मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ भदौ ३१ बुधबार १५:३७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्ने कोदारी राजमार्ग

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ भदौ ३१ बुधबार १५:३७:००

भोटेकोसी र बाह्रबिसे क्षेत्रलाई बाढीपहिरोको इपिसेन्टरभन्दा फरक पर्दैन । त्यति मात्रै होइन, तातोपानी नाका भूकम्पको पनि इपिसेन्टर बन्दै गएको छ । 

१९ मानिसको जीवनलीला समाप्त हुने गरी २४ असार मध्यरातमा जम्बु र खागदलमा आएको बाढीपहिरोपछि अबेरसम्म उद्धारकार्य हुन सकेन । 

बाढीपहिरोले कोदारी सडक नै बगाएकोले घाइतेलाई हेलिकोप्टरबाट उद्धार गर्नुपऱ्याे । एक किलोमिटर दूरीमा रहेको स्थानीय सरकार बिहान १० बजे मात्रै त्यहाँ पुग्न सक्यो । 

३१ जनाको ज्यान लिने गरी २८ भदौमा कोदारी राजमार्गभन्दा पारिपट्टिको घनाबस्ती नागपुजेमा भीषण पहिरो गयो । त्यहाँ पनि स्थानीय सरकार र उद्धारका लागि गएका नेपाली सेना र प्रहरी ढिलो पुग्यो । 

कोदारी राजमार्गलाई जताततै पहिरोले थिचेको र बाढीले कटान गरेर छियाछिया पारेकोले सवारीसाधन गुडाउनु ज्यानकै जोखिम मोल्नु हो । त्यसैले विपत् व्यवस्थापनमा जाने सेनाप्रहरी बेलैमा घटनास्थल पुग्न नसकेका हुन् । 

उद्धारमा जाँदा सवारीसाधन गुड्दागुड्दै कहाँ कतिवेला पहिरोले छोप्ने हो निश्चित छैन । सडकको दुरावस्थाले न उद्धारकार्य समयमै गर्न सकियो न त बाढीपहिरोबाट विस्थापितसम्म राहत लान सकिएको छ । 

भोटेकोसीको लार्चा र तातोपानीका विस्थापित परिवारलाई राहत पुऱ्याउन एक हप्ता लाग्यो । बाह्रबिसेबाट तातोपानीको लिपिङसम्म २६ किलोमिटर छ । राहत सामग्री बोकेर राजधानीबाट बिहान बाह्रबिसे आइपुगेका सहयोगी हात सडक देखेर निराश हुने गर्छन् । 

जम्बुबाट नागपुजे पुग्दा पटकपटक गाडी बिग्रिन्छ । पहिरोको जोखिम मोलेर सडकमा गाडी गुडाउँदा बीचैमा मरिएला भन्ने चिन्ता लाग्ने गरेको सवारीचालक बताउँछन् । 

तातोपानी नाकाबाट चीनको खासा पुग्ने यो अन्तर्राष्ट्रिय सडकको अवस्था आजकाल मात्रै यस्तो भएको होइन । 

०७२ को महाभूकम्पअघि जेनतेन चलेको यो सडक त्यसपछि सधैँ बिरामी छ । पटकपटकका परकम्प, भोटेकोसी बाढी र तटीय क्षेत्रबाट लगातार झर्ने पहिरोले सडकलाई धुजाधुजा पारेको हो । 

प्राकृतिक प्रकोपले बिगारेको सडकको डोब खोज्दै सरकारी गाडी बेलाबखत गुडिरहेका हुन्छन् । 

सभामुख तथा यही क्षेत्रका सांसद अग्निप्रसाद सापकोटा, कांग्रेस नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, भन्सार, अध्यागमनका ठूला हाकिम र सडक डिभिजन कार्यालयका इन्जिनियर पटकपटक यो सडकमा सयर गर्छन् । तर, कसैको ध्यान यहाँ जान नसकेको स्थानीयहरूको गुनासो छ । 

‘सडकमा जानु र हिँड्नु जीवनको जोखिम मोल्नु भएकोले गाउँघरका स्थानीय कोदारी राजमार्गमा हम्मेसी निस्कँदैनन्,’ हेली रिसोर्ट होटेल नयाँपुलका सञ्चालक स्थानीय छिरिङ शेर्पाले भने । 

गाउँघरका मानिस बिमारी परेर एम्बुलेन्स बोलाउँदा सडक देखाएर आउनै मान्दैनन् ।  आए पनि बाह्रबिसेसम्म पुग्न पाँच हजार तिर्नुपर्ने अवस्था रहेको उनले सुनाए । गाह्रोसाह्रो पर्दा बाह्रबिसे बजारसम्म पुग्न बोलेरो गाडीले प्रतियात्रु पाँच सय लिने गर्छन् ।   

भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिकालाई बाढीपहिरोसँग जुध्दै ठिक्क छ । अधिकारसम्पन्न स्थानीय सरकारले सबैथोकको व्यवस्थापन गर्ने भरमा परेका अन्य सरकारी कार्यालय र राजनीतिक नेतागणलाई सडकप्रति कुनै चासो छैन । 

बिग्रेको बाटो मर्मतसम्भारको काम सडक डिभिजनको भएकोले स्थानीय सरकारले केही नगरेको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र बाह्रबिसे नगरकी उपमेयर सुशीला पाख्रिन बताउँछिन् । 

भूकम्पपछि करोडौँ खर्चेर चिनियाँ कम्पनी सिआरसिसीले सडक सुधार गऱ्याे । कोदारी सडक दायाँबायाँ निर्माणाधीन जलविद्युत् आयोजना, सडक डिभिजन र स्थानीय सरकारले पनि यो सडकलाई करोडौँ खर्च गरेको बताउँछन् । 

तर, सडकको अवस्था ज्युँकात्युँ छ । बाढी र पहिरोले बाटो बिगारेपछि त्यसैलाई पन्छाउन कराडौँ रकम खर्च भए पनि स्थायी निर्माणका लागि कसैले ध्यान दिएनन् । २५ असारदेखि बन्द तातोपानी नाका तत्कालै खुले पनि सडकको दुरावस्थाले चिनियाँ सामग्री बोकेर आउने नेपाली कन्टेनर जोखिममा पर्ने देखिन्छ । 

स्थायी ढंगले निर्माण नगरी पहिरो पन्छाउन ठूला मेसिनको प्रयोग गर्दा जमिन थर्केर सडकमाथिका बस्ती भासिन थालेका छन् । 

नदीको कटान र पहिरोले सीमा क्षेत्रका अधिकांश बस्ती उच्चजोखिममा परेका हुन् ।