
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भारतसँग कूटनीतिक पहलविना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
महानिर्देशक अधिकारीले भैरहवा र पोखरा विमानस्थलबाट अहिले नै लाभ खोज्ने वेला नभइसकेको भन्दै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारतसँग सरकारले वार्ता गर्न आवश्यक रहेको बताए।
समितिको बैठकमा सांसदहरूले रुटको कारणले विमानस्थल सञ्चालनमा नआएको भन्ने जिज्ञासाको जवाफ दिँदै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कम हुनुमा रुट मात्रै बाधक नरहेको बताए।
उनले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अहिलेको प्रचारप्रसार पर्याप्त नभएको बताए। महानिर्देशक अधिकारीले विमानस्थलबारे छिमेकी देशहरूमा उडान माग्ने र प्रचारप्रसारको कामलाई पनि तीव्र बनाउँदै लगे विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने बताए।
उनले भैरहवा विमानस्थल चलायमान बनाउन विमानस्थलकेन्द्रित गतिविधि बढाउनुपर्नेमा जोड दिए।
महानिर्देशक अधिकारीले पोखरामा भएको दुर्घटनामा विमान धेरै नै तल आइसकेपछि ल्यान्डिङ प्रक्रिया सुरु भएको भन्ने गुनासा आएकाले त्यसलाई सम्बोधन गर्न एक हजार फिटमाथि नै सबै व्यवस्थापन गरेर मात्रै ल्यान्डिङ गर्नुपर्ने नियम ल्याएको बताए।
उनले नियमित मौसम सूचना उपलब्ध नहुने हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसमी क्यामेराहरू जडान भइसकेको उल्लेख गर्दै जोमसोममा भएको दुर्घटनापछि प्राधिकरण राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर पोखरादेखि जोमसोम रुटका सबै ठाउँमा अहिले लाइभ वेदर क्यामेरा जडान गरिसकेको बताए।
अब चाँडै नै लुक्ला र सिमकोटमा जडान गर्ने तयारीमा रहेको बताउँदै लाइभ वेदर क्यामेरा जडानपछि पाइलटले उडान गर्नुपूर्व नै रुटको सम्पूर्ण जानकारी लिन सक्ने बताए। महानिर्देशक अधिकारीले उडानपूर्व बाध्यकारी रूपले उडान सुरक्षा जोखिम मूल्यांकन गर्नुपर्नेमा जोड दिए।