१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
पुष्पराज दाहाल
२०७७ जेठ ११ आइतबार १९:२१:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

कृषिक्रान्तिमा माइक्रोबायोलोजिस्टको भूमिका

Read Time : > 4 मिनेट
पुष्पराज दाहाल
२०७७ जेठ ११ आइतबार १९:२१:००

कोरोना भाइरसका कारण नेपाललगायत विश्वका अधिकांश देश बन्दाबन्दीको अवस्थामा छन् । बन्दाबन्दी चलिरहँदा हरेक दिन कोभिड–१९ का बिरामीको संख्या बढिरहेको छ । यो कोरोना कहर कहिले समाप्त हुने हो, यसै भन्न सकिने अवस्था छैन । हुन त विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थाका वैज्ञानिक कोरोनाविरुद्ध खोपको आविष्कार गर्न अध्ययन अनुसन्धानमा लागिरहेका छन् र उनीहरू आफ्नो अध्ययनबाट उत्साहित भएका समाचार पनि आइरहेका छन् । 

अहिले संसारभरि कोरोना कहरको समाप्तिपछि विश्वको आर्थिक अवस्था कस्तो हुने हो भन्ने बहस सुरु भएको छ । लामो समयको बन्दाबन्दीका कारण सम्पूर्ण आर्थिक कारोबार ठप्प भएका छन् । राजस्वको दयारा साँघुरो भएको छ । नेपालजस्तो विप्रेषणमा आधारित अर्थतन्त्र भएको देशका लागि त कोरोना कहरपछिको आर्थिक अवस्था झनै चुनौतीपूर्ण हुन्छ । संसारभरका रोजगारदाता आआफ्ना उद्योग तथा प्रतिष्ठानमा जनशक्ति कटौती गरिरहेका छन् । यसैबीच नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम संसद्बाट पारित भइसकेको छ भने आगामी आर्थिक वर्षको बजेटको तयारी सुरु भइरहेको छ । यस वर्षको बजेट निर्मातासमक्ष कोरोना कहरपछि देशको आर्थिक स्थिति सम्हाल्न सक्ने खालको बजेट ल्याउने चुनौती छ । 

कृषिप्रधान राज्यले विगतका गल्ती र कमजोरी सुधार्दै स्वदेशमै उत्पादित दक्ष प्राविधिक जनशक्ति माइक्रोबायोलोजिस्टलाई परिचालन गरी कृषिक्रान्तिको थालनी गर्न ढिलो भइसक्यो 

विगत लामो समयदेखि रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीको रोजगारी गुम्ने र त्यस्ता जनशक्ति स्वदेश फर्कदा बेरोजगारी बढ्ने र सरकारी ढुकुटीमा जम्मा हुने विप्रेषण पनि घट्ने हुँदा नेपालले कोरोनापछिको अर्थतन्त्र धान्न धेरै मिहिनेत गर्नुपर्ने विश्लेषण गर्न थालिएको परिप्रेक्ष्यमा बजेट निर्माण निश्चय नै चुनौतीपूर्ण छ । हुन त नेपाल सरकारले आगामी वर्ष कृषिमा लगानी गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने बताउँदै आएको छ । सरकारले विदेश तथा स्वदेशमा रोजगारी गुमाएका जनशक्तिलाई लक्षित गरी कृषिमा नयाँ–नयाँ कार्यक्रम ल्याउने र लामो समयदेखि बाँझो रहेका भूमिलाई हराभरा बनाएर स्वरोजगारी विकास गर्ने बताइरहँदा जनमानसमा विभिन्न खालका सवाल उठिरहेका छन् । विगतका सरकारले पनि यस्तै कार्यक्रम घोषणा गरेका थिए, तर ती घोषणा फितलो कार्यान्वयनका कारण असफल भई किसानका समस्या ज्युँकात्युँ रहे । 

परम्परागत कृषि प्रणाली विस्थापन गरी वैज्ञानिक कृषि प्रणालीको अवलम्बन, समयमै मलखाद्य तथा कीटनाशक औषधिको व्यवस्था, उत्तम जातका बिउबिजनको व्यवस्था, सिँचाइको उचित प्रबन्ध, उत्पादित वस्तुका लागि बजार, ढुवानी र भण्डारणको उचित व्यवस्था तथा उत्पादनको उचित मूल्य पाउने व्यवस्था नगरिँदासम्म युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न सकिने अवस्था छैन ! तसर्थ, सरकारले विगतका कमी–कमजोरी सच्याउने प्रतिबद्धता गर्दै उच्च इच्छाशक्तिसाथ कार्यक्रम कार्यान्वयन गर्ने विश्वास दिलाउँदै योजना ल्याउनुपर्छ । 

विश्वका धेरै देशले कृषि प्रणालीमा आधुनिकीकरण गरेर रोजगारीका अवसर सिर्जना गरी देश विकास गरेका थुप्रै उदाहरण छन् ! विगत लामो समयदेखि हामीले नेपाल कृषिप्रधान देश हो भन्दै आयौँ । तैपनि, हरेक वर्ष कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढिरहेको छ । परम्परागत कृषि प्रणालीबाट हातमुख जोड्न नसक्ने अवस्था आएपछि नेपाली युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएका हुन् । यस्तो यथार्थ आत्मसात् गरेर विगतका कमी–कमजोरीको उचित सम्बोधन गर्ने गरी नयाँ योजना ल्याउनुपर्छ । कोरोना भाइरसका कारण सिर्जना भएको यो चुनौतीपूर्ण अवस्थालाई कृषिक्रान्तिमार्फत अवसरमा बदल्ने समय आएको छ । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गरेर यसको सुरुवात गर्नुपर्छ । यसका लागि आधुनिक कृषि औजार प्रयोगमा ल्याउने, दक्ष प्राविधिक जनशक्तिमार्फत कृषकमा आधुनिक कृषि प्रणालीका लागि आवश्यक ज्ञान र सीपसम्बन्धी तालिम उपलब्ध गराउने तथा उन्नत जातका बिउबिजन उपलब्ध गराउने आदि कार्य गर्न सकिन्छ । 

एकातिर खेतीपातीका लागि आवश्यक पर्ने रासायनिक मल तथा कीटनाशक औषधि समयमै नपाएर कृषक निरास हुनुपरिरहेको स्थिति छ भने अर्कातपÞर्m रासायनिक पदार्थ जथाभावी प्रयोग गर्दा माटोको प्राकृतिक उर्वरता घट्ने, अम्लीयपना बढ्ने तथा विदेशबाट आयात गर्नुपर्ने हुँदा ठूलो धनराशी विदेश पठाउनुपर्ने हुन्छ । यस्ता रासायनिक पदार्थले लामो समयसम्म वातावरणमा नकारात्मक असर पार्नुका साथै माटोमा प्राकृतिक रूपमा रहेका फाइदाजनक सूक्ष्मजीव तथा किरापÞmट्यांग्रालाई मार्ने हुँदा बालिनालीको उत्पादन घट्छ । रासायनिक पदार्थको प्रयोग गरी उत्पादन गरिएका खाद्यवस्तुमा मानव तथा जनावरको स्वास्थ्यमा नकारात्मक असर पार्ने हानिकारक कण लामो समयसम्म रहने हुँदा खाद्य सुरक्षामा प्रतिकूल असर पर्छ । त्यसैले गुणस्तरीय खाद्य पदार्थ उत्पादन गर्न रासायनिक मल तथा कीटनाशक औषधिको विकल्पमा प्रांगारिक मल तथा प्रांगारिक कीटनाशक औषधि प्रयोग गर्न किसानलाई उत्प्रेरित गर्नुपर्छ ।

रासायनिक पदार्थ प्रयोग नगरी स्वस्थ, सफा, शुद्ध, सुरक्षित तथा गुणस्तरीय खाद्य पदार्थ उत्पादन गर्ने कृषि प्रणालीलाई प्रांगारिक कृषि प्रणाली भनिन्छ । प्राकृतिक रूपमा माटोमा पाइने सूक्ष्मजीव प्रयोग गरेर प्रांगारिक मल तथा कीटनाशक औषधि उत्पादन गरिने हुँदा रासायनिक पदार्थले जस्तो यसले माटोको उर्वरतालाई नष्ट हुन दिँदैन । प्रांगारिक मल तथा कीटनाशक औषधिमा रहेका सूक्ष्मजीवले माटोमा प्राकृतिक रूपमा रहेका बोटबिरुवाका लागि फाइदाजनक सूक्ष्मजीव र किरा फट्यांग्रालाई जोगाउँदै हानिकारक सूक्ष्मजीव र किरा फट्यांग्रालाई मात्र नष्ट गर्छन् । माटोमा रहेका सूक्ष्मजीवले बोटबिरुवाको विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व जस्तै– नाइट्रोजन, फस्फोरस, पोटास आदिको प्राकृतिक विधिबाट उत्पादन गर्छन्, त्यसैले यस्ता मल र कीटनाशक प्रयोग गर्दा वातावरण प्रदूषित हुने जोखिम पनि रहँदैन । खेतीयोग्य जमिनमा फाइदाजनक सूक्ष्मजीवको संख्या धेरै हुँदा माटोमा पानीको मात्रा पनि बढ्न जान्छ, जसले गर्दा सुक्खायाममा पनि बोटबिरुवाको राम्रो विकास हुन्छ र धेरै अन्नबाली उत्पादन हुन्छ । यस्ता प्रांगारिक मल र कीटनाशक औषधि, रासायनिक मल र कीटनाशक औषधिभन्दा सस्तो हुनुका साथै वातावरणमैत्री पनि हुन्छन्, जसले गर्दा कम लागतमा गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न सकिन्छ । प्रांगारिक खेती प्रणालीमा प्रांगारिक मल र कीटनाशक औषधि प्रयोग गरिन्छ । यस्तो कृषि प्रणालीबाट उत्पादित खाद्यवस्तु गुणस्तरीय हुने हुँदा जनस्वास्थ्यका हिसाबले राम्रो मानिन्छ । त्यसैले विश्वका अधिकांश देशले यही प्रणालीको अवलम्बन गरिआएका छन् । 

हुन त नेपाल सरकारले पनि विगत केही वर्षदेखि प्रांगारिक खेती प्रणाली नै अवलम्बन गर्ने नीति लिएको छ, तैपनि यसका लागि आवश्यक पर्ने पूर्वाधार जस्तै– प्रांगारिक मल तथा कीटनाशक औषधिको उत्पादन, दक्ष प्राविधिक जनशक्तिको व्यवस्थापन र परिचालन तथा कृषकलाई आवश्यक तालिम आदिको उचित प्रबन्ध गर्न सकिरहेको छैन । नेपाली किसानद्वारा उत्पादित अन्नबालीले उचित मूल्य र बजार नपाएको गुनासो नयाँ होइन । बजारको अभाव, उत्पादित वस्तुहरू बजारसम्म पठाउन बाटोघाटो तथा ढुवानीका साधनको अभावजस्ता पुराना समस्या जस्ताको त्यस्तै छन् । समयमा नबिकेका वा बजार पु¥याउन नसकिएका उत्पादित वस्तुका लागि उचित भण्डारणको व्यवस्था नहुनु पनि अर्को प्रमुख समस्या हो । बजारको अभाव, भण्डारणको उचित प्रबन्ध नहुनु तथा स्थानीय तहमा उत्पादित वास्तु प्रशोधन गरी नयाँ–नयाँ खाद्यवस्तु उत्पादन गर्ने उद्योग अभावका कारण बाटोमा दूध पोखेका, तरकारीबारीमा ट्र्याक्टर चलाएका, कुखुरा तथा चल्ला खाल्टो खनेर गाडेका समाचार बारम्बार पत्रपत्रिका तथा विभिन्न सञ्चार मध्यममा आइरहेका छन् । 

वास्तवमै कृषिक्रान्ति गरेर देशमा समृद्धि ल्याउने हो भने कृषिक्षेत्रमा रहेका उल्लिखित समस्या समाधान गर्नुपर्छ । यस्ता समस्याको सही समाधानका लागि सरोकारवाला संस्थाले उच्च इच्छाशक्तिसाथ काम गर्नुपर्छ । देशको भौगोलिक अवस्थाअनुसार बालीनाली लगाउन कृषकलाई उत्प्रेरित गर्नुपर्छ । उपलब्ध स्रोत र साधनको अत्यधिक उपयोग गर्दै आवश्यक सामग्री यथेष्ट मात्रामा उपलब्ध गराएर कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सकिन्छ । सस्तो तथा सुलभ कर्जाको व्यवस्था गर्ने, आवश्यकताअनुसार प्राविधिक सेवा उपलब्ध गराउने, कृषि उत्पादनको सरकारी समर्थन मूल्य तोक्ने र बजार नपाएको खण्डमा सरकारले तोकेको मूल्यमा सरकारले नै खरिद गरिदिने जस्ता नीति लागू गर्ने हो भने ठूलो संख्यामा युवा जनशक्ति कृषिमा आकर्षित हुन सक्छन् । 

प्राविधिक जनशक्तिको उचित व्यवस्थापन तथा परिचालन गर्दै प्रांगारिक खेती प्रणालीमार्फत कृषिकान्ति सुरु गर्नु आजको आवश्यकता हो । विश्वका अन्य देशले प्रांगारिक खेती प्रणाली अवलम्बन गर्दा माटो र माटोमा प्राकृतिक रूपमा पाइने सूक्ष्मजीवबारे दक्षता हासिल गरेका प्राविधिक जनशक्तिको ज्ञान र सीपलाई उपयोग गरेर मात्र उल्लेख्य सफलता हासिल गरेका हुन् । तर, आजसम्म पनि नेपाल सरकारले त्यस्ता जनशक्तिको पहिचान गर्न सकेको छैन । विगत लामो समयदेखि स्वदेशमै उत्पादित माइक्रोबायोलोजिस्ट आफ्नो सीप र दक्षताको उपयोग नभएको गुनासो गरिरहेका छन् । स्नातक र स्नातकोत्तर तहमा जैविक विज्ञान तथा कृषि माइक्रोबायोलोजी अध्ययन गरेका माइक्रोबायोलोजिस्टले माटो, माटोमा पाइने सूक्ष्मजीव, खेतीपातीमा त्यस्ता सूक्ष्मजीवका उपयोगिता, उच्च गुणस्तरीय बिउबिजनको विकास र उपयोग गर्ने तरिका, प्रांगारिक मल तथा कीटनाशक औषधिको उत्पादन विधि र यसको प्रयोग गर्ने तरिका आदि विषयमा उच्च ज्ञान हासिल गरेका हुन्छन् । तर, कृषिप्रधान राज्यले यस्ता दक्ष जनशक्तिलाई नचिन्नु निश्चय नै दुःखद हो । त्यसैले विगतका गल्ती र कमजोरी सुधार्दै स्वदेशमै उत्पादित दक्ष प्राविधिक जनशक्तिलाई परिचालन गरी कृषिक्रान्तिको थालनी गर्नु आजको आवश्यकता हो ।  
(दाहाल त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक हुन्)  [email protected]