Skip This
किन चिसियो हर्क–बालेन सम्बन्ध ?
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज १ बुधबार o७:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

किन चिसियो हर्क–बालेन सम्बन्ध ?

रिसाएका हर्कलाई बालेनले भने– मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार o७:२७:oo

स्थानीय तहको चुनावदेखि नै मिल्दै आइरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको सम्बन्ध चिसिँदो छ । निर्वाचित भएपछि एक–अर्कालाई समर्थन र सहयोग गर्ने उनीहरूबिचको सम्बन्धमा मुख्य फाटो निम्तिएको भने केही दिनअघिदेखि मात्रै हो ।

जेन–जी प्रदर्शनलगत्तै संसद् विघटनपछि नयाँ बन्ने अन्तरिम सरकारमा साम्पाङ प्रधानमन्त्री बन्ने चाहनासहित काठमाडौं आएका थिए । उनलाई प्रधानमन्त्री बन्छु भन्ने ठुलो आशा थियो । उनले सामाजिक सञ्जालमा व्यक्त गरेका स्टाटसले पनि यसलाई पुष्टि गर्छ । २५ भदौमा काठमाडौं आएका उनी २८ भदौमा धरान फर्किए । अन्तरिम सरकार बनाउन नेपाली सेनाले विभिन्न व्यक्तिसँग छलफल गरेको थियो । त्यसमा उनी पनि सामेल थिए । उनले आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने दाबी गर्दै आइरहेका थिए । यो अन्तरिम सरकारमा अर्कैलाई प्रधानमन्त्री बनाउन बालेनले भूमिका खेलेकोप्रति साम्पाङले असन्तुष्टि जनाउँदै आएका थिए । अन्तत: सुशीला कार्की प्रधानमन्त्री बनेपछि उनी आक्रोशित बन्दै बालेनलक्षित टिप्पणी जनाउन थाले । तीन दिनयता साम्पाङले बालेनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गाली गर्दैै सामाजिक सञ्जालमा कैयौँ पोस्ट गरेका छन् । मंगलबार साम्पाङले मेयर बालेनलाई लक्षित गर्दै भनेका छन्, ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन ।’ 

साम्पाङले सोमबार पनि बालेनलक्षित स्टाटस लेखे, ‘को हो त्यो भित्र बसेर खेल्ने ? बरु बाहिरै आएर भिड्न रेडी बन् !’ उनले आफूले नचाहेको पद दिन खोजेको, तर चाहेको पद दिन नखोजेको पनि बताएका छन् । ‘मलाई पदको लोभी भन्नेलाई के थाहा देश दनदनी जलिरहेका वेला, सबै डराएर घरभित्र लुकेर बसेका वेला पाँच सय किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिनु खोजेको हुँ मैले ! खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालय दिँदा पनि छाडेर नलिएको मान्छे हुँ म,’ साम्पाङले सोमबार फेसबुकमा लेखेका छन्, ‘हिजो सिंहदरबारमा आगो लगाइदिन्छु, जलाइदिन्छु भन्ने, साँच्चै जलाइदिने र अहिलेको गृहमन्त्रीबिचमा कुनै सम्बन्ध छ कि संयोग मात्रै हो ।’

पछिल्लो समय आफूप्रति साम्पाङले सामाजिक सञ्जालमार्फत निरन्तर रिस पोखिरहेका वेला बालेन भने शान्त छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत साम्पाङलाई विनम्रता व्यक्त गर्दै स्टाटस लेखेका छन् । ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो, युआर माई ट्रु लभ ।’