१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ९ शुक्रबार
  • Wednesday, 26 June, 2024
जीवन बस्नेत काठमाडौं
२o७७ असोज ९ शुक्रबार o५:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

चिनियाँ नाकामा मेसिन अड्किँदा जलविद्युत् आयोजना ३० महिनासम्म धकेलिने

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज ९ शुक्रबार o५:५७:oo

चीनले नाकामा कडाइ गर्दा नेपालका निर्माणाधीन जलविद्युत् आयोजनामा गम्भीर असर परिरहेको छ । जलविद्युत्का अधिकांश आयोजनाको इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकल कार्यका लागि आवश्यक पर्ने सामान चीनमै रोकिएका छन् । सामान बाटोमै अड्किँदा एकातिर आयोजनाको लागत बढिरहेको छ भने अर्कातिर निर्माण सम्पन्न हुने समय पनि ३० महिनासम्म पछाडि धकेलिएको जलविद्युत् प्रवद्र्धकहरूको भनाइ छ । कतिपय आयोजना निर्माणको जिम्मा लिएका चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिहरू पनि अझै फर्किएका छैनन् । यसले आयोजना सम्पन्न गर्ने समयावधि अनिश्चित बनाएको सान्जेन जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले बताए । 

त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको काम असारदेखि ठप्प छ । गत पुसमै निर्माणमा सक्रिय करिब सयजना चिनियाँँमध्ये ७० जना चीन फर्किएका थिए । पछि १० जना नेपालमा आए पनि बाँकी कामदार र ठेकेदार उतै छन् । आयोजनाका लागि आवश्यक मेसिनरी चीनमै रहेको तथा कामदारको पनि अभावमा काम ठप्प रहेको आयोजानका प्रबन्ध सञ्चालक मोहन गौतमले जानकारी दिए । ‘आयोजनाका लागि आवश्यक मेसिन चीनको वुहानलगायत विभिन्न ठाउँमा रहेका कम्पनीमा तयार भइरहेका छन् । ती सामानलाई ल्याउन सकिएको छैन,’ उनले भने । त्यस्तै, केरुङ नाकामा आएर थन्किएको सामान पनि ल्याउन सकिएको छैन । चालू आवको फागुनमा सम्पन्न गर्नुपर्ने आयोजना १५ महिना लम्बिने देखिएको प्रबन्ध सञ्चालक गौतमले जानकारी दिए । ३७ मेगावाटको आयोजना इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) ठेक्कामा निर्माणाधीन रहेकाले एउटै ठेकेदारले सबै काम गर्नुपर्छ । 

माथिल्लो सान्जेन जलविद्युत् आयोजना (१४.८ मेगावाट) असारमा सम्पन्न हुनुपर्ने थियो । तर, आयोजनाको इलेक्ट्रो मेकानिकल ठेक्का लिएको चिनियाँ कम्पनीका दक्ष जनशक्ति (विज्ञ) र मेसिन इन्स्टल (जडान)सँग सम्बन्धित सामान चीनबाट नआउँदा आयोजना अनिश्चित बनेको छ । यसकारण अझै कति ढिलो हुने हो, निश्चित नभएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले जानकारी दिए । इलेक्ट्रो मेकानिकलसँग सम्बन्धित ५० प्रतिशत निर्माण सामान (इक्विप्मेन्ट) ल्हासामा रोकिएको छ । त्यस्तै, पुसमा नयाँ वर्ष मनाउन गएकोे चिनियाँ टोली अझै फर्किएको छैन । हाइड्रो मेकानिकल र सिभिल निर्माण काम भने क्रमशः ९० र ९५ प्रतिशत सम्पन्न भइसकेको छ । ‘अब सामान र विज्ञ आउन जति ढिला हुन्छ, त्यति नै अवधि ८ महिनामा थपिँदै जान्छ,’ उनले भने । 

सान्जेन जलविद्युत् आयोजना (४२.५ मेगावाट) आयोजना पनि चालू आवमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाअन्तर्गत चिनियाँबाहेक नेपाली र अन्य ठेकेदारले जिम्मा लिएको काम अहिले पनि भइरहेको छ । चिनियाँ कम्पनीले ठेक्का लिएको इलेक्ट्रो मेकानिकल काम भने थालिएको छैन । असोज लाग्दासमेत चिनियाँ ठेकेदार नआएकाले इलेक्ट्रो मेकानिकल काम ढिला भइरहेको छ । माथिल्लो सान्जेनजस्तै तोकिएको समयावधिमा यो आयोजना पनि सम्पन्न नहुने बाटोमा गइरहेको सिइओ श्रेष्ठको भनाइ छ । 

ad
ad
ad
ad