१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एन्जेला आर. राइली / सोनिया के. कत्याल
२०७७ असार १५ सोमबार ०९:४७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

व्यावसायिक ब्रान्डले बोक्ने नश्लवाद त्यागिनुपर्छ

Read Time : > 2 मिनेट
एन्जेला आर. राइली / सोनिया के. कत्याल
२०७७ असार १५ सोमबार ०९:४७:००

‘ब्ल्याक लाइभ्स म्याटर’ नाममा भएका ठुल्ठूला प्रदर्शनपछि कैयौँ ब्रान्डले आफ्ना विज्ञापनका हानिकारक नश्लवादी विचारमा ध्यान दिन थालेका छन् । एक महत्वपूर्ण घटनाक्रम ‘क्वाकर ओट्स’ले उसको १३१ वर्षदेखिको ब्रान्ड ‘अन्ट जेमिमा’को नाम नै बदल्ने घोषणा गर्‍यो । कम्पनीले ‘नश्लीय समानताको उद्देश्यमा अघि बढ्न’ आवश्यक रहेकाले यो कदम उठाएको बताएको छ । यस ब्रान्डले लामो समयदेखि दासकालीन अमेरिकाको विचारलाई उपयोग गरेर पैसा कमाइरहेको थियो ।

कम्पनीले ‘अन्ट जेमिमा’ ब्रान्डमा रहेको पात्रको तस्बिर निर्माणका लागि वास्तविक पूर्वदासीलाई प्रयोग गर्ने हदसम्मको काम गरेको थियो । सन् १८९३ मा सिकागोमा सम्पन्न विश्व मेलाको समयमा ब्रान्डले इतिहासमा पहिलोपटक ट्रेडमार्क निर्माणका लागि जीवित व्यक्ति प्रयोग गरेको थियो । 

क्वाकरको घोषणाको एक दिनपछि नै ‘मार्स कर्पाेरेसन’ले पनि उस्तै कदम चाल्यो । कर्पाेरेसनले ‘पछिल्ला घटनाहरूलाई मध्यनजर गर्दै’ उसको ‘अंकल बेन’ नामक चामल उत्पादनमा ‘परिवर्तन’ गरिने घोषणा गर्‍यो । मिसेस बटरवर्थ कम्पनीले समेत उसको चर्चित ‘प्यानकेक सिरप’ र त्यसको बोटल (जुन अश्वेत महिलाको आकारमा छ) लाई पूर्ण रूपमा बदल्ने निर्णय गरेको छ । यी कदम हेर्दा कम्पनीहरूले अमेरिकामा प्रसारण हुने तिनका विज्ञापनका पीडादायी इतिहासलाई सुधार्ने प्रयास गरिरहेको देखिन्छ । धेरै कम्पनीले लामो समयदेखि आफ्ना उत्पादनको बिक्रीका लागि नश्लीय स्टेरियोटाइप प्रयोग गर्दै आएका छन् । तर, केही दशकदेखि विज्ञापनमा देखिने नश्लीय स्टेरियोटाइपको विरोध बिस्तारै बलियो हँुदै गएको छ ।

कैयौँ अमेरिकी कम्पनी तथा खेलकुद टिम आफ्ना नश्लवादी विज्ञापनको इतिहास सुधार्ने प्रयास गरिरहेका छन्, तर अझै सबैको त्यसतर्फ ध्यान गएको छैन 

सन् २००५ मा नेसनल कलेजियट एथलेटिक एसोसिएसनले आफूले आयोजना गर्ने प्रतियोगिताहरूमा सहभागीहरूले प्रयोग गर्ने प्रतीक, उपनाम वा तस्बिरले कुनै नश्ल, जाति वा राष्ट्रप्रति अपमान गर्न नहुने प्रावधान ल्याउने बतायो । यस निर्णयले अमेरिकाभरका धेरै विद्यालयलाई पुराना लोगो बदल्न बाध्य बनाएको थियो । सन् २०१८ मा मेजर लिग बेसबलले उसको एक सदस्य क्लिभल्यान्ड इन्डियन्सले आगामी दिनमा आदिवासी अमेरिकीको प्रतीक समेटेको सामग्री मैदानमा देखाउन बन्द गर्ने घोषणा गर्‍यो । (तर क्लिभल्यान्ड इन्डियन्सले अझै पनि सुभरिन पसलमा बेच्न राखेको सामग्रीमा भने आदिवासी समेटेको लोगो कायम राखेको छ ।) अप्रिलमा ल्यान्ड ओ’लेक कम्पनीले उसका उत्पादनहरूमा रहेका आदिवासी अमेरिकी महिलाको तस्बिरलाई अन्ततः प्रयोगमा नल्याउने घोषणा गर्‍यो । 

यी परिवर्तनले अमेरिका र विशेष रूपमा अमेरिकी बजारबारेमा के बताउँछ ? हामीलाई के लाग्छ भने आगामी दिनमा यसले थप ब्रान्डलाई परिवर्तनका लागि प्रेरित गर्नेछ । अब ब्रान्डहरू पनि सामाजिक आन्दोलन र अभियानभन्दा अलग रहन सक्दैनन् । भावी सफलताका लागि ब्रान्ड आफँै पनि परिवर्तित हुनुपर्छ । ब्रान्डले या त आफूलाई रिब्रान्ड गर्नुपर्छ अन्यथा तिनले गम्भीर आलोचनाका लागि तयार रहनुपर्छ ।

राजनीतिज्ञले समेत यी परिवर्तनमा समर्थन जनाउन थालेका छन् । जस्तो– वासिंटनका मेयर मुरियल बोउजरले राजनीतिज्ञ, खेलाडी र अभियन्ताको आवाजमा आवाज मिलाएर नाम परिवर्तनप्रति समर्थन जनाएकी छिन् । तर, तमाम यी विरोधका बाबजुद कैयौँ ब्रान्डले आदिवासीप्रति गर्ने आफ्ना निर्णयको भने प्रतिरक्षा गरिरहेका छन् । ती कम्पनी आफूले प्रतीक प्रयोग गरेर कुनै नश्लीय विभेद नगरेको, बरु सम्मान दिएको तर्क गरिरहेका छन् । तर, आदिवासी अमेरिकीहरूको भूमि हननको बृहत् इतिहासलाई हेर्ने हो भने फरक तथ्य बाहिर आउँछ । 

युरोपबाट पछि आएका गोराहरूले अमेरिकी आदिवासीलाई निडर, जंगली लडाकुका रूपमा प्रस्तुत गरी तीविरुद्धको युद्ध र जातीय सफायालाई सही ठहर्‍याउने प्रयास गरेको इतिहास पाइन्छ । आदिवासीहरूलाई पन्छाएपछि गैरआदिवासीले तिनको जमिन मात्रै हडपेनन्, तिनका संस्कृति र पहिचानलाई समेत आफ्नो व्यापारका लागि निर्बाध प्रयोग गरे । ‘प्लेइङ इन्डियन’ नामक पुस्तकमा हार्वार्डका इतिहासकार फिल डेलोरियाले पछि आएका युरोपेलीले आदिवासी अमेरिकीहरूको संस्कृति र पहिचानलाई शताब्दीऔँदेखि प्रयोग गरेर आफ्नो पहिचान विकास गर्न खोजेको लेखेका छन् । वर्षौं वर्षदेखि अमेरिकीहरू ‘काउबोई र इन्डियन’ खेल्दै हुर्किरहेका छन् । त्यस्तै खेलकुद प्रतीक र अन्य अनगिन्ती रोमान्टिक कथ्यमार्फत गैरआदिवासी अमेरिकीले आदिवासी संस्कृतिलाई आफ्नैजसरी प्रस्तुत गर्ने प्रयास जारी राखेका छन् । 

तर ‘ब्ल्याक लाइभ्स म्याटर’ले अश्वेत अमेरिकीको संस्कृतिलाई स्टेरियोटाइप गर्ने ब्रान्डहरू पछि हटे पनि आदिवासी अमेरिकी प्रतीकलाई नश्लीय रूपमा प्रयोग गर्ने ब्रान्डहरूबारे भने अझै अनिश्चितता कायम छ । अमेरिकी आदिवासीहरूलाई ब्रान्डमा समावेश गरिने कार्य बृहत् स्तरमा भइरहेका छन् । गैरआदिवासीहरूको स्वामित्वमा रहेका कम्पनी अझै पनि आदिवासी प्रतीकहरूलाई भजाएर नाफा कुम्ल्याउने प्रयास गरिरहेका छन् ।

केही मानिस नश्लीय विज्ञापनहरू सामान्य लापर्बाहीका कारण उब्जिएकाले तिनलाई बिर्सिनुपर्ने भनेर पन्छन खोज्छन् । तर, समग्रमा यसले भयावह अवस्था निर्माण गरेको बिर्सिनुहुँदैन । ‘ब्ल्याक लाइभ्स म्याटर’जस्ता आन्दोलनले निम्त्याएका सफलताले केही सकारात्मक सम्भावना भने देखाएका छन् । अमेरिका र समग्र विश्वमै नश्लवादी प्रतीकहरूलाई त्याग्नुपर्ने माग बढ्न थालेको छ । अब हाम्रा नेता, शिक्षाविद् र खेलकुद टिमले यस लक्ष्यतर्फ थप काम गर्नुपर्छ ।

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

(राइली युनिभर्सिटी अफ क्यालिफोर्निया–लस एन्जेल्सकी कानुनकी प्राध्यापक हुन् भने कत्याल युनिभर्सिटी अफ क्यालिफोर्निया–बर्कलेकी कानुनकी प्राध्यापक हुन् ।)