१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डा. गणेश मण्डल
२०७९ माघ २३ सोमबार ०७:३९:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

निर्वाचन परिणाम र कांग्रेसको मधेस नीति

मधेस बुझेको र संगठन गर्न सक्ने नेता एवं नेतृत्वको अभावमा कांग्रेस र मधेसबीचको परस्पर सम्बन्ध केही खुकुलो हुन थालेको छ

Read Time : > 4 मिनेट
डा. गणेश मण्डल
२०७९ माघ २३ सोमबार ०७:३९:००

नेपालमा स्थापित पार्टीमध्ये परिवर्तनको स्पष्ट दर्शन, सिद्धान्त, विचार, नीति र कार्यक्रमसाथ सबैभन्दा संघर्षशील, परिष्कृत र लामो इतिहास बोकेको लोकतान्त्रिक राजनीतिक पार्टी नेपाली कांग्रेस हो । अहिलेसम्म भएका महत्वपूर्ण राजनीतिक उपलब्धि र परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका खेल्दै आएको सर्वविदितै छ ।

कांग्रेसको सांगठनिक उपस्थिति हिमाल, पहाड, तराई, मधेस सबै ठाउँमा रहेको छ । सत्तारुढ होस् अथवा प्रतिपक्ष, कांग्रेससित आमजनताको ठूलो अपेक्षा रहन्छ । यद्यपि, हाल कांग्रेसभित्र विचार र बहसको सिलसिला हराउँदै जानुका साथै आदर्श र विचारधाराप्रतिको प्रतिबद्धता पनि कमजोर हुँदै गएको छ । आन्तरिक लोकतान्त्रिक अभ्यासमा पनि कमजोरी देखिएको छ । 

नेपालको कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढी बसोवास भएको भूभाग; तराई–मधेसको आफ्नै गौरवशाली क्रान्तिकारी इतिहास र विशेषता छ । नेपालमा भएका क्रान्ति, आन्दोलन र परिवर्तनमा मधेसका जनताले ज्यानको परवाह नगरी महत्वपूर्ण योगदान दिँदै आएका छन् । राष्ट्रियता र लोकतन्त्रको संरक्षक र पहरेदार भएर मधेसका जनताले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन् ।

अन्नभण्डार र कृषि उत्पादनको केन्द्र बनेर मधेसले राष्ट्रिय समृद्धिको आधार खडा गरेको छ । सभ्यता र सांस्कृतिक वैभवको राजधानी बनेर मधेस र मधेसका जनताले देशको इतिहास र पहिचान बनाएका छन् । देशका विभिन्न समुदायको क्रान्ति चेतनामा तीव्र र गहन विस्तार भएको छ ।

तराई–मधेस त झन् राजनीतिक आन्दोलनका लागि उर्वर भूमिका रूपमा देखापरेको छ । पहिचान र स्वाभिमानका सवालमा मधेस कुनै किसिमको सम्झौता गर्न तयार छैन । धोकाधडीपूर्ण राजनीति एवं आत्मसम्मानमाथि चोट पुग्ने खालको कुनै किसिमको सम्झौता मधेसका युवा जमातलाई मान्य र स्वीकार्य छैन । मधेसले राजनीतिमा संरक्षण र बक्सिस नखोजेर  समान अवसर, समुचित स्थान  तथा सम्मानजनक सहभागिता र प्रतिनिधित्व खोजेको छ । खासगरी अहिलेका युवा पुस्ता यसका निम्ति जस्तोसुकै जोखिम उठाउन मानसिक र भौतिक रूपमा तयार छन् । 

स्थापनाकालदेखि नै तराई–मधेस सदैव कांग्रेसको आधार क्षेत्र रहिआएको छ । राणाकालीन समयमा पनि काठमाडौंको सत्ताबाट पीडितका लागि मधेस आश्रयस्थल बनेको थियो । पञ्चायतकालीन समयमा पनि कांग्रेसले अन्यत्रभन्दा मधेसमै बढी सहयोग र सद्भाव पाएको थियो । यहाँको सामाजिक–सांस्कृतिक–राजनीतिक जीवनको एक अभिन्न अंगका रूपमा पनि कांग्रेसलाई स्विकारिँदै आएको छ । यस पार्टीको संगठन, संरक्षण र प्रवद्र्धनमा तराई–मधेसका राजनीतिक कार्यकर्ताको महत्वपूर्ण भूमिका रहिआएको छ । यद्यपि, हाल परिस्थिति अलि भिन्न देखिएको छ ।

कांग्रेस र मधेसबीचको परस्पर सम्बन्ध केही खुकुलो हुन थालेको अनुभूति हुन्छ । मधेस बुझेको र संगठन गर्न सक्ने नेता एवं नेतृत्वको अभाव महसुस हुन थालेको छ । अघिल्लो संसद्मा नागरिकताजस्तो संवेदनशील विषयमा पनि केन्द्रीय समितिमा मतविभाजन हुँदा र विगतमा आफैँले संसद्मा पेस गरेको संविधान संशोधनजस्तो महत्वपूर्ण विधेयकको स्वामित्वसम्म लिन पनि कांग्रेस संसदीय दलले कुनै उत्सुकता न देखाउँदा जनमानसमा नकारात्मक सन्देश गएको छ । नेतृत्व वर्गले यस्ता विषयमा ध्यान पुर्‍याउन र समुचित सम्बोधन गर्न आवश्यक हुन्छ ।

पछिल्लो समय कांग्रेसप्रति युवाको आकर्षणमा उल्लेख्य कमी आएको छ । यसको प्रतिशत मधेसमा अझ बढी छ । यसलाई सम्बोधन गर्न पार्टीले युवालक्षित विशेष कार्यक्रम ल्याउन सक्नुपथ्र्यो । तर, यसप्रति पार्टी नेतृत्वको न्यायोचित ध्यान गएको देखिएन ।
 

०१५ को आमनिर्वाचनदेखि नै मधेसका मतदाताले कांग्रेसलाई सम्मानजनक मत दिँदै आएका छन् । मधेसमा बलियो देखिएको वेला कांग्रेस देशैभरि बलियो देखिने र मधेसमा कमजोर परिणाम आउँदा देशैभरि कमजोर देखिने गरेको इतिहास छ । भर्खरै सम्पन्न आमनिर्वाचनमा पाँचदलीय गठबन्धन गर्दा पनि कांग्रेसका पक्षमा अपेक्षाकृत चुनाव परिणाम आउन सकेन । प्रत्यक्षतर्फ सिट संख्या केही बढे पनि समानुपातिकतर्फ संघीय संसद्मा ०७४ को आमनिर्वाचनको तुलनामा आठ सिट घट्यो भने, लोकप्रिय मत सात प्रतिशतले घट्यो । जब कि पार्टीको जनाधार जान्ने मुख्य आधार भनेकै पार्टीले निर्वाचनमा प्राप्त गर्ने लोकप्रिय मत नै हो ।

कांग्रेसको आधार क्षेत्र रहँदै आएको तराई–मधेसमा यसपालि पनि सुखद परिणाम आएन । प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई–मधेसका जिल्लामा निर्वाचन परिणाम अपेक्षाकृत कमजोर नै रह्यो । मधेस प्रदेशको आठ जिल्लामध्ये तीन जिल्ला सिराहा, सर्लाही र बारामा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा कांग्रेसको सिट शून्य नै रह्यो भने समग्रमा जम्मा सात सिट मात्र जित्न सफल रह्यो । ०७४ को आमनिर्वाचनमा मधेसकेन्द्रित दल (तत्कालीन संघीय समाजवादी फोरम र राजपा)बीचको गठबन्धन र दुई ठूला कम्युनिस्ट पार्टी (एमाले र माओवादी)बीचको गठबन्धनविरुद्ध कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्दा पनि ६ सिट जितेको थियो । 

अध्ययन वा रोजगारीको सिलसिलामा ठूलो संख्यामा युवा बिदेसिने क्रम जारी छ । दक्ष शैक्षिक जनशक्ति विकसित देशमा पलायन भइरहेको छ भने अदक्ष युवाशक्ति वैदेशिक रोजगारका क्रममा प्रायः खाडी मुलुकमा कार्यरत छन् । मधेसबाट वैदेशिक रोजगारीमा जाने युवा प्रायः अदक्ष छन् । यसले उनीहरूको कार्यक्षमता कमजोर बन्नुका साथै उनीहरूको आम्दानीमा पनि धेरै असर गरिरहेको छ । 

मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा 
रेमिट्यान्स (विप्रेषण)ले धानेको छ । तर, रेमिट्यान्सले धानेको अर्थतन्त्रलाई सबल र दिगो मानिँदैन । नेपालको सन्दर्भमा रेमिट्यान्स (विप्रेषण)को ठूलो हिस्सा नेपाली उत्पादनभन्दा बाहिरका उपभोग्य वस्तुको उपभोगमा खर्च हुने देखिन्छ । तसर्थ, रेमिट्यान्समा आधारित अर्थतन्त्र दीर्घकालीन रूपमा मुलुकको हितमा हुँदैन ।

युवा पलायन रोक्नु र उनीहरूको शक्ति, ऊर्जा, सीप, योग्यता, क्षमता, दक्षता, प्रतिभा आफ्नै देश विकासका निम्ति उपयोग गर्नुको सट्टा जिम्मेदार व्यक्तिहरूले नै आफ्नो क्षणिक स्वार्थपूर्तिका निम्ति उनीहरूलाई विभिन्न प्रलोभन दिएर मुलुकबाहिर जान प्रोत्साहित गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण कार्य हो । युवाको विदेश पलायनका कारण देश विकासमा नकारात्मक असर पर्नुका साथै विद्यमान सामाजिक संरचना ध्वस्त भइरहेको छ । यसको समाधान र सम्बोधनका लागि नेपालमा रोजगारीप्रधान र आत्मनिर्भर अर्थनीति आवश्यक छ । यसका निम्ति कांग्रेस स्पष्ट कार्ययोजनासहति अगाडि आउनुपर्छ । 

युवाहरू परिवर्तन र रूपान्तरणका संवाहक हुन् । कुनै पनि सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक परिवर्तन र रूपान्तरणका लागि युवाको भूमिका एवं सक्रिय सहभागिता अपरिहार्य हुन्छ । युवाको जोश र जाँगरमा नाटकीय रूपमा ह्रास आउनुका साथै उनीहरूमा अलमल, दिशाहीनता र लहडीपन देखिन्छ । युवाको व्यापक र सक्रिय सहभागिताविना कुनै पनि संगठनले गति लिन कठिन हुन्छ । कांग्रेसप्रति युवाको आकर्षणमा उल्लेख्य कमी आएको छ । यसको प्रतिशत मधेसमा अझ बढी छ । यसलाई सम्बोधन गर्न पार्टीले युवालक्षित विशेष कार्यक्रम ल्याउन सक्नुपथ्र्यो । तर, यसप्रति पार्टी नेतृत्वपंक्तिको न्यायोचित ध्यान नजानु दुःखद हो ।  

संघीय राज्य व्यवस्था र आरक्षण (कदमजम)को विषय नेपाली कांग्रेसले विधिवत् रूपमा अनुमोदन गरेको यथार्थ हामीसामु हुँदाहुँदै पनि संघीयता र समानुपातिक समावेशी प्रणालीको गलत अभ्यास एवं प्रयोगविरुद्ध चर्को आवाज उठाउनुको सट्टा कांग्रेस आफैँ गलत अभ्यासमा सामेल हुनु चिन्ताजनक विषय हो । मधेसी, महिला, खस–आर्य, आदिवासी–जनजाति, दलित, मुस्लिम, थारू क्लस्टरअन्तर्गत सीमित व्यक्ति र निश्चित जातको हालीमुहाली छ । आरक्षणले क्लस्टरभित्रका सम्पूर्ण उत्पीडित वर्ग र समुदायलाई प्रतिनिधित्व र सम्बोधन गर्नुपर्नेमा त्यसअन्तर्गतका वर्चस्वशालीको विशेषाधिकारजस्तो भएको छ ।

कांग्रेसजस्तो लोकतान्त्रिक सांगठानिक संरचना र चरित्र भएको पार्टीमा फरक विचारको सम्मान गर्नुपर्नेमा उल्टो फरक मत राख्नेलाई निशाना बनाइनु र निरुत्साहित गरिनु अत्यन्तै दुःखद विषय हो । निर्वाचनमा टिकट वितरणको मापदण्ड बनाइन्छ, तर लागू गरिँदैन । पार्टीभित्र गलत प्रवृत्तिका मानिस हाबी हुँदै गइरहेका छन् भने, दुःख पाएका, संघर्षशील, लोकप्रिय, योग्य, क्षमतावान् कार्यकर्ता निरुत्साहित भइरहेका छन् र पाखा लगाइँदै छन् । यी र यस्ता बेथितिका कारण आमकांग्रेसजनमा एकप्रकारको वितृष्णा सिर्जना भएको छ भने नयाँ पुस्तामा पार्टीप्रति कुनै आकर्षण छैन र कांग्रेस पार्टीभित्र आफ्नो भविष्य सुनिश्चित हुनेमा उनीहरू विश्वस्त छैनन् । 

लोकतान्त्रिक संस्कार र संगठन भएको पार्टी जनताको भावनाबाट सजिलै तरंगित हुन सक्नुपर्छ । महत्वपूर्ण, समय सान्दर्भिक तथा जनसरोकारका विषयमा पार्टीले स्वामित्व लिएर अगाडि बढ्नुपर्ने हुन्छ । भाषा, नागरिकता, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको गठन आदि माग र मुद्दा, जसमा आधारित भएर मधेस आन्दोलन भयो । कांग्रेसका प्रमुख संस्थापक एवं सिद्धान्तकार बिपी कोइरालाले २०३७ सालमै तत्कालीन राजा वीरेन्द्रद्वारा संविधानको तेस्रो संशोधनका लागि गठित संविधान सुधार सुझाव आयोगसमक्ष यिनै विषय पेस गर्नुभएको थियो । हालका वर्षमा कांग्रेसले बिपीको रणनीतिक सोच, दूरदर्शिता र मार्गदर्शनलाई समेत गम्भीरतापूर्वक लिएको देखिँदैन । 

कांग्रेसको सम्पूर्ण राष्ट्र र खासगरी मधेसप्रति ठूलो जिम्मेवारी रहिआएको छ । वर्तमान अवस्थामा मधेस सम्बोधन कांग्रेसका निम्ति निकै महत्वपूर्ण मुद्दा हो । कांग्रेस सदैव मधेसको राजनीति र मागप्रति सकारात्मक, जिम्मेवार, संवेदनशील र अग्रसर रहनुपर्छ । कांग्रेसले मधेसी जनसमुदायलाई आफ्नो मधेसप्रतिको स्पष्ट दृष्टिकोण र विचारधाराबाट चित्त बुझाउन सक्नुपर्छ ।

तराई–मधेसका जनताको लोकतान्त्रिक अधिकार, फराकिलो प्रतिनिधित्व, राज्यका संरचनामा सहज पहुँच, भाषा–संस्कृतिको संरक्षण र संवद्र्धनसँगै रोजगारी, सडक, सिँचाइ, विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्रलगायत आर्थिक विकासका मुद्दालाई सम्बोधन गर्नका निम्ति कांग्रेसले अग्रसरता लिनुपर्छ । कांग्रेसजस्ता लोकतान्त्रिक पार्टीले सूक्ष्म विश्लेषण गरेर यस्ता विषय नीति र कार्यक्रममा सामावेश गर्नु आवश्यक छ । अब मधेसलाई अशान्त र सामाजिक मतभेदको केन्द्र बन्न दिनुहुँदैन भन्ने संकल्पका साथ कांग्रेस अगाडि बढ्नुपर्छ । 

(डा. मण्डल संविधानसभा सदस्य हुन्)