१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ११ बिहीबार १४:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मंगलादेवीलाई नेपाल रत्न विभूषण दिन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ११ बिहीबार १४:०६:००

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नेपाली महिला आन्दोलनका अग्रज तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ मंगलादेवी सिंहलाई नेपाल रत्न विभूषण दिन अपिल गरेको छ । प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले बिहीबार एक विज्ञप्तिमार्फत नेपाली महिला आन्दोलनका प्रणेता एवं प्रजातान्त्रिक आन्दोलनका अग्रणी  सिंहलाई नेपाल रत्नबाट सुशोभित गर्नु राज्य र नागरिकको पनि दायित्व भएको उल्लेख गरे । 

नेतृ सिंहले  प्रजातन्त्र स्थापनार्थ तथा नेपाली महिलाको हक र अधिकारको निमित्त गरिएका आन्दोलनमा अतुलनीय योगदान पुऱ्याएकी थिइन् । ‘महिलाहरूलाई घरभित्रको कामकाजमा सीमित गरी शिक्षा, स्वास्थ्य, स्वनिर्णयजस्ता आधारभूत मानवअधिकारबाट समेत वञ्चित गर्ने सामाजिक प्रचलन रहेको र राजनीतिमा महिला सहभागिता लगभग शून्य रहेको समयमा महिलाले भोट हाल्न र पढ्न पाउनुपर्ने अधिकारका लागि आवाज उठाउने नेतृ सिंह नेपाली महिला अधिकार आन्दोलनकी रत्न हुनुहुन्छ भन्ने कुरामा कुनै दुईमत छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंको सम्पन्न परिवारकी छोरी र बुहारी हुँदाहुँदै पनि प्रजातन्त्र र नारी स्वतन्त्रताको निमित्त सिंहले खेप्नुभएको दुःखकष्ट सबैका लागि प्रेरणादायी छ । वि.सं. २००७ को क्रान्तिदेखि २०४६ सालको जनआन्दोलनसम्म उनको अविच्छिन्न प्रेरणादायी भूमिका रहेको प्रतिष्ठानले जनाएको छ ।

नारी–पुरुष एक–अर्काको पूरक हुन्, नारी स्वतन्त्रता भनेको घरगृहस्थी बिगार्नु होइन, बरु यो त कर्तव्यबोध पनि हो, महिलाले स्वतन्त्र रूपले व्यक्तित्व विकास गर्ने अवसर पाउनुपर्दछ भन्ने मान्यता राख्ने नेतृ सिंह नेपाल महिला संघका पहिलो अध्यक्ष हुन् ।

सिंहले विवाह भएको चार महिनामा नै आफ्ना पति गणेशमान सिंहलाई जन्मकैद भएको घटना सहेकी थिइन् । सो घटनाले उनलाई  हतास बनाएन, बरु  विद्रोही आन्दोलनमा सक्रियताका साथ लाग्न प्रेरणासमेत दियो । रासस