१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ असार १४ आइतबार ०६:२८:००
Read Time : > 2 मिनेट
अर्थ

हिमालय एयरलाइन्स उडाइरहेको यती समूहलाई  दोस्रो अन्तर्राष्ट्रिय लाइसेन्स दिने तयारीमा सरकार

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ असार १४ आइतबार ०६:२८:००

यती समूहलाई लाइसेन्स दिन लकडाउनकै वेला सूचना निकालियो, यती एयरलायन्सको मात्रै आवेदन, एउटै समूहलाई अन्तर्राष्ट्रिय उडानको दुई लाइसेन्स दिने अन्तिम तयारी

यती एयरका नाममा अन्तर्राष्ट्रिय उडानको लाइसेन्स लिएर त्यहीमार्फत हिमालय एयरलाइन्स उडाइरहेको यती समूहलाई सरकारले दोस्रो अन्तर्राष्ट्रिय लाइसेन्ससमेत दिने तयारी गरेको छ । ०६४ सालमा यती समूहले फ्लाई यतीको नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तर्राष्ट्रिय उडानको लाइसेन्स लिएको थियो । यो लाइसेन्सबाटै तिब्बती एयरलाइन्सको सहकार्यमा ०७१ मा हिमालय एयरलाइन्स स्थापना गरिएको थियो । हाल हिमालयले ३ जहाजमार्फत १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हिमालय एयरलाइन्समा बहुमत सेयर अहिले पनि यती समूहकै नाममा रहेको छ । 

यती समूहलाई नै लाइसेन्स दिने मनसायले मन्त्रालयले लकडाउनकै अवधिमा गत १७ मा अन्तर्राष्ट्रिय उडानको लाइसेन्सका लागि सार्वजनिक सूचना जारी गरेको थियो । यतीले जेठ २९ गते आवेदन दिएको हो । पर्यटन मन्त्रालयले बनाएको नयाँ कार्यविधिअनुसार पाँचवटा जहाजमार्फत पाँच वर्षसम्म नियमित आन्तरिक उडान गर्ने कम्पनीलाई अन्तर्राष्ट्रिय उडानमा विस्तार गर्न पाउने प्रावधान छ । सोहीअनुसार माग गरिएको आवेदनमा यती समूहको मात्रै आवेदन परेको छ । कार्यविधिमा एकै कम्पनीले लाइसेन्स लिएर अन्तर्राष्ट्रिय उडान गरिरहेको अवस्थामा अर्को लाइसेन्स दिन मिल्ने–नमिल्ने विषयमा केही उल्लेख गरिएको छैन । 

यती समूहले ‘ग’ वर्गको लाइसेन्स लिन आवेदन दिएको छ । सरकारले तयार पारेको कार्यविधि प्रस्तावमा ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न १ अर्ब रुपैयाँ, ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि ७५ करोड रुपैयाँ र ‘ग’ वर्गको वायुसेवा सञ्चालन गर्न ५० करोड रुपैयाँ चुक्ता पुँजीको व्यवस्था गरिएको छ ।  

यतीको प्रस्ताव मूल्यांकन गर्न पर्यटन मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा मूल्यांकन कमिटी गठन गरेको छ । मन्त्रालयले मूल्यांकन गरेर मात्रै लाइसेन्स दिने–नदिने निर्णय हुने बताउँदै आएको छ । ‘यती एयरलाइन्सको मात्रै आवेदन आएको छ, तर निर्णय भएको छैन,’ संयोजक सुरेश आचार्यले भने, ‘हिमालयमा यती समूहकै लगानी छ । अर्को पनि चलाउन मिल्ने–नमिल्नेबारे अध्ययन भइरहेको छ, मूल्यांकन गरेर मात्रै निर्णय हुन्छ ।’ मूल्यांकन समितिले आवेदन दिएको यती र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग विगतदेखिका सबै कागजपत्र मागेर अध्ययन गर्ने काम गरिरहेको आचार्यले बताए । 

पाण्डे समूह उडान सुरु नहुँदै बाहिरिए
०७१ बाट सुरु भएको हिमालय एयरलाइन्समा सुरुमा एचआइएफ एभिएसन इन्भेस्टमेन्ट, यती वर्ल्ड इन्भेस्टमेन्ट र तिब्बत एयरलाइन्सको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो । 

कम्पनीमा एचआइएफ एभिएसन इन्भेस्टमेन्ट कम्पनी र यती वल्र्ड इन्भेस्टमेन्ट कम्पनीको मुख्य लगानी रहने सम्झौतासमेत भएको थियो । एचआइएफ एभिएसनका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, यती इन्भेस्टमेन्टका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पा र तिब्बत एयरलाइन्सका अध्यक्ष छेङ यिरु थिए । 

२ अर्ब रुपैयाँ लगानीमा स्थापना गरिएको हिमालय एयरलाइन्स कम्पनीमा चुक्ता पुँजीको ५१ प्रतिशत सेयर नेपाली कम्पनी यती वल्र्ड र एचआइएफसँग र ४९ प्रतिशत सेयर तिब्बत एयरलाइन्ससँग हुने सम्झौता थियो । ०७१ कात्तिक ११ बाट उडान सुरु हुने घोषणासमेत भएको थियो । समयमा उडान सुरु पनि नभएको र यती समूहले तिब्बत एयरलाइन्ससँग मिलेर पाण्डे समूहलाई सेयर थोरै दिने योजना बनाएपछि पाण्डे समूह उडान सुरु नगर्दै बाहिरिएको थियो । 

सञ्चालनमा आएको तीन वर्षमै चिनियाँ लगानीकर्ता फेरिए
यती समूहको लगानी रहेको हिमालय एयरलाइन्सको चिनियाँ लगानीकर्ता तीन वर्षमै फेरेको थियो ।  कम्पनीमा रहेको तिब्बत एयरलाइन्सको ४९ प्रतिशत हिस्सा तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्टलाई बिक्री गरिएको थियो । तिब्बत एयरलाइन्सले सेयर बिक्री गरेर तिब्बत सिभिलको स्वामित्वमा गत वर्ष ल्याइएको छ । कम्पनी फेरिएसँगै कम्पनीको लोगोसमेत परिवर्तन गरेको थियो । 

फरक–फरक नामबाट अनुमति, फ्लाई यतीका नाममा लाइसेन्स, हिमालयका नाममा उडान
यती समूहले ०५५ सालमा यती एयरवेजको नाममा लाइसेन्स लिएर आन्तरिक उडान सुरु गरेको थियो । उडान सुरु भएको चार वर्षमै ०५९ मा यती एयरवेजको नाम परिवर्तन गरेर यती एयरलाइन्स बनाएको थियो । यती समूहले हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ०६४ मा पर्यटनमन्त्री भएका वेला फ्लाई यतीको नाममा अन्तर्राष्ट्रिय उडानको लाइसेन्स लिएको थियो । सोही वर्ष यती समूहले फ्लार्ई यती र एयर अरेबियासँगको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । तर, संयुक्त लगानी एक वर्ष पनि टिक्न सकेन । एयर अरेबिया यती समूहबाट बाहिरियो । फ्लार्ई यती नामको लाइसेन्समार्फत उडान गर्न ०७१ मा कम्पनीको नाम परिवर्तन गरेर हिमालय एयरलाइन्स बनाइएको हो । सोही लाइसेन्सबाटै तिब्बत एयरलाइन्ससँगको सहकार्यमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो, जुन अहिलेसम्म पनि जारी छ ।

यती समूहले ०६६ मा यती हंसको नाममा नयाँ लाइसेन्ससमेत लिएको थियो, जुन डोमेस्टिक उडानका लागि थियो । पछि पुनः नाम परिवर्तन गरेर यती एयरलाइन्सले डोमेस्टिक नाम बनायो । सोही वर्ष भगिनी संस्था तारा एयर छुट्टै कम्पनी खडा गरेको थियो । सोहीबाट अहिले पनि यती र तारा दुवै नामबाट आन्तरिक उडान गर्दै आएको छ । पछि ०६९ मा यती एयरलाइन्स डोमेस्टिकलाई परिवर्तन गरेर यती एयरलाइन्स मात्रै नाम राखिएको थियो । यती समूहले अहिले सोही पुरानो यती एयरलाइन्स डोमेस्टिकबाट अन्तर्राष्ट्रिय लाइसेन्स लिन लागेको हो ।