१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ असोज ५ सोमबार १९:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डा. गोविन्द केसी नेपालगन्जमा रोकिए

Read Time : > 1 मिनेट
२०७७ असोज ५ सोमबार १९:४२:००

सत्याग्रहलाई निरन्तरता दिन जुम्लाबाट काठमाडौं हिँडेका डा. गोविन्द केसी नेपालगन्जमा रोकिएका छन् । आठ दिनदेखि जुम्लामा सत्याग्रहमा बसेका डा. केसी सोमबार नेपालगन्ज हुँदै काठमाडौं हिँडेका थिए । 

उनी बुद्ध एयरको नियमित उडानअन्तर्गत ६ असोजको बिहान ११ बजे काठमाडौं जाने भएका छन् । स्वास्थ्यमा समस्या देखिएकाले चिकित्सकको निगरानीमा डा. केसीलाई भेरी अस्पतालमा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । 

आइसियूमा स्वास्थ्यलाभ गरिरहेका डा. केसीको रगतमा चिनीको मात्रा अतिन्यून भएको छ । यसले उनको प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने खतरा चिकित्सकले औँल्याएका छन् । 

जुम्लाबाट समिट एयरमा नेपालगन्ज आएका उनले माग पूरा नभएसम्म सत्याग्रह जारी रहने स्पष्ट पारेका छन् । डा. केसीले विज्ञप्ति जारी गरी जुम्लाबाट सुरु भएको सत्याग्रह काठमाडौंमा पनि जारी रहने बताएका छन् । सोमबार नेपालगन्ज–काठमाडौं उडान नभएपछि डा. केसीलाई भेरी अस्पतालमा राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । 

दुई वर्षअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रहमा रहेकै वेला राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गराएको स्मरण गर्दै केसीले फेरि त्यसै खालको हिंसा र आक्रमण हुन सक्ने देखेर काठमाडौं जान लागेको बताएका छन् । ‘राज्यले हिंसा र आक्रमण गर्न सक्ने लागेर सत्याग्रहलाई निरन्तरता दिने योजनासहित जुम्लाबाट काठमाडौं जान लागेको छु,’ उनले भनेका छन् । 

सत्याग्रह बसेको एक साता बित्दा पनि सरकारले माग पूरा गर्न कुनै पहल नगरेको उनको गुनासो छ । माग पूरा गर्नुको साटो बल प्रयोग गरेर जबर्जस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेको भन्दै उनले आक्रोश पोखेका छन् । 

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजमा पूर्वाधार र जनशक्ति राखेर पठनपाठनको व्यवस्था गर्न माग गरेका छन् । त्यसैगरी, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाउन उनको माग छ । 

मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गरी पिसिआर परीक्षण व्यापक बनाउन र लकडाउन तथा निषेधाज्ञा अन्त्य गर्न पनि उनले माग गरेका छन् । कोभिड तथा अन्य रोगका बिरामीलाई सहज रूपमा उपचार सेवा दिन पनि उनले माग अघि सारेका छन् । डा. केसीले २९ भदौबाट सत्याग्रह सुरु गरेका हुन् ।