१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
साराह चन्दर
२o८१ बैशाख २० बिहीबार १o:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युरोपेली संघमा संरचनात्मक नश्लवाद छ

Read Time : > 2 मिनेट
साराह चन्दर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o१:oo

राज्यसम्बद्ध निकायबाट हुने नश्लवादी क्रियाकलापविरुद्ध कठोर कानुन र नश्लवादविरोधी कदमको आवश्यकता छ

युरोपेली संघको नश्लवादविरोधी सम्मेलन मार्च १९ मा सम्पन्न भयो । सम्मेलनसामु अघिल्लो वर्ष विश्वभर प्रहरी दमन र संरचनात्मक नश्लवादविरुद्ध उठेको माग सम्बोधन गर्ने अवसर थियो । दुर्भाग्यवश, युरोपेली संघका नेताले आमअपेक्षा पूरा गर्न सकेनन् । नश्लवादविरोधी आन्दोलनले आफ्ना माग स्पष्ट गरेको भए पनि सम्मेलनमा बोल्ने अधिकांश युरोपेली नेताले घृणाजन्य भाषणजस्तो नश्लवादको वैयक्तिक पक्षमा जोड दिए । 

युरोपेली राज्य तथा संस्थानका नीतिले नै नश्लवादलाई बल पुर्‍याउने गरेको बहस पहिलेदेखि हुँदै आएको छ । युरोपेली संघका सदस्य राष्ट्रहरूमा विभिन्न समय नश्लीय रूपमा घृणा गरिने समुदायका मानिस प्रहरीबाट मारिने गरेको घटना सार्वजनिक हुन्छ । पछिल्लो समय नश्लवादविरोधी नागरिक समाज संगठनहरूले अभूतपूर्व आक्रमण सामना गर्न थालेका छन् । संक्षिप्तमा भन्दा युरोपमा हुने नश्लवादी क्रियाकलापको थोरै मात्र यथार्थ पनि सम्मेलनमा सम्बोधन भएन । सम्मेलनपछि युरोपेली संघ सरकार पुनः यथास्थितिमा फर्किने डर छ । र, यथास्थिति प्राणघातक साबित भइरहेको छ ।

युरोपेली संघले साँच्चै नश्लवाद समाधान गर्ने हो भने उसले आफ्ना सदस्य राष्ट्रमा रहेको सम्पूर्ण प्रकारको नश्लवादलाई सम्बोधन गर्नुपर्छ

युरोपमा संरचनात्मक नश्लवाद अझै विद्यमान छ । अमेरिकी विद्वान् तथा अभियन्ता रुथ विल्सन गिलमोरले यसलाई राम्ररी व्यक्त गरेकी छिन् । गिलमोरका अनुसार ‘राज्यको नश्लवादी संरचनाभित्र युरोपको अल्पसंख्यकको असामयिक निधन हुने क्रम जारी छ, जुन प्रहरी हिंसा, कोभिड–१९ विरुद्धको सुरक्षाको अभाव वा युरोपेली संघको बसाइँसराइ नीति, नश्लवादले विभिन्न स्वरूपमा अभिव्यक्त भइरहेको छ । यी सबैका कारण मानिसको ज्यान गइरहेको छ ।’ युरोपेली संघका धेरै संस्थानका मुख्यालय रहेको बेल्जियममै प्रहरीको हातबाट धेरैको ज्यान गएको छ । अप्रिल २०२० मा १९ वर्षीया मोरोक्को मूलका अडिल प्रहरीले लखेट्ने क्रममा मारिए । त्यस्तै अर्का २३ वर्षीया अश्वेत इब्राहिम प्रहरीले परिचय पत्र जाँच गर्ने क्रममा बिते । 

स्विडेनमा भर्खरै सम्पन्न एक अध्ययनले निम्न अथवा मध्यम आययुक्त देशबाट युरोप आएका आप्रवासीको कोभिड–१९ बाट मृत्यु हुने सम्भावना अत्यधिक देखाएको छ । युरोपको दक्षिणी सिमानामा आइपुग्ने प्रयासमै अल्पसंख्यक समुदायका कैयौँ व्यक्तिको भयानक मृत्यु हुने गर्छ । सन् २०२० सेप्टेम्बरमा सार्वजनिक युरोपेली संघको बसाइँसराइसम्बन्धी सम्झौता पनि मानिसलाई सुरक्षित राख्नेमा भन्दा पनि पक्राउ र निष्कासनमा केन्द्रित छ । फ्रान्समा नश्लीय आक्रमण सामना गरिरहेका समुदायलाई सघाउने नागरिक समाज समूहमाथि आक्रमण बढेको छ । सन् २०२० को शिशिरमा फ्रेन्च सरकार स्वयंले मुसलमान समुदायको मानवअधिकार वकालत गर्ने संगठनमाथि दमन अभियान सञ्चालन गर्‍यो । यी घटनाक्रममा संरचनात्मक नश्लवादको भूमिका देखिन्छ । यो युरोपेली संघमा नियमित हुने कुरा हो ।

यदि संघ नश्लवादविरुद्ध साँच्चै कदम उठाउन चाहन्छ भने सबै तह र तप्कामा आधारभूत परिवर्तनको खाँचो देखिन्छ । इक्विनोक्स इनिसियटिभ फर रेसियल जस्टिसजस्ता संगठनले युरोपेली सस्थानलाई नश्लीय न्यायविरुद्ध कसरी लड्न सकिन्छ भन्ने सिफारिस गर्ने गर्छ । युरोपेली संघले आफैँले सार्वजनिक गरेको नश्लवाद विरोधी कार्ययेजना–२०२०–२५ को महत्वाकांक्षी लक्ष्य पूरा गर्ने हो भने उसले आफ्नो संरचनात्मक नश्लवादलाई सम्बोधन गर्नुपर्छ । यसका लागि उसले आफ्ना संस्थानमा नश्लीय र जातीय अल्पसंख्यकको स्वच्छ प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । अझ महत्वपूर्ण, युरोपेली संघले आफ्ना कानुन तथा नीतिहरूको पुनरावलोकन गर्नुपर्छ । विशेषतः कानुन कार्यान्वयन गर्ने निकायका काम–कारबाहीमाथि पुनरावलोकन हुनु आवश्यक छ । साथै उसले युरोपेली संस्थानले कसरी नश्लीय असमानता तथा हिंसालाई प्रोत्साहन गरिरहेको छ भन्ने विषयमा ध्यान दिनुपर्छ । युरोपेली संघले नश्लीयताविरुद्ध लडिरहेका नागरिक सघं–संगठनसँग नयाँ सम्बन्ध विकास गर्नुपर्छ । लामो समयसम्म संघले नश्लीय न्याय अभियन्ताका काममा अवरोध पुर्‍याइरह्यो । 

अन्तिममा युरोपेली संघ सम्बद्ध संस्थानले नश्लवाद सामाधानका लागि दिगो राजनीतिक इच्छाशक्ति देखाउनुपर्छ । यसलाई सम्मेलन र कार्ययोजनाले मात्र नभएर लगनशील नश्लवादविरोधी कदमको आवश्यकता देखिन्छ । विशेषतः अल्पसंख्यक समुदायका मानिसको प्रहरीबाट हत्या हुँदा संघले आवाज उठाउनुपर्छ । राज्यका निकायबाट हुने नश्लवादी क्रियाकलापविरुद्ध कदम चाल्ने कानुनको आवश्यकता छ । कानुन कार्यान्वयन गर्नेबाट हुने नश्लवादले नै एक वर्षअघिको विश्वव्यापी नश्लवाद विरोधी अभियान सुरु गराएको थियो । युरोपेली संघले यसलाई अन्त्य गर्नेतर्फ अग्रसरता लिनुपर्छ । 

(चन्दर इक्विनोक्स इनिसियटिभ फर रेसियल जस्टिसकी सहसंस्थापक हुन्)
अलजजिराबाट

 

ad
ad