मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुख्य समाचार डिजिटल संस्करण

नोबेल अस्पतालले सुकुम्बासी दलितको शव घर पुऱ्याइदियो, परिवारले गरे दाहसंस्कार

Read Time : > 1 मिनेट
२०७७ भदौ २३ मंगलबार १३:२४:००

उपचारबापतको ११ लाख रुपैयाँ शुल्क तिर्न नसकेको भन्दै मृत्यु भएका दलित सकुम्बासी वृद्धको शव दाहसंस्कार गर्न नदिएको घटना सार्वजनिक भएपछि नोबेल अस्पतालले आफ्नै एम्बुलेसन्मा खालेर मृतकको शव आफन्तलाई घरमा नै जिम्मा लगाएको छ ।

नयाँ पत्रिका दैनिकले यसबारेको विस्तृत समाचार आफ्नो समाचार पोर्टलमा २१ भदौमा 'समाजवादउन्मुख देशमा उपचार खर्च तिर्न नसक्दा गरिबका शव अस्पतालमा थन्किन्छन्, आफन्त दाहसंस्कारको बिन्ती गर्दै यसरी भौँतारिन्छन्' शीर्षकमा प्राथमिकता साथ प्रकाशन गरेको थियो । 

उपचारको क्रममा १९ भदौमा मृत्यु भएका सप्तरी महुली गाउँपालिका– ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्कीको शव विराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले सोमबार राति आफ्नै एम्बुलेन्समा राखेर  घरमै पुऱ्याएर परिवारलाई  जिम्मा लगाएको  हो । 

नयाँ पत्रिकामा समाचार सार्वजनिक भएपछि दबाबमा परेको नोबेल अस्पतालले जेठा छोरा नवीनलाई सोमबार राति एक्कासि ११ बजे फोन गरेर बुबाको शव बुझ्न लगाएर आफ्नै एम्बुलेन्समा खालेर घर पुऱ्याइदिएको हो । 

पैसा तिर्न नसकेपछि अस्पतालको मर्चरीमा अलपत्र परेको शव अस्पतालले घरमै ल्याएर जिम्मा लगाइदिएपछि मंगलबार बिहान आफन्तले विधिअनुसार दाहसंस्कार गरेका छन् । जेठा छोरा नवीनले नयाँ पत्रिकासँग भने, ‘बुबाको मृत्यु भएको पाँच दिनमा बल्ल आज दाहसंस्कार गरेर  काजकिरियामा बस्न पायौँ  ।’  

उच्च रक्तचापले थलिएका दलित समुदायका सुकुम्बासी वृद्ध सनमन ५ चैत ०७६ मा उपचारका लागि नोबेलमा भर्ना भएका थिए । उनलाई २५ दिन आइसियूमा र चार दिन भेन्टिलेटरमा पनि राखेर उपचार गरिएको थियो ।   

तर, उपचारक्रै क्रममा उनको १९ भदौ ०७७ मा मृत्यु भएको थियो । अस्पताल प्रशासनको पाँच लाख र औषधि पसलको ६ लाख रुपैयाँ तिर्न नसकेको भन्दै परिवारलाई शव लान दिइएको थिएन । धरौटी राख्ने जायजेथा पनि केही नभएकोले शव बुझ्न पाएका थिएनन् ।  

नोबेल अस्पताल प्रशासनले पैसा अभावमा कसैलाई पनि उपचारबाट वञ्चित हुन नदिन सकुम्बासी वृद्धको पाँच महिनासम्म निरन्तर उपचार गरिदिएको र पैसा तिर्न सक्ने अवस्था नभएको बुझेपछि सबै खर्च आफूले नै व्यहोरेर शव दाहसंस्कारका लागि जिम्मा लगाएको दाबी गरेको छ । 

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले भने, ‘पैसा अभावमा उपचारबाट वञ्चित गराउने र जबर्जस्ती पैसा असुल्ने नोबेलेको नीति नै छैन, समस्या जानकारीमा आएपछि अध्यक्षले सबै खर्च मिनाहा गरिदिएपछि आफैँले शव घरमा लगेर जिम्मा लगाइदिएका हौँ ।’