१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १४ बुधबार २०:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेवलाई पछि हट्न निकट नेताहरूको सुझाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १४ बुधबार २०:५५:००

नेकपाका उपाध्यक्ष वामदेव गौतमले सहमतिका लागि अगाडि सारेको ६बुँदे प्रस्तावले अहिलेको अन्तरविरोध समाधान नगर्ने भन्दै निकट नेताहरूले ‘ब्याक’ हट्न सुझाब दिएका छन् । बुधबार गौतमनिवास पुगेर केन्द्रीय सदस्यहरू ठाकुर गैरे, रामकुमारी झाँक्री, डा. दीपकप्रकाश भट्ट, रविन कोइराला, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धरलगायतका तेस्रो तहका युवा नेताहरूले ६बुँदे प्रस्तावले अहिलेको अन्तरविरोध समाधान नगर्ने भन्दै ‘ब्याक’ हट्न सुझाब दिएका हुन् ।

‘हामी सबै पार्टी एकता बचाउनुपर्छ र तपाईंले त्यसमा महत्वपूर्ण योगदान पुऱ्याउनुहोस् भन्ने चाहान्छौँ, तर तपाईंले मंगलबार ६बुँदे सहमतिको प्रस्ताव भनेर जे पेस गर्नुभयो, त्यसले अहिले उठिरहेका नीति, विधि र प्रक्रियाका मुद्दा सम्बोधन हुने गरी अन्तरविरोध पनि समाधान गर्दैन, सबैलाई विन–विन (सम्मानजनक) अवतरण गर्नका लागि स्पेस पनि दिँदैन,’ भेटमा सहभागी एक नेताले नयाँ पत्रिकासँग भने । 

गौतमले भने विगतमा प्रधानमन्त्री ओलीलाई साथ दिएर धेरै गल्ती गरेको अनुभूति भए पनि पार्टी विभाजन रोक्ने उद्देश्यले बाध्य भएर त्यस्तो प्रस्ताव सारेको जवाफ फर्काएका थिए । ‘विगतमा केपीजीलाई साथ दिएर मैले जे गरेँ, त्यो ज्यादै गलत कदम थियो । तर, अहिलेको परिस्थितिमा पार्टी विभाजन रोक्नैपर्ने अवस्था देखिएकाले प्रस्ताव अघि सारेको हुँ,’ गौतमको जवाफ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘प्रस्तावका विषयमा सचिवालय र स्थायी कमिटी बैठकमा छलफल होला, तर मलाई अहिलेका लागि त्यही ६ बुँदा नै उपयुक्त तरिका हो भन्ने लाग्यो, त्यसैले अब ब्याक हुन्नँ ।’ 

प्रचण्ड–नेपाल समूहका बहुमत स्थायी कमिटी सदस्यहरूको मंगलबारको बालुवाटार बैठकमा गौतमले प्रस्तुत गरेको ६बुँदे प्रस्तावमा प्रधानमन्त्री र अध्यक्षमा ओलीलाई निरन्तरता दिने उल्लेख छ । त्यस्तै, प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा काम गर्ने र पार्टी सचिवालयको परामर्श र निर्णयअनुसार सरकारले महत्वपूर्ण निर्णय गर्नेलगायतका विषय समेटिएका छन् । 

उच्च स्रोतका अनुसार गौतमले एक साताअघि नै वक्तव्य जारी गरेर सहमतिको प्रस्ताव सार्ने तयारी गरेका थिए । त्यसपछि उनी खुमलटारमा हुने प्रचण्डनिकट सचिवालयका नेताहरूसँगको सामूहिक छलफलमा सहभागी हुन छाडेका थिए । यसबारेमा वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत भेटेरै उनले जानकारी गराएका थिए । 

तर, तीन दिनअघि प्रचण्डसँग दुई घन्टा वार्ता गरेर आफू त्यस्तो प्रस्तावबाट ‘ब्याक’ भएको जानकारी गराएपछि गौतमको साथ रहनेमा प्रचण्ड–नेपाल समूह आशावादी थियो । यद्यपि, मंगलबार भने उही प्रस्ताव सार्वजनिक गरेर गौतमले आफू अन्ततः प्रधानमन्त्री ओलीलाई साथ दिन तयार रहेको स्पष्ट पारेका छन् ।