१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १६ मंगलबार १३:४८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्ति : स्वास्थ्यमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १६ मंगलबार १३:४८:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिलेसम्म संक्रमण देखिएकामा ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरू रहेको बताएका छन् । 

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउन्डेसनले सहयोगस्वरूप उपलब्ध गराएका स्वास्थ्य सामग्री बुझ्दै उनले हालसम्म संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको बताएका हुन् । 

मन्त्री ढकालले दैनिक १० हजार पिसिआर परीक्षण गर्ने गरी ल्याबहरूको विस्तार गर्न लागेकोसमेत जानकारी दिए । अहिले देशभर २२ वटा पिसिआर ल्याबबाट दैनिक सात हजार सात सय ९१ जनाको परीक्षण सम्भव भएको र अबको केही दिनभित्र देशभर ३३ वटा ल्याब पुऱ्याई दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको उनले बताए । 

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउन्डेसनले सातवटा भेन्टिलेटरसहित गगल्स तीन सय थान, सर्जिकल मास्क एक हजार एक सय ५० थान, डिस्पोजेबल कभर पाँच सय ५० थान, ग्लोब्स २० हजार थान, बुट चार सय ५० थान, स्यानिटाइजर दुई सय ५० वटा, सोडियम हाइड्रोक्लोराइड पाँच लिटरको चार सय ५० ग्यालेन र साबुन १५ हजार पिस सहयोगस्वरूप उपलब्ध गराएको हो ।

एक करोड ५७ लाख रुपैयाँबराबरको यी स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेडक्रसले जनाएको छ । आज पहिलो चरणमा केही मास्क, स्यानिटाइजर, साबुन, गगल्सलगायतका सामग्री उपलब्ध गराएको हो । भेन्टिलेटर भने दोस्रो चरणमा उपलब्ध गराउने रेडक्रसले जनाएको छ । 

रेडक्रस सोसाइटी र कोकाकोला फाउन्डेसनले अप्ठ्यारो अवस्थामा बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको ढकालले बताए ।