मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १५ बिहीबार
  • Wednesday, 18 December, 2024
२o७७ असोज १५ बिहीबार १३:२४:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

तरकारीको पकेट क्षेत्रमा शीतभण्डार निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १५ बिहीबार १३:२४:oo

तरकारी उत्पादनको पकेट क्षेत्र मकवानपुरको थाहा नगरपालिकामा शीतभण्डार निर्माण तीव्र गतिमा अघि बढेको छ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरमा उत्पादित तरकारी लामो समयसम्म टिकाइराख्नका लागि शीतभण्डार निर्माण प्रक्रिया अघि बढाइएको हो । विशेषगरी आलु उत्पादन बढी हुने थाहामा शीतभण्डार नहुँदा तरकारी कुहिएर खेर जाने, किसानले उचित मूल्य नपाउने र काठमाडौंमा बढी मूल्य तिरेर भण्डारण गर्नुपर्ने समस्या थियाे । 

नगरप्रमुख लवशेर विष्टका अनुसार कोरोना र लकडाउनका कारण भारतीय कामदार घर फर्किएपछि करिब ४ महिना काम ठप्प भए पनि हाल निर्माण कार्यले तीव्रता पाएको छ ।

कात्तिक ०७५ बाट निर्माण सुरु गरिएको शीतभण्डार गत महिना भदौबाट सञ्चालनमा ल्याउने लक्ष्य लिइएको थियो । तर, कोरोनाका कारण कामदार घर फर्किएको र भवन निर्माण सामग्री नपाउँदा केही समय ढिलाइ हुँदा २०७८ बाट सञ्चालनमा आउने नगरप्रमुख विष्टले बताए ।

थाहा नगरपालिकास्थित विकासचौरमा १५ रोपनी क्षेत्रफलमा निर्माण थालिएको शीतभण्डारकाे भवन र मेसिनसहित १५ करोड ८७ लाख लागत अनुमान गरिएको छ । 

थाहा नगर, कैलाश र इन्द्रसरोवर गाउँपालिकामा उत्पादित तरकारी भण्डारणका लागि निर्माणाधीन शीतभण्डार सञ्चालनमा आएपछि त्यस क्षेत्रका शतप्रतिशत किसान लाभान्वित हुने विष्टको दाबी छ । निर्माणका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशको ७० प्रतिशत अनुदान र त्यस क्षेत्रमा सञ्चालित २७ वटा सहकारीको ३० प्रतिशत लगानी छ । मन्त्रालयले आठ करोड तीन लाख रुपैयाँ अनुदान दिएको छ ।

यस क्षेत्रका २४ हजार सहकारी सदस्यले शीतभण्डार भाडामा लिएर प्रयोग गर्ने र सोही भाडाबाट सञ्चालनको लागत व्यहोर्ने योजना बनाइएको छ । विद्युत् र सडकको सहज उपलब्धता हुने क्षेत्र भएका कारण सञ्चालनमा कुनै समस्या नहुने विष्टले बताए । पक्की सडकसँग जोडिएको स्थानमा निर्माण गरिएको र उत्पादन स्थलबाट सहकारीमार्फत शीतभण्डारमा ल्याइने भएकोले हालसम्म कुनै समस्या नहुने उनको भनाइ छ । 

शीतभण्डार नहुँदा त्यस क्षेत्रका करिब ८५ प्रतिशत किसानले समस्या भोग्नुपरेको विष्टको भनाइ छ । अन्यत्र भण्डारण गर्दा एक किसानले ५० किलोको ६ सय रुपैयाँसम्म तिनुपर्ने बाध्यकारी अवस्थाका कारण ठूलो आर्थिक भार खेप्नुपरेको उनले प्रतिक्रिया दिए । शीतभण्डार सञ्चालनमा आएपछि एकपटकमा १७ सय मेट्रिक टन भण्डारण गर्न सकिने र सात महिनासम्म राख्न सकिने विष्टले जानकारी दिए । शीतभण्डारबाट ५० हजारभन्दा बढी किसानलाई प्रत्यक्ष प्रभाव पार्ने नगरपालिकाको अनुमान छ ।