयाँ छन् । र, तीन महिनामा करिब ९० प्रतिशत चिनियाँ लगानीकर्ताले बिजनेस भिसा लिएका छन् ।

उद्योग विभागका निर्देशक उदय गुप्ताका अनुसार साउनयता विदेशी नागरिकका करिब ५० वटा कम्पनी दर्ता प्रक्रियामा छन् । तीमध्ये सबैभन्दा धेरै होटेल छन् । ‘होटेलपछि कार्गो, कन्स्ट्रक्सन, सफ्टवेयर र कृषिसम्बन्धी कम्पनी छन्,’ गुप्ता भन्छन्, ‘केहीले हाइड्रोपावर र मास्क बनाउने उद्योगमा पनि लगानी ल्याएका छन् ।’ अधिकांश कम्पनीको लगानी पाँच करोड हाराहारीकै छ । जलविद्युत् क्षेत्रमा काम गर्न आएकाको लगानी भने धेरै रहेको गुप्ता बताउँछन् ।

अध्यागमन विभागका अनुसार बिजनेस भिसा लिनेमध्ये अग्रपंक्तिमा चिनियाँ र दोस्रो स्थानमा दक्षिण कोरियाली नागरिक छन् । उनीहरूमध्ये कतिपय व्यवसाय गर्ने उद्देश्यले लकडाउनअघि नै पर्यटक भिसामा नेपाल आएका थिए । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार गत साउनदेखि सरकारी कार्यालय खुलेपछि कम्पनी स्थापनाका लागि बिजनेस भिसा लिएका हुन् ।

नयाँ भिसा लिएकामध्ये कतिपयले उद्योग स्थापना प्रक्रिया अगाडि बढाएका छन् । नेपालमा बिजनेस भिसा प्राप्त गर्न कम्तीमा पाँच करोड रुपैयाँ विदेशी लगानी अनिवार्य छ । विगतमा बिजनेस भिसाका लागि मात्र कम्पनी दर्ता गर्ने प्रवृत्ति थियो । तर, न्यूनतम लगानी एक करोडबाट पाँच करोड बनाइएपछि त्यो प्रवृत्ति नियन्त्रणमा आएको अधिकारीहरूको भनाइ छ ।

नेपालमा उद्योग स्थापना गरिसकेपछि एकैपटक पाँच वर्षको भिसा दिन सकिने अध्यागमन नियमावलीमा व्यवस्था छ । तर, सामान्यतया एक वर्षका लागि भिसा दिइन्छ ।

लगानी ल्याउने प्रतिबद्धता जनाएको अवस्थामा पनि ६ महिनासम्मका लागि बिजनेस भिसा दिन सकिने व्यवस्था छ । विदेशी लगानी एवं प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार विदेशी लगानीका लागि अध्ययन, अनुसन्धान वा सर्वेक्षण गर्न आउने विदेशी नागरिकलाई ६ महिनासम्मको गैरपर्यटक भिसा दिन सकिन्छ ।

विदेशी लगानी स्वीकृत भएको पत्रका आधारमा उद्योग विभागको सिफारिसपछि अध्यागमनले बिजनेस भिसा उपलब्ध गराउँछ । हाल उद्योग विभागमै स्थापित एकलबिन्दु सेवा केन्द्रमार्फत भिसामा सहजीकरण हुँदै आएको छ ।

यसअघि बिजनेस भिसा लिएका कतिपय विदेशी धर्म प्रचार र साइबर अपराधमा संलग्न पाइएको थियो । सोहीकारण बिजनेस भिसामा कडाइ गरिएको अध्यागमन विभागले जनाएको छ ।

अमेरिकी र युरोपेली घट्दै, तीन वर्षमा झन्डै दोब्बर चिनियाँ
नेपालमा व्यवसाय गर्ने अमेरिकी, युरोपेली र जापानी नागरिक घट्दै छन् । चिनियाँ नागरिकको संख्या भने तीन वर्षयता झन्डै दोब्बर छ । सन् २०१७ मा एक हजार पाँच सय ७९ चिनियाँले बिजनेस भिसा लिएका थिए । सन् २०१९ मा बढेर दुई सय सात सय १३ जना पुगेका छन् । सन् २०१८ मा एक हजार आठ सय २७ चिनियाँले बिजनेस भिसा लिएका थिए ।

भैरहवा विमानस्थलमा काम गर्दै चिनियाँ कामदार । तस्बिर : नयाँ पत्रिका
भैरहवा विमानस्थलमा काम गर्दै चिनियाँ कामदार । तस्बिर : नयाँ पत्रिका

सन् २०१८ मा बिजनेस भिसा लिने दक्षिण कोरियाली पनि बढेका थिए, सन् २०१९ मा भने घटेका छन् । २०१७ मा पाँच सय ४१, २०१८ मा ६ सय ५८ र २०१९ मा चार सय ८४ जना दक्षिण कोरियाली नागरिक बिजनेस भिसामा नेपाल आएका छन् ।

नेपालमा व्यवसाय गर्ने अमेरिकी नागरिकको संख्या घट्दो छ । सन् २०१७ मा चार सय २६ अमेरिकीले बिजनेस भिसा लिएकामा सन् २०१९ मा तीन सय ८८ जना मात्र छन् । जापानीको संख्या पनि २०१७ मा एक सय ३० रहेकामा २०१९ मा घटेर एक सय २१ मात्र छ ।

सन् २०१९ मा नेपालमा २२ देशका नागरिकले बिजनेस भिसा लिएका थिए । सन् २०१७ मा बिजनेस भिसा लिनेहरू तीन हजार ६ सय ६७ रहेकामा २०१९ मा बढेर चार हजार चार सय ६२ पुगेको छ । यो आर्थिक वर्षमा कोरोना महामारीकाबीच पनि नयाँ भिसा लिनेको संख्या बढेको छ ।