सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले लगातार तेस्रो जित निकालेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा आरसी ३२ ले महावीर क्लबलाई १–० ले पराजित गरेको हो । सुर्खेतको आरसी ३२ को जितमा विवेक राईले निर्णायक गोल गरे ।
कप्तान रोहन कार्कीको फ्रिकिक महावीरका गोलकिपर आसिव राईले क्लियर गर्न सकेनन् । सोही बललाई बक्स भित्रबाट विवेकले जाली चुमाएका हुन् । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । लगातार तेस्रो जितपछि आरसी ३२ ले ९ अंकसहित शीर्षस्थान बनाएको छ ।
महावीरको भने यो पहिलो हार हो । यसअघि टोलीले दुवै खेल बराबरी खेलेको थियो । महावीर यसअघि रानीवन स्पोर्टस् क्बसँग १–१ तथा खालीबारी युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । यता, आरसी ३२ ले खालीबारी फुटबल क्लबलाई १–० र बागमती युवा क्लबलाई ३–० ले पराजित गरेको हो । राष्ट्रिय टोलीका सदस्य रोहनको कप्तानीमा रहेको आरसी ३२ ‘बी’ डिभिजन लिगमा बढुवा हुने योजनामा छ ।
बागमती सफल
सर्लाहीको बागमती युवा क्लबले लिगमा दोस्रो जित निकालेको छ । एन्फा मुख्यालयमा भएको दिनको दोस्रो खेलमा बागमतीले सामाजिक युथ क्लबलाई २–० ले पराजित गरेको हो । बागमतीलाई जितम निर्मल बल र सनम धिमालले गोल गरे । जितसँगै ‘बी’ डिभिजनमा बढुवा हुने योजना बनाएको बागमतीले तीन खेलबाट ६ अंक जोडेको छ । यसअघि बागमतीले पहिलो खेलमा सानेपा क्लबलाई ३–१ ले पराजित गरेको थियो । दोस्रो खेलमा भने आरसी ३२ सँग पराजित भएको हो । पराजित सामाजिकको तीन खेलबाट मात्र एक अंक छ ।
टोली अझै जितविहीन छ । सामाजिक यसअघि पुल्चोक स्पोटर्स् क्लबसँग ३–० ले पराजित हुँदा सानेपासँग १–१ को बराबरी रोकिएको थियो । बागमतीको जितमा सातौँ मिनेटमा निर्मलले अग्रता बनाएका हुन् । ३४औँ मिनेटमा सनमले अग्रता २–० को बनाउँदै सहज जित दिलाएका हुन् ।