मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भारतको जयनगरस्थित रेल स्टेसनमा नेपाली रेल
हदिश खुद्दार जनकपुरधाम
२०७७ असोज २ शुक्रबार ०५:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आज जनकपुर आउँदै नेपाली रेल

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ असोज २ शुक्रबार ०५:००:००

भारतको जयनगरस्थित रेल्वे स्टेसन आइपुगेको नेपाली रेल परीक्षणका लागि जनकपुर आउँदै, कोभिडका कारण सञ्चालनको मिति भने अनिश्चित

सात महिनादेखि भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल बिहीबार जयनगरस्थित रेल्वे स्टेसनमा आइपुगेको छ । परीक्षणका लागि शुक्रबार मध्याह्न जनकपुर आइपुग्ने भएको छ । 

नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो । कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा राखिएका थिए । अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याउन लागिएको हो । बिहीबार जयनगर पुगेको रेल शुक्रबार जनकपुर पुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए । 

बिहीबार रेल नेपाल पुगे पनि फेरि भारत नै फर्किनेछ । सञ्चालन नभएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने रेल्वे कम्पनीले जनाएको छ । त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको छ । न्यारोगेजमा जनकपुर–जयनगर २९ किलोमिटर सञ्चालन हुँदै आएको रेल ०७१ माघदेखि बन्द भएको छ । 

रेल सञ्चालन अझै अनिश्चित
रेलमार्ग र रेल तयार भए पनि तत्काल सञ्चालन नहुने भएको छ । कोरोनाका कारण तत्काल सञ्चालन नगरिने रेल्वे कम्पनीले जनाएको छ । रेल्वे सञ्चालनको तयारी पूरा भएको बताउँदै महाप्रबन्धक भट्टराईले भने, ‘एक महिनाभित्र सञ्चालन गर्न सकिन्छ । तर, नेपाल र भारत क्रसबोर्डर चल्ने भएकाले सञ्चालनमा केही ढिलाइ हुन्छ ।’ कोरोनाका कारण बन्द रहेको नेपाल–भारतको आवागमन खुलेपछि रेल सञ्चालन हुने उनको भनाइ छ । 

जनकपुरदेखि बर्दिबाससम्म भारतको सहयोगमा निर्माण भइरहेको रेलमार्गको पहिलो चरणमा जनकपुर–जयनगरसम्म ३४ किलोमिटर रेल्वे सञ्चालन गर्ने तयारी छ । दोस्रो चरणमा जनकपुर–कुर्थादेखि बिजलपुरासम्म ४६ किलोमिटरमा सञ्चालन गरिनेछ । त्यस क्षेत्रमा भने अहिले रेलमार्ग निर्माण भइरहेको छ  । त्यस्तै, बिजलपुरादेखि बर्दिबाससम्म १७ किलोमिटरसम्म रेल्वे लिकका लागि सर्भे भएको छ भने जग्गा अधिग्रहण प्रक्रिया थालिएको छ । तर, अधिग्रहणमा विवाद हुँदा काम हुन सकेको छैन । 

जनकपुरस्थित रेल्वे विभागका इन्जिनियर विनोद ओझाले कोरोना र जग्गाको मूल्यांकनमा विवाद भएकाले तत्काल मुआब्जा वितरण गर्न नसकिएको बताए । बिजलपुरादेखि बर्दिबाससम्म पाँच सय ६६ वटा कित्ता जग्गाको मुआब्जा तिर्नुपर्नेछ । 

रेल चलाउन भारतीय कर्मचारी
रेलको परीक्षणका लागि चालक दलका चार सदस्यसहित २० जना भारतीय प्राविधिक जनकपुर पुगेका छन् । उनीहरूमध्ये केही रेलसँगै फर्किनेछन् भने केही जनकपुरमै बस्नेछन् । भारतीय प्राविधिक कर्मचारीले नै रेल सञ्चालन गर्नेछन् । जसमा चालक, इन्जिनियर र संकेत देखाउने कर्मचारी छन् । भारतीय कर्मचारी राख्ने विषयमा नेपाल र भारतबीच सम्झौता गर्ने तयारी भइरहेको छ । ‘सम्झौतापत्र भारतीय पक्षले तयार गरिरहेका छन्, त्यसमा दुवै पक्षबीच छलफलपछि सहमति हुनेछ,’ महाप्रबन्धक भट्टराईले भने । 

प्रशासनिक कर्मचारी भने नेपाली राखिनेछन् । कर्मचारी भर्नाका लागि विभिन्न २९ पदमा एक सय २९ जनाको विज्ञापन गरिएको छ । यसअघि रेलचालकसहित २६ जना प्राविधिक कर्मचारी भर्नाका लागि रेल विभागले सूचना प्रकाशित गरेको थियो । त्यसमा एकजनाको पनि दरखास्त परेन । त्यसपछि भारतबाटै प्राविधिक कर्मचारी ल्याउने र उनीहरूकै सहयोगमा नेपालीलाई तालिम दिएर सक्षम बनाउने तयारी गरिएको रेल्वे कम्पनीले जनाएको छ । 

अध्यादेशमार्फत कानुन ल्याएर रेल चलाउने तयारी
रेल जनकपुर पुग्न लागेको भए पनि अहिलेसम्म रेल सञ्चालनसम्बन्धी कानुन बनेको छैन । यससम्बन्धी विधेयक संसद्मा अड्किएको छ । अहिले संसद् नभएकाले अध्यादेशमार्फत कानुन ल्याउन तयारी गरिएको छ । तत्काल अध्यादेशमार्फत कानुन ल्याएर रेल चलाउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन् ।