१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
प्रदीप अधिकारी
२o८१ बैशाख २२ शनिबार o६:३५:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युवा, वैकल्पिक शक्ति र राजनीति

हालको नेपाली संवैधानिक व्यवस्थाले व्यावहारिक रूपमा तीन वा चार राष्ट्रिय दलभन्दा धेरैलाई दिगो रूपमा टिक्न दिँदैन

Read Time : > 5 मिनेट
प्रदीप अधिकारी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:३५:oo

मूलधारका राजनीतिक दलले विभिन्न कालखण्डमा अगुवाइ गरेका आन्दोलनलाई उचाइमा पुर्‍याउने नेतृत्वको प्रयोगबाट असन्तुष्ट नेपाली जनता अलग नेतृत्व र राजनीतिक पद्धति खोजिरहेका छन् । दोभान राईले भनेझैँ अहिलेको वर्तमान नेतृत्वपंक्ति साँच्चै रित्तिएको भान भएर यसको प्रतिकारात्मक विद्रोहको रूपमा विकल्पको अति शीघ्र समाधानमुखी खोज भइरहेको महसुस गर्न सकिन्छ । विकल्पमा केही वैकल्पिक धार प्रस्तुत भइरहेका छन् । केही युवा विगत केही समययता आफूलाई विकल्पमा उभ्याउने प्रयासमा छन् ।

आफू दागरहित, ऊर्जावान्, निडर, जोखिम मोल्न सक्ने र इच्छाशक्ति भएका कारणले नेतृत्वलाई नयाँ दिशा दिन सक्छौँ भन्ने मान्यता युवाहरू राख्छन् । सोही मान्यताअनुरूप युवालक्षित र युवासञ्चालित केही वैकल्पिक शक्तिहरू राजनीतिक बागडोरमा देखिएका छन् । विवेकशीलले युवा नेतृत्वलाई प्राथमिकतामा राखेको देखिन्छ भने अर्को दल साझा पार्टीले पनि केही युवालाई सम्मानजनक स्थान दिई सहरी युवाको आकर्षणमा देखिएका छन् । परिणामतः आफूलाई वैकल्पिक दाबी गर्ने यी शक्तिमा विशेषगरी सहरी युवाको राम्रै उपस्थिति देख्न सकिन्छ । 

सकारात्मक पक्ष : युवालाई नेपाली राजनीतिमा आकर्षित गरेर सरकारलाई जवाफदेही बनाउन वैकल्पिक शक्तिहरूले खेल्न खोजेको भूमिकालाई सराहना गर्नैपर्छ । यी युवा महाव्याधिको समयमा परोपकारका लागि पनि अग्रसर छन् । साझा पार्टीले आफ्नो पेसा व्यवसायमा अब्बल र ख्याति कमाएका व्यक्तिहरू बटुलेर जुन समूह बनाएको छ, त्यो पनि प्रशंसनीय कदम नै हो । यद्यपि, राजनीतिक पार्टीहरू समाजसेवा गर्न खुलेका सामाजिक संस्था वा ‘थिंक ट्यांक’ मात्र होइनन् । राजनीतिमा उदाउन वैचारिक धरातल, प्रतिनिधित्व गर्ने समूह, मार्गदर्शन र कार्यदिशा सबै आवश्यक हुन्छ । यहीँनेर वैकल्पिक शक्ति चुकेको आभास मिल्न थालेको छ । 

साझा र विवेकशील शताब्दीऔँ पुराना राजनीतिक दर्शनशास्त्रको औचित्य देख्दैनन् । उनीहरू कुनै दार्शनिक वा राजनीतिक लेप आफूहरूले लगाउन नचाहेको बताउँछन् । यिनका राजनीतिक दस्तावेजमा देशमा व्याप्त आर्थिक तथा राजनीतिक असमानता र अविकासका पछाडि जातीय संरचना, वर्गीय स्वरूप, प्रणालीगत र संरचनात्मक कारणहरू प्रमुख हुन् भन्ने कुरा उनीहरू अनदेखा गरिरहेका छन् ।

नेतृत्वको पारदर्शिता, निष्ठा, ‘मेरिटोक्रेसी’ र ज्ञान नै देशको रूपान्तरणको आधारशिला ठान्छन्, तर इतिहास, भूगोल, भूराजनीति, अर्थराजनीतिलगायत अन्य विभिन्न कोणलाई मनन गरेको देखिँदैन । देशका सारा समस्याको जड पात्र (नेतृत्व)मा रहेको ठान्नुलाई दृष्टिदोष मान्नुपर्छ । साझा पार्टी त कुनै व्यवसाय वा पेसामा उच्च योग्यता भएका ‘टेक्नोक्रेट’ले ल्याउने पद्धतिमा आधारित विकासलाई नै देशको समस्याको समाधान ठान्दछ । अथक रूपले दक्षिण कोरिया वा सिंगापुरको उदाहरण दिएर मात्रै हुँदैन । दक्षिण कोरियाका ‘टेक्नोक्रेटको’ उदाहरण दिइरहँदा शीतयुद्धकालीन भूराजनीतिलाई र सिंगापुरको उदाहरण दिँदा यसको सानो भूगोल र नजिककै ठूलो अर्थतन्त्रलाई व्याख्या गर्न उनीहरू चुक्छन् । 

त्यसैगरी, विवेकशीलको बुझाइमा युवावर्ग र यिनको असीमित इच्छाशक्ति र ऊर्जाबाट नै देश परिवर्तनको समस्या समाधान हुन्छ । नेतृत्व कौशललाई उमेरसँग दाँजेर हेर्ने गरिएको छ । भरपुर इच्छाशक्तिका कारण उमेर काटेका वृद्ध नेताभन्दा युवापुस्ता प्रभावकारी रहन सक्छन् भन्ने उनीहरूको बुझाइ देखिन्छ । यद्यपि, माथिल्लो राजनीतिक नेतृत्व न त कम्प्युटर विज्ञानको कोडिङ कार्यजस्तो हो, न त कुनै खेलाडीको प्रतिभाजस्तो हो । माथिल्लो नेतृत्वका कार्यहरू त उमेरसँगै आउने ज्ञान, अनुभवबाट खारिँदै र परिष्कृत हुँदै जाने हो । न्युजिल्यान्ड, फिनल्यान्ड, क्यानडा वा अस्ट्रेलियाको उदाहरण दिइरहँदा तिनीहरूको परिपक्व राजनीतिक संस्थागत विकास र परिष्कृत जनसांख्यिकीलाई बेवास्ता गर्नुहुँदैन ।

युवा र ‘टेक्नोक्रेट’को जगजगी : नेपाली राजनीतिमा न युवाहरूको कमी रहेको हो, न त ‘टेक्नोक्रेट’को नै । हाल राजनीतिक शिखरमा रहेका व्यक्तिहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा दिग्गज राजनीतिज्ञहरू मातृकाप्रसाद कोइराला, बिपी कोइराला, मदन भण्डारी पनि कलिलो उमेरमा नै राजनीतिमा होमिएका हुन् । टेक्नोक्रेटहरू, जसको केही उदाहरणमा रामशरण महत, बाबुराम भट्टराईदेखि युवराज खतिवडासम्म पर्दछन्, उनीहरूले पनि महŒवपूर्ण जिम्मेवारी लिइसकेका छन् । यी नेता वा टेक्नोक्रेटहरू प्रतिस्पर्धात्मक पेसा वा राजनीतिबाटै आएका र सबै समयले पत्याएका योग्य नै थिए । के कुरा पनि नबिर्सौं भने यिनीहरू पनि त्यही पुराना शक्तिहरूमार्फत नै उदाएका हुन् । यसो भनिरहँदा वैकल्पिक शक्तिले उजागर गर्न खोजेको पक्ष कुन अर्थमा वैकल्पिक रह्यो भन्ने स्वाभाविक प्रश्न उठ्छ । 

जब तिनै गनिएका वा विश्वास गरिएका युवाहरू वा ‘टेक्नोक्रेट’ पनि नेतृत्वमा पुगेर आशातीत काम गर्न नसकेको आभास हुन्छ । त्यो युवापुस्ता वा ‘टेक्नोक्रेट’माथि गरिएको अहम् विश्वासमा नै प्रश्नचिह्न उठ्न थाल्दछन् । युवापुस्ता वा टेक्नोक्रेटले पनि आशातीत काम गर्न सकेनन् भनिरहँदा उनीहरूको राजनीतिमा प्रभावकारिताबारे बृहत्तर विश्लेषण गरेर त्यो किन सम्भव भएन भन्ने प्रश्नमा ध्यान दिनु आवश्यक हुन्छ ।

सुशासन र सबल राजनीतिका लागि ‘युवापुस्ता आऊ राजनीति बचाऊ’ भनिरहँदा देश र राजनीति के कुराले ‘बिग्रेको’ हो भनेर मन्थन गर्न अति आवश्यक हुन्छ । यी वैकल्पिक शक्तिहरूको दोषारोपण पात्रमा मात्र सीमित छ । उनीहरूले भनिरहेको विकासको पात्रसम्बन्धी दृष्टिकोणको प्रजातान्त्रिक राज्य प्रणालीमा खासै तुक देखिँदैन । प्रसिद्ध रुसी लेखक लियो टोल्सटोयले हामी नेताहरूको देश निर्माणमा बढी नै भूमिका हुन्छ भन्ने विश्वास राख्दछौँ, तर ती मान्यतामा विश्वास गर्ने कुनै आधार वा ठोस प्रमाण छैन भनेका थिए ।

बेन्जामिन यफ जोन्स तथा बेन्जामिन ए ओल्केनलेको २००५ मा प्रकाशित खोजमूलक लेखमा दोस्रो विश्वयुद्धभन्दा पछाडिको कुन नेताको मृत्युले आर्थिक विकासमा के कस्तो प्रभाव पा¥यो भन्ने आधारमा नेताहरूको प्रभावको अनुसन्धान गरिएको थियो । त्यस अनुसन्धानले प्रजातान्त्रिक देशमा नेतृत्वको आर्थिक वृद्धिमा निकै सानो भूमिका रहेको देखाएको छ । कुनै निश्चित उमेरसमूहको राजनीतिक नेतृत्व कुनै अर्को उमेरसमूहभन्दा प्रभावकारी रहन्छन् भन्ने पनि पुष्टि गरिएका खोज अनुसन्धान मैले हालसम्म समाजविज्ञानमा देखेको छैन । 

त्यसैले, अर्थराजनीति, इतिहास, भूगोल, भूराजनीति, र विकासका सामाजिक, संस्थागत र मानवशास्त्रीय निर्धारकहरू नबुझी नेतृत्वको पात्रमा मात्र दोष थुपार्नु भनेको हामी युवाले पनि आफ्नो असफलताको मार्ग आफ्नै दृष्टान्तबाट कोर्नु हो । युवाले नेतृत्व लिँदैमा देशले न त संसार घुमाउने आर्कमेडिजको उत्तोलक पाउने हो, न त पौराणिक कथाका पहाड उचाल्ने हनुमान नै ! आकाशबाट पानी पर्न लाग्दा हुटिट्याउँले उत्तानो परेर आकाश नै रोक्छु भने जस्तो पनि त गर्नु भएन ।

हामीले राजनीतिक प्रक्रियामा युवाको सहभागितालाई बढावा दिनुपर्दछ, राजनीतिमा युवाको बढ्दो चासोको सराहना पनि गर्नुपर्छ । तर, राजनीतिक ज्ञान, राजनीतिक अभ्यास र नेतृत्व फरक विषय हुन्, जुन एकपछि अर्को चरणमा प्रवेश गर्दछन् । सुग्घर र सुसंस्कृत राजनीति र नेतृत्वका कारण नभई नेपालको अहिलेका उपलब्धि यहाँको भूराजनीति, भूगोल, राजनीतिक वाद, इतिहासलगायत धेरैको समष्टिगत प्रतिफल हो । देश बिग्रेको नेतृत्वको कारणले मात्र होइन, युवापुस्ता र टेक्नोक्रेटहरू पनि यसका लागि धेरै हदसम्म जिम्मेवार छन् । त्यसैले युवापुस्ताको राजनीतिक साक्षरता, विकास, राजनीतिक दर्शन तथा अर्थराजनीतिक बहस चलाएर युवाहरूको राजनीतिक क्षमता अभिवृद्धि गर्दै अझ बृहत्तर रूपमा लाग्ने कि ?

सुशासन र सबल राजनीतिका लागि ‘युवापुस्ता आऊ राजनीति बचाऊ’ भनिरहँदा देश र राजनीति के कुराले ‘बिग्रेको’ हो भनेर मन्थन गर्न अति आवश्यक हुन्छ । यी वैकल्पिक शक्तिहरूको दोषारोपण पात्रमा मात्र सीमित छ ।

 वैकल्पिक शक्तिका अवसर र चुनौती : हामीअघिका पुस्ता विभिन्न आन्दोलन र क्रान्तिमा उभिए । अहिलेका ३० वर्षभन्दा कम वयका युवा स्वविवेकी ढंगले कुनै क्रान्तिमा प्रत्यक्ष संलग्न भएका छैनन् । त्यसैले मूलधारका पार्टीहरूसँग धेरै युवा भावनात्मक सम्बन्ध राख्दैनन् । यसकारण पनि यो उमेरसमूहलाई मूलधारका पार्टीहरूले वैचारिक वा व्यावहारिक रूपमा आकर्षित गर्न सकेका छैनन् । यी पार्टीहरूका निम्ति यसको मूल्य ठूलै पर्न सक्छ । तर, ग्रामीण युवा र सहरी युवा राजनीतिलाई फरक ढंगले बुझ्छन् । सहरकेन्द्रित युवाहरू कि त राजनीतिबाट टाढा छन्, या त राजनीतिसँगको संलग्नता लहडी छ ।

सहरका सुकिलामुकिला युवा राजनीतिबाट आफू कम अपेक्षा गर्दछन् । उनीहरूलाई आज नभए भोलि ‘आ ! देशमा वातावरण नै भएन’ भनेर पलायन हुन सजिलो छ । जबकि, ग्रामीण युवाहरू राजनीतिलाई उपभोग गर्दछन् र राजनीतिलाई आफ्नो, समाज र देश निर्माणको साँचो आधार मान्दछन् । उनीहरू राजनीतिसँग आफ्ना रोजगारीका चाहना, आफ्नो समुदायको विकास र राष्ट्रको विकास गर्ने दह्रो आधार खोज्दछन् । यो भिन्नतालाई पनि वैकल्पिक राजनीतिका खेलाडीले मनन गर्न आवश्यक छ । रवीन्द्र मिश्रले नेपाली जनता मेन्यु हेरेर अन्तिममा मःम नै रोज्दछन् उसै भनेका होइनन् ।

साझाका पछिल्ला राजनीतिक खेल हेर्दा उनीहरूले पनि असनको दक्षिणी कुनातिर मःम पसल खोलेको प्रतीत हुन्छ । आफूलाई वैकल्पिक शक्ति बताउने, तर धर्मनिरपेक्षता, संघीयता, समावेशिताका मुद्दामा प्रतिगमनकारी स्थान राख्नाले उनीहरू राजनीतिक ध्रुवीकरणबाट दक्षिणपन्थी भोट तान्ने प्रयत्न गर्दै छन्, बुझ्न गाह्रो छैन । अर्कोतर्फ विवेकशील सुशासन र युवाको हस्तक्षेपको एकसरो रटान दिने तर राजनीति र विकासलाई त्यही साँघुरो दृष्टान्तभन्दा परबाट व्याख्या गर्न नसक्नाले सहरी युवाहरूको लहडी झुन्डभन्दा माथि उठ्न सकेको छैन ।

हालको नेपाली संवैधानिक व्यवस्थाले व्यावहारिक रूपमा तीन वा चार राष्ट्रिय दलभन्दा धेरै दललाई दिगो रूपमा टिक्न दिँदैन । त्यसैले आदर्शवादी र अस्पष्ट राजनीतिक चिन्तनमा रुमल्लिने र संगठनात्मक विस्तारमा लडबडाउने हो भने नेपाली राजनीतिको तितो यथार्थले यी दललाई पनि बाबुराम भट्टराईको नयाँ शक्तिको नियतिमा पुर्‍याउने निश्चित छ । 

ad
ad