१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ माघ १५ बुधबार ०७:२०:००
Read Time : < 1 मिनेट
समाचार

सहिद स्मारकमा थपिए चार नेताका सालिक

Read Time : < 1 मिनेट
२०७६ माघ १५ बुधबार ०७:२०:००

२५ वर्षअघि स्थापना गरिएको सहिद स्मारकभित्र प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका चार नेताका सालिक थपिएका छन् । प्रजातान्त्रिक पार्क नाम दिएर निर्माण गरिएको पार्कमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह, कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको सालिक राखिएको छ । 

सहरी विकास मन्त्रालय र सहिद स्मारक विकास समितिको एक करोड लागतमा पार्क निर्माण गरिएको हो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच पार्क उद्घाटन गरिन् । प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका नेताहरूको सम्मान र सम्झनामा सालिकसहितको पार्क निर्माण गरिएको स्मारक विकास समितिले जनाएको छ । तीन वर्षमा निर्माण गरिएको पार्कमा चार नेताको पूर्णकदको सालिकसँगै उनीहरूका योगदान शिलालेखमा उल्लेख गरिएको छ । स्मारकमा यसअघि मदन भण्डारीको सालिक, मदन बाटिका, सहिद स्तम्भलगायत मनोरञ्जन र रमणीय संरचना निर्माण भइसकेका छन् । 

 पर्यटन प्रवद्र्धनमा जुट्न राष्ट्रपतिको आग्रह
सहिद स्मारकको रजत जयन्तिको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार जुट्नुपर्ने बताइन् । समारोहमा स्मारक निर्माणताका ढुंगामा सहिदको आकृति बनाउने कलाकारहरू कमलेश महर्जन, गोविन्द चौधरी, पृथ्वी श्रेष्ठ, स्मारक व्यवस्थापन प्रमुख रामचन्द्र न्यौपाने र प्रथम उपभोक्ता समिति अध्यक्ष हरिशरण सुवेदीलाई सम्मान गरिएको थियो । 

समिति अध्यक्षसमेत रहेका बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्मारकको विगतदेखि वर्तमान स्थितिबारे जानकारी गराए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले पनि मन्तव्य व्यक्त गरेका थिए ।