१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
डा. गणेश मण्डल
२o८१ बैशाख २३ आइतबार o८:१o:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

महाव्याधि र महाधिवेशनको मोडेल

पहिलेजस्तो हजारौँ महाधिवेशन प्रतिनिधि एकै ठाउँ भेला भएर महाधिवेशन गर्ने परिस्थिति नभएकाले अधिवेशन गर्ने तरिका हामीले बदल्नुपर्छ

Read Time : > 4 मिनेट
डा. गणेश मण्डल
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:१o:oo

सारा विश्व नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त रहेका वेला आगामी फागुनभित्र महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यताका बीच नेपाली कांग्रेस जबर्जस्ती महाधिवेशनमा होमिन खोज्दै छ । एकातिर संक्रमण दिनानुदिन बढ्दो छ । निषेधाज्ञा, लकडाउनका कारण मुलुकमा खुलाभन्दा बन्द ठाउँ ज्यादा छन् । यस्तो अत्यन्तै संकटपूर्ण घडीमा पनि चौधौँ महाधिवेशन फागुन ७–१० काठमाडौंमा गर्ने निर्णयअनुसार प्रारम्भिक प्रक्रिया सुरु गरिएको छ ।

तर, महामारीका कारण प्रक्रियाले गति भने लिन सकेको छैन । कतिपय जिल्लामा समायोजनकै काम अझै टुंगिएको छैन । कतिपय जिल्लामा क्रियाशील सदस्यता फारामै पुगेको छैन । सदस्यता फाराम पुगेका जिल्लामा पनि बढ्दो संक्रमणका कारण कार्यतालिकाअनुसार सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका काम अघि बढेका छैनन् । तसर्थ, महाधिवेशन निर्धारित तिथिमै हुनेमा आशा कम आशंका ज्यादा छ । तथापि, महाधिवेशनको निर्धारित कार्यतालिका अहिलेसम्म फेरबदल भएको छैन । 

महाधिवेशन मूलतः गम्भीरतापूर्वक पार्टीको अद्यावधिक समीक्षा गर्ने, विगतका कमी कमजोरी औँल्याउँदै तिनको निवारण गर्ने र भावी रणनीति, नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने थलो हो । यसको मुख्य उद्देश्य पार्टीलाई गतिशील तथा चलायमान बनाई राख्नुका साथै समयसापेक्ष नीति, कार्यक्रम, विचारधारा परिमार्जन र परिष्कृत गर्नु हो । तर, दुर्भाग्य ! कांग्रेसको महाधिवेशनमा नीतिभन्दा नेतृत्वकै लागि बहस र विवाद हुने गर्छ ।

आगामी अधिवेशन पनि नेतृत्व चयनमै केन्द्रित हुने र अरू कुरा औपचारिकतामै सीमित हुने अनुमान गर्न सकिन्छ । इतिहासकै कमजोर एवं प्रतिरक्षात्मक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा आगामी महाधिवेशनले कांग्रेसको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अभिभारा बोकेको छ । तसर्थ, महाधिवेशनको मुख्य एजेन्डा एवं कार्यभार नेतृत्व चयन मात्र होइन कि सिद्धान्तको समयसापेक्ष पुनव्र्याख्या गरी स्पष्ट नीतिगत मार्गचित्र पारित गर्ने हुनुपर्छ । यस्तो हुन सकेमा मात्र महाधिवेशनको सार्थकता सिद्ध हुनेछ ।

वर्तमान परिप्रेक्ष्यमा उम्मेदवारी घोषणा गर्ने र आफ्नो स्थिति बलियो भएको दाबी गर्ने प्रतिस्पर्धा र होडबाजी नै चलेको छ । एकातिर बहस नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, रूपान्तरण आदि विषयमा केन्द्रित छ भने अर्कोतिर सिट सुरक्षित गर्न आकांक्षीहरू छिटोभन्दा छिटो आ–आफ्नो पदको घोषणा गर्न तत्पर देखिन्छन् । हाम्रा क्षमतावान् एवं आसलाग्दा युवा नेताहरू पनि यस सन्दर्भमा पृथक छैनन् ।

नीति, सिद्धान्त, कार्यक्रममाथि केन्द्रित हुनुपर्नेमा आ–आफ्नो ठाउँ कसरी सुरक्षित गर्ने भन्नेमै केन्द्रित भएको देखिन्छ । यस्तो किसिमको प्रवृत्ति हरेक तहको नेतृत्व पंक्तिमा विद्यमान एवं बढ्दो छ । उमेर एउटा महत्वपूर्ण फ्याक्टर हो, तर एक मात्र फ्याक्टर होइन । वैज्ञानिक अनुसन्धानअनुसार निश्चित उमेर नाघेपछि मानवले मौलिक चिन्तन गर्न सक्दैन । आफूलाई दोहोर्याएर बस्छ । क्षमता, दृष्टिकोण, चिन्तन, कार्ययोजना, रणनीति, क्रियाशीलताका आधारमा नेतृत्व छनोट हुनुपर्नेमा यस्ता विषय गौण हुने गरेका छन् । 

मुलुकको राजनीतिक अवस्था निराशाजनक छ । झन्डै दुईतिहाइको नेकपाको सरकार जिम्मेवारी वहन गर्न पूर्ण असफल भइरहेको छ । राजनीतिक व्यवस्था परिवर्तन हुनुका साथै तीनवटै तहमा नेकपाको पूर्ण बहुमतको सरकार भए तापनि आमनागरिकको अवस्थामा कुनै सार्थक र सकारात्मक परिवर्तन देखिएन ।

फेरि सरकार सर्वसत्तावादी चरित्रको नांगो प्रदर्शन गर्न पनि पछि परेको छैन । राज्यका हरेक निकायमा सरकारको नांगो हस्तक्षेप छ । अदालतदेखि अख्तियारसम्म सरकारको नियन्त्रणमा देखिन्छ । संवैधानिक निकायदेखि विश्वविद्यालयसम्म नेकपाको कार्यकर्ता भर्तीकेन्द्रमा परिणत भएका छन् । कूटनीतिक सम्बन्ध धरमराएको छ । चिन्ताको विषय त आमनागरिकमा चरम निराशा छ ।

इतिहासकै कमजोर एवं प्रतिरक्षात्मक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा आगामी महाधिवेशनले कांग्रेसको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अभिभारा बोकेको छ । तसर्थ, महाधिवेशनको मुख्य एजेन्डा एवं कार्यभार नेतृत्व चयन मात्र होइन कि सिद्धान्तको समयसापेक्ष पुनव्र्याख्या गरी स्पष्ट नीतिगत मार्गचित्र पारित गर्ने हुनुपर्छ ।

दुर्भाग्यवश ! नेपाली कांग्रेस स्वयंको राजनीतिक हैसियत पनि इतिहासकै सर्वाधिक रूपमा तल झरेको छ । यस पार्टीको देशव्यापी संगठन छ, तर प्रदर्शन निकै कमजोर र निराशाजनक छ । यस्तो गम्भीर परिस्थितिमा पनि नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीले महाधिवेशनमा मात्रै केन्द्रित नभएर महाधिवेशन र प्रतिपक्षी दलको भूमिका सँगसँगै अगाडि बढाउनु पर्छ ।

वर्तमान परिप्रेक्ष्यमा निराशाको बीच आशाको किरण सञ्चार गर्नु र आमजनताको मन जित्नु नेपाली कांग्रेसको सबैभन्दा महत्वपूर्ण उत्तरदायित्व एवं अवसर हो । अबको कांग्रेस नेतृत्वले यी सबै पक्षलाई ध्यानमा राखेर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दृष्टिकोण बनाउनु आवश्यक छ । सम्पूर्ण कांग्रेसजनले यतिवेला गुटगत लेनदेन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विवेकपूर्ण र जिम्मेवारीसहित निर्णय गर्नुपर्छ ।

राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसका मार्गनिर्देशक सिद्धान्त हुन्  । नेपाली कांग्रेसकै नेतृत्वमा ०७२ सालमा जननिर्वाचित संविधानसभाबाट नया संविधान जारी गरेर सात दशक लामो जनचाहना पूरा भयो र ०७४ सालमा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराई संविधानको सफल कार्यान्वयनको सुरुवात भयो । राज्यको पुनर्संरचनासँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली सुरु भएको छ ।

गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता अहिलेका मूलभूत उपलब्धिहरू हुन् । कांग्रेसको मार्गनिर्देशक सिद्धान्त तथा महत्वपूर्ण राजनीतिक उपलब्धिहरूलाई समयसापेक्ष पुनव्र्याख्या, परिमार्जन र परिष्कृत गर्दै जानुपर्छ । युवाको पलायन रोक्न र उनीहरूको शक्ति, सीप, योग्यता, क्षमता आफ्नै देश विकासका निम्ति उपयोग गर्न नेपाली कांग्रेस रोजगारीप्रधान अर्थनीतिको स्पष्ट कार्ययोजना तथा युवालक्षित विशेष कार्यक्रमसहित अगाडि आउनुपर्छ । नेपाली कांग्रेस आफैँले अगाडि सारेको कदमको मर्मअनुरूप समावेशिताको सिद्धान्त उदारतापूर्वक व्यवहारमा लागू गर्नुपर्छ । यसले युवापुस्ता र आममतदातासँग कांग्रेसलाई जोड्न टेवा पुग्छ । 

बिपीले अंगीकार गरेको मौलिक सिद्धान्त त्यागेर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता स्वीकार गरेका कारण नेपाली कांग्रेसको परम्परागत वर्ग आधार कमजोर हुन पुगेको भन्ने विरोधाभासपूर्ण अभिव्यक्ति कतिपय समय र सन्दर्भमा नेतृत्व पंक्तिबाटै पनि आउने गरेको पाइन्छ, जुन सत्य होइन । यथार्थ के हो भने जनभावनाअनुरूप भएको परिवर्तनलाई पूर्ण रूपमा आत्मसात् गर्न नसकेका कारण कांग्रेस कमजोर र अलोकप्रिय भएको हो ।

वर्तमान परिप्रेक्ष्यमा उम्मेदवारी घोषणा गर्ने र आफ्नो स्थिति बलियो भएको दाबी गर्ने प्रतिस्पर्धा र होडबाजी नै चलेको छ । एकातिर बहस नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, रूपान्तरण आदि विषयमा केन्द्रित छन् भने अर्कोतिर सिट सुरक्षित गर्न आकांक्षीहरू छिटोभन्दा छिटो आ–आफ्नो पदको घोषणा गर्न तत्पर देखिन्छन् ।

लोकतन्त्र खतरामा छ र यसमाथि चौतर्फी आक्रमण भइरहेको छ । लोकतन्त्रको सबैभन्दा ठूलो हिमायती दल नेपाली कांग्रेसले आफ्नो सान्दर्भिकता, आवश्यकता र औचित्य पुष्टि गर्न लोकतन्त्रको रक्षाका निम्ति यसका मूलभूत सिद्धान्तहरू आत्मसात् गर्नुपर्छ । वर्तमान परिप्रेक्ष्यमा कांग्रेसभित्रै पनि आन्तरिक लोकतन्त्रको अभ्यासमा निकै ह्रास आएको अनुभूति हुन थालेको छ । सिद्धान्ततः कांग्रेस पार्टी आफूलाई मास–बेस्ड भन्छ, तर व्यवहार र अभ्यास क्याडर–बेस्ड पार्टीको जस्तो छ । क्याडर र लोकतन्त्र परस्पर विरोधी कुरा हुन् । लोकतान्त्रिक पार्टीमा क्याडर आवश्यक हुँदैन । लोकतान्त्रिक पार्टी भनेको सदस्य र समर्थक मतदाताहरूको खुकुलो स्वयंसेवी संरचना हो ।

नेपाली कांग्रेसले स्थापनाकालदेखि अहिलेसम्म राजनीतिक शक्तिको मुख्य केन्द्र तराई–मधेस रहेको दाबी गरिरहेको छ । यसको निरन्तरता तथा मधेस र मधेसीसँग भावनात्मक सम्बन्ध कायम राखिराख्नका निम्ति त्यहाँको मनोविज्ञान र जनभावनालाई सम्बोधन गर्ने किसिमको व्यवहार प्रदर्शन गर्नुका साथै तराई–मधेसकेन्द्रित विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।

बदलिँदो परिस्थितिमा तराई–मधेस मात्र होइन, हिमाल, पहाडलगायत ७७ वटै जिल्लाहरू भोट बैंकको रूपमा परिणत नहुन्जेलसम्म संगठनमा अपेक्षाकृत ऊर्जा आउँदैन । यसका साथै कतिपय महत्वपूर्ण एवं समयसान्दर्भिक मुद्दाहरूमा पार्टीभित्र मत विभाजित हुँदा र पार्टीले स्वामित्व लिनुपर्ने विषयहरूमा पनि स्वामित्व नलिँदा यसले जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्दछ । यस्ता विरोधाभासपूर्ण क्रियाकलापले आमजनतामा एक किसिमको संशय पैदा गर्छ । 

कोरोना भाइरस (कोभिड–१९) महामारीको अन्त्य कहिले हुन्छ भन्ने कुनै निश्चित छैन । इतिहासमा महामारीहरूले चुनौतीका साथसाथै अवसर प्रदान गरेका उदाहरणहरू पनि छन् । नेपालमै पनि संविधान जारी गर्ने वेलामा प्राकृतिक प्रकोपले गर्दा सबै दलहरूको बीच कार्यगत एकताको वातावरण निर्माण भएको स्मृति अझै पनि ताजै छ ।

ठीक त्यसै प्रकार वर्तमान प्रतिकूल परिस्थितिमा यस महामारीलाई अवसरको रूपमा सदुपयोग गर्दै सहमतिबाट नेतृत्व चयन गर्न सकिएमा गुट–उपगुटबीचको अस्वस्थ प्रतिस्पर्धा र गलत अभ्यासबाट आक्रान्त नेपाली कांग्रेसका लागि अत्यन्तै सुखद वातावरण निर्माण हुने थियो । साथै, आगामी निर्वाचन जित्नका लागि पनि यसले ठूलो मद्दत पुर्याउने थियो ।

पहिलेजस्तो देशभरका हजारौँ महाधिवेशन प्रतिनिधि एकै ठाउँमा भेला भएर महाधिवेशन गर्ने स्थिति कोरोना महामारीले गर्दा सम्भव नभएकाले अधिवेशन गर्ने तरिका हामीले बदल्नुपर्छ । महाधिवेशनको मोडालिटी परिवर्तन गर्नुपर्छ । यसर्थ, निर्वाचनको स्वरूप र प्रक्रिया परिवर्तन एवं परिमार्जनको विषयमा बहस छलफल प्रारम्भ गर्न आवश्यक छ । 
(लेखक महासमिति सदस्य एवं संविधानसभा सदस्य हुन्)
 

ad
ad