प्रधानमन्त्रीले चाहेको खण्डमा देशमा तुरुन्तै सुधार सम्भव छ, तर प्राथमिकतामा समृद्धि र स्थिरताको एजेन्डा हुनुपर्छ
म कार्ल मार्क्स बितेको १०७ वर्षपछि लन्डनस्थित ‘हाइगेट सिमेट्री’ अगाडि उभिएर ‘संसारका श्रमिकहरू एक होऔँ’ पढ्दै थिएँ । सन् १९१७ मा रुसमा भएको कम्युनिस्ट क्रान्तिपूर्व मार्क्सको सालिक सुनसान थियो रे, वोल्सिविक क्रान्तिपछि यो ठाउँलाई गुल्जार गरिएको रहेछ । मार्क्सवादी यो ठाउँलाई ‘धार्मिक तीर्थस्थल’झैँ मान्छन् भनी त्यहाँ रेखदेख गर्नेले भन्थे । श्रद्धालु मात्र होइन, मार्क्सलाई घृणा गर्ने पनि त्यहाँ पुग्छन् । मार्क्सलाई घृणा गर्नेहरूले सालिकमा हतौडाले हान्ने, घृणाका शब्दहरू लेख्ने र बमले उडाउनेसम्मको करतुत गर्दा रहेछन् । खासगरी नाजी नश्लवादी र उदार पुँजीवादी मार्क्सलाई ‘डक्ट्रिन अफ हेट’का प्रवर्तक भनी घृणा गर्छन् ।
मार्क्सको सम्झना कोरोनाको महामारीबीच सडक र भारतको सीमामा देखिएका नेपाली श्रमजीवी युवाको कारण आएको हो । मार्क्सको सालिकमा लेखिएको कोटेसनका कारण आएको हो । झन्डै ‘पाँच लाख नेपाली युवा’ बाँच्नका लागि भारत छिरेको समाचार आयो । चार महिनाअघि भारतबाट देश फर्किंदा यिनै युवाको नेपाली सीमाक्षेत्रको क्वारेन्टाइनमा भएको दुर्दशा हाम्रो आँखाबाट अझै ओझेल भएको छैन । फेरि तिनै युवा भारत जान बाध्य भए, दसैंको मुखमा । देश छाड्नुपर्यो । सीमामा लामबद्ध देखिएका सीमान्त नेपाली युवाको व्यथा सञ्चार संवादमार्फत सुनियो, राजधानीमा । त्यो समाचार मात्र बन्यो । सरकारको कुनै प्रतिक्रिया आएन । युवा भन्दै थिए, ‘नेपाल बसे भोकले मरिन्छ, भारत गए कोरोनाबाट मारिने डर छ । मर्नु छ, किन त्यसै मर्नु ?’
प्रधानमन्त्री ओली, नेपालमा भोकले कोही मर्दैनन् भनी ‘चुटकी’ लिएर भाषण छाँट्छन् । भाषणले गरिब घरको चुलोमा रासन पुग्दैन । प्रधानमन्त्रीको प्राथमिकतामा ती लाखौँ युवा कतै छैनन्, जो यतिखेर भारत प्रवेश गर्दै छन्, भोकका कारण । प्रधानमन्त्रीको प्राथमिकतामा समय समाप्त भएका अर्थमन्त्रीको पुनर्नियुक्ति छ, जसको असफलताले सीमामा युवा भारत छिर्न लामबद्ध छन् । अर्थमन्त्री मात्र होइन, प्रधानमन्त्रीको आँखामा सबै मन्त्री सफल छन् । तर, जनताको आँखामा एकजना मन्त्री सफल छैनन्, सम्मानयोग्य छैनन् यतिखेर । नेपालमा कम्युनिस्टले बहुमतको सरकार बनाए भनेर गरिब र सीमान्त नेपाली सबैभन्दा खुसी थिए । समाजवादउन्मुख राष्ट्र निर्माण गर्छन् भनी नपत्याए पनि केही लोकलाजका लागि माक्र्सवादी चिन्तनधारा देशमा पक्कै बग्ला भन्ने झिनो आशा वञ्चनामा बस्ने परिवारमा थियो । तर, सरकारले राष्ट्रवादको नाममा कागजमा चुच्चे नक्सा र कतै राम जन्मभूमिको मन्दिर निर्माणमा तत्परता देखाउनेबाहेक केही नगर्दा ती निराश भए, भारत छिरे । नेपाली युवा फेरि नेपालका शासक र प्रशासकका लागि ‘इनभिजिवल इनटिटी’ भए सदाझैँ ।
देश छाडेर जाने यी युवाले भारत–चीन सीमामा बाटो बनाउँछन्, भारी बोक्छन् । अनि त्यही बाटोमा बन्दुक बोकेर कवाज खेल्छन्, चीनसँग युद्ध लड्न गोर्खाली सेनाले । ६० वर्षपहिले यही भएको थियो । अहिले पनि त्यसैको पुनरावृत्ति हुने छाँट छ । त्यति मात्र होइन, कस्मिरदेखि मद्राससम्मको बाटो, पुल, रेस्टुरा, होटल, सुरक्षागार्ड र सफाइमा यी नेपाली युवा भारतमा परिचालित हुन्छन् । जीवन निर्वाहका लागि नेपाली १९औँ शताब्दीदेखि कहिले आसामको कोइलाखानी त कहिले बर्माको पहाड पुगे । नेपाली चेलीहरू कलकत्ताको कोठीदेखि बम्बईको रेडलाइट एरियासम्म बिक्छन् । खोइ मार्क्सवादी सरकारको चिन्ता यसतर्फ ? नेपालको गाउँघर युवाविहीन हुने क्रममा छ । दसैँमा नेपाली विश्वको कुनै कुनामा भए पनि देश फर्किने चलन थियो विगतमा । यसपटक दसैँको मुखमा नेपालका युवा आफ्नो संस्कृतिसँग चुडिएँ, आफ्नो परिवारसँग टाढिए । केही भरोसा र आशाको दियो बोकेर एउटा ‘फकिर’ गएका थिए ती सीमान्त परिवारको आँसु पुछ्न, घाउमा मलम लगाउन । कोरोनाको महामारीबीच पनि निर्भय भएर राज्यलाई चुनौती दिँदै पश्चिम नेपालको पहाडी कन्दरामा पुग्ने त्यो फकिर डाक्टर गोविन्द केसी थिए ।
त्याग कम्युनिस्टले देखाउनुपर्ने छ । तर, विडम्बना ! कम्युनिस्ट पार्टीको प्राथमिकता आफ्ना कार्यकर्तालाई तलब व्यवस्थापन गर्नमा केन्द्रित छ, त्यागमा होइन । यो विपरीत बाटो हो र यसबाट भ्रष्टाचार बढ्ने मात्र होइन, सम्पूर्ण प्रणाली असफल हुन्छ ।
फकिरको अनशनमाथि हिंस्रक व्यवहार गरियो । राज्यविहीन र वर्गविहीन समाज निर्माण गरेर साम्यवाद ल्याउने सपना धेरै पहिले नै टुकुचामा बगाएका कम्युनिस्टले डा. केसीमाथि सामान्य मानवीय व्यवहारसम्म पनि देखाउन चाहेनन् । नेपालको स्वास्थ्य क्षेत्र स्वास्थ्य माफियाबाट सञ्चालित छ । माफियासँग समर्पण र फकिरसँगको संघर्षले नेपालको कम्युनिस्ट सरकार हेगलको ‘शीर्षासनको सिद्धान्त’मा रूपान्तरित भएको छ अर्थात् उल्टो दिशामा । माक्र्स हेगलको सिद्धान्तलाई शीर्षासनमा उभिएको भन्थे र उनले त्यो सिद्धान्तको सुल्टो अर्थात् वर्ग समन्वय होइन, वर्गसंघर्षको भौतिकवादी व्याख्या गरेका थिए । नेपाल वर्गसंघर्षको चरणमा कसरी प्रवेश गर्ला अहिले भन्न सकिन्न । तर, माफिया र सत्तासीन कम्युनिस्टको वर्ग–समन्वयको यात्रा भने देशमा जारी छ । छिमेकी चीनमा माओले कम्युनिस्ट क्रान्ति गरेर किसानलाई माथि उठाए, अहिले महाशक्ति राष्ट्र बन्ने आधारभूमि त्यही समय निर्माण भएको थियो । रुसमा कम्युनिस्टले क्रान्ति गरेर रकेट उडाए ‘स्पुतनिक’ । अहिले त्यही नामको कोरोना भ्याक्सिन बनाएका छन् सबैभन्दा पहिले । प्रथम अन्तरिक्षयात्री युरी गागरिन रुसी समाजमा आजसम्म पनि गौरवका प्रतीक मानिन्छन् । कोरोना महामारीबीच कम्युनिस्ट क्युवाले देशको सान र नाम चम्काए । देशको स्वास्थ्य प्रणाली धनी पुँजीवादी देशभन्दा अब्बल भनी क्युवाले नाम कमायो, संसारलाई सघायो ।
नेपालमा कम्युनिस्ट शासनमा किसानमाथि अन्याय भयो । किसानले मल पाएनन् । किन पाएनन् भन्दा कमिसन मिलेन । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सामग्री आएन, किन भन्दा कमिसन मिलेन । मध्यमवर्गले तरकारी किन्न जाँदा चर्को मूल्य तिर्नुपर्छ । तर, उत्पादन गर्ने किसानले उत्पादनको न्यूनतम मूल्य पनि पाउँदैन, किन भन्दा कमिसनको खेल हुन्छ । गरिबसँग इन्टरनेटको पहुँच छैन, तर सबैलाई शिक्षाको प्रबन्धमा राज्यको चासो छैन । के राज्य, बिचौलिया र खास वर्गका लागि मात्र हो भनी भन्नुपर्ने हो ? होइन । प्रधानमन्त्रीले चाहेको खण्डमा देशमा तुरुन्तै सुधार सम्भव छ । तर, प्रधानमन्त्रीको प्राथमिकतामा देशको समृद्धि र स्थिरताको एजेन्डा हुनुपर्छ । ओलीको नियतमा शंका नगरौँ एकछिन । तर, कार्यक्षमता नभएको भनी भन्न सकिन्छ । आफ्नो कार्यप्रति निष्ठा र अब्बल भएकालाई अस्वीकार्य गर्ने परपीडक सोच उनमा छ भनी आरोप लगाउनेहरू छन् । परपीडामा रमाउने प्रधानमन्त्रीको बानी छ भनी बुझ्न कुलमान घिसिङ उदाहरण भएका छन् । देशमा एकथरी जनजातिको सफलता नरुचाउने ‘टपरे बाहुन प्रवृत्ति’ नेपाल राज्यमा हाबी छ भनी आरोप पनि लगाउँछन् ।
कुलमानले राम्रो काम गरे, पदीय दायित्वबाट वञ्चित भए । अर्थमन्त्री युवराज खतिवडाले सम्झनलायक कुनै काम गरेनन्, उनी प्रधानमन्त्रीका प्रिय मात्र भएनन्, निरन्तरता नै पाए । प्रधानमन्त्री लोडसेडिङ अन्त्य भएको ‘क्रेडिट’ कुुलमानले लिए भनी कुलमानबाट गद्दी हल्लिएझैँ भयग्रस्त देखिन्छन् । यो भयको औषधि हुँदैन । यो त हाम्रो धार्मिक पुस्तकमा वर्णित इन्द्रको आसन डगमगाएजस्तो भयो । इन्द्रको आसन सामान्य जप, तप, पूजा र निष्ठाले हल्लिन्छ र उनी स्वर्गको राजा भएर पनि हारगुहार गर्न अरू देवताकहाँ पुग्छन् । ओलीको सिंहासन स्वर्गको राजा इन्द्रको जस्तो छ– डाँवाडोल । उनी कहिले वामदेवसँग हारगुहार गर्न पुग्छन्, त कहिले प्रचण्डसँग । कुलमानलाई आफ्नै विवेकको निर्णय गरेर फेरि अर्को कार्यकालका लागि समय थपेको भए ओलीको गुम्दै गएको नागरिक वैधता पुनस्र्थापित हुन गाह्रो थिएन । प्रधानमन्त्रीले केही त राम्रो गरे भनी सामाजिक सञ्जाल मात्र भरिने थिएन, उनको पक्षमा ‘आलोचक मध्यमवर्गीय जनमत’ पनि आउने थियो । तर, प्रधानमन्त्रीले विपरीत बाटो लिन रुचाए ।
प्रधानमन्त्री विपरीत बाटो हिँडेका छन् भन्ने प्रमाण राज्य दोहन गर्नेको छातीमा तक्मा भिराएकोमा पनि देखिन्छ । तक्मा यो वर्ष बन्द गरिन्छ र त्यसको पैसा स्वास्थ्य क्षेत्रमा खर्चिने भनी घोषणा गरेको भए प्रधानमन्त्रीको थप वैधता कर्णालीको सुदूर गाउँदेखि झापाको कचनाकलनसम्म पुग्थ्यो । त्यहाँ माक्र्सवाद देखिन्थ्यो, कुलीनतन्त्रको कुरूप प्रदर्शन हुँदैन थियो । भनिन्छ, माक्र्सको कम्युनिस्ट घोषणापत्रले ‘पुँजीवाद सरिफ भयो’ युरोपमा । त्यस्तै ओलीलाई सरिफ हुने अनेकन् अवसर आउँछन्, तर उनको दृष्टि नै त्यता पुग्दैन । युरोपमा पुँजीवाद सरिफ भइरहँदा संसारमा भने युरोपले उपनिवेशवादलाई अगाडि बढायो । अहिले नेपालका कुलीन देश छाडेका युवाले पठाएको पैसाले तलबभत्ता खान्छन् । नयाँ ढंगको कुलीनतन्त्र र साम्राज्यवादी सोच नेपाली नेतामा पलाएको छ । युरोपका पुँजीपति र कुलीनले मध्यमवर्ग र सर्वहारासँग साँठगाँठ गरे, लोक–कल्याणकारी राज्यको स्थापना गरे । थुप्रै समाजसुधारक निस्किए, पुँजीपतिबाट । अहिलेको नेपालमा पुँजीपति र समाजसुधारक सरिफ हुने वातावरण छैन । सामाजिक सांस्कृतिक आन्दोलनको प्रस्फुटन नै नेपालमा हुन नसकेको अवस्था छ ।
त्याग कम्युनिस्टले देखाउनुपर्ने छ । तर, विडम्बना ! कम्युनिस्ट पार्टीको प्राथमिकता आफ्ना कार्यकर्तालाई तलब व्यवस्थापन गर्नमा केन्द्रित छ, त्यागमा होइन । यो विपरीत बाटो हो र यसबाट भ्रष्टाचार बढ्ने मात्र होइन, सम्पूर्ण प्रणाली असफल हुन्छ, यसको दाबी अहिले नै गरिन्छ । नेपाल निर्माणको सही बाटो आफ्नै अतीतमै खोज्न सक्छन् कम्युनिस्टले । अतीतमा कम्युनिस्ट विवेकशील, तार्किक, बन्धुत्व भावनाले भरिएका र समानतामा विश्वास गर्ने खालका थिए । नेपालको राजनीतिक दलका नेता र कार्यकर्ताले आफ्नो अतीतमा राष्ट्र, विचार र नेपाली जनताप्रति गरेको समर्पण अतुलनीय छ । माक्र्सवादले अहिले पनि सामाजिक न्याय र लोककल्याणकारी राज्यको बाटो देखाउन सक्छ नेपालमा । त्यसका लागि नेकपामा व्यापक सुधारको जरुरत छ ।
मार्क्सलाई ‘डक्ट्रिन अफ हेट’बाट ‘डक्ट्रिन अफ लभ’मा रूपान्तरण गर्ने जिम्मेवारी नेकपा सरकारको हो । जसरी बिपी कोइरालाले नेपालको योजना बनाउँदा किसानलाई केन्द्रमा राखेर बनाउन सुझाए, त्यस्तै यो सरकारले देश छाड्न बाध्य युवाको रोजगारीलाई केन्द्रमा राखेर अगाडि बढ्ने हो भने समृद्धि सम्भव छ । अन्त्यमा, धेरै वर्ष भयो, गुरुदत्तको हिन्दी ‘प्यासा’ भन्ने सिनेमा हेरेको । त्यसमा एउटा गीत छ । गीत दसैंको मुखमा ती देशबाहिर जाने युवाको जीवन दर्शनसँग जोडिन्छ र यो तिनकै वाणी हो ।
ये कुचे ये निलाम घर दिलकसी के
ये लुटते हुए, कारवाँ जिन्दगी के
कहाँ है, कहाँ है, मुहाफिज खुदी के
जिन्हे नाज है हिन्द पर वो कहाँ है, कहाँ है, कहाँ है ।
तत्कालीन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले यो गीत सुनेपछि नायक गुरुदत्तसँग रिसाएर ‘दश वर्ष मात्र’ भएको छ, लोकतन्त्र आएको ? मलाई यसरी ‘हेप्नी’ भनी झोक्किएका थिए रे ! तीन दशकभन्दा बढी भयो, लोकतन्त्र आएको नेपालमा । शताब्दी बित्यो, नेपाली काम र मामको खोजीमा भौँतारिएको विदेशमा । कहिले रुक्ला ? ओलीको समृद्धि कहाँ छ, कहाँ छ, कहाँ छ भनी प्रश्न गर्दै छन् युवाहरू ।