१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ दिल्ली
२०७६ माघ ३ शुक्रबार ०८:१४:००
Read Time : > 1 मिनेट
खेलकुद

धोनीसँग बिसिसिआईले वार्षिक सम्झौता गरेन

Read Time : > 1 मिनेट
नयाँ दिल्ली
२०७६ माघ ३ शुक्रबार ०८:१४:००

बिसिसिआईले २७ खेलाडीसँग सम्झौता गर्दा दुईपटकका विश्व च्याम्पियन धोनीसँगै तीन खेलाडी सूचीबाहिर

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले पूर्वकप्तान महेन्द्रसिंह धोनीसँग वार्षिक सम्झौता गरेन । बोर्डले २०१९/२० को सिजनका लागि २७ खेलाडीसँग सम्झौता गर्दा दुईपटकका विश्व च्याम्पियन खेलाडी धोनीले आफूलाई समावेश गर्न सकेनन् । बोर्डले सम्झौता नगर्नुको अर्थ धोनीको करिअर लगभग समाप्त भएको भारतीय एजेन्सीहरूले जनाएका छन् । सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटमा धोनी ए श्रेणीमै थिए । विश्वकपपछि धोनी राष्ट्रिय टोलीबाट बाहिरै छन् । गत साता टोलीका प्रमुख प्रशिक्षक रवि शास्त्रीले धोनीले छिट्टै सन्न्यास लिने बताएका थिए ।

बोर्डले यसपटक ए प्लस, ए, बी र सी ग्रेडमा खेलाडीको वर्गीकरण गरी सम्झौता गरेको छ । धोनीले अघिल्लोपटक ए ग्रेडमा रहँदै वार्षिक पाँच करोड भारु प्राप्त गरेका थिए । यसपटक उनी कुनै पनि समूहमा छैनन् । प्रशिक्षक शास्त्रीको भनाइ र बोर्डले नयाँ सम्झौता नगर्दा धोनीको भविष्य संकटमा परेको टाइम्स अफ इन्डियाले जनाएको छ । प्रशिक्षक शास्त्रीले धोनीले एकदिवसीयबाट सन्न्यास लिने र आइपिएल फ्रेन्चाइजमा सक्रिय रहने बताएका थिए । टोलीका प्रमुख छनोटकर्ता एमके प्रसादले प्रदर्शनका आधारमा धोनीलाई राखिने जनाएका छन् ।

‘प्रदर्शनका आधारमा मात्र खेलाडीले स्थान पाउनेछन्,’ छनोटकर्ता प्रसादले भने । गत जुलाईपछि धोनी राष्ट्रिय टोलीमा पर्न सकेका छैनन् । भारतले विश्वकपपछि घरेलु सिरिजमा दक्षिण अफ्रिका, बंगलादेश, वेस्टइन्डिज र अस्ट्रेलियासँग खेलिसक्यो । यी सबै सिरिजबाट धोनी बाहिर रहे । भारतको क्रिकेट इतिहासमा सर्वाधिक सफल कप्तान र विकेटकिपरको दर्जा पाएका धोनीले सन् २००७ मा टी–२० विश्वकप र २०११ मा भारतमै आयोजना भएको एकदिवसीय विश्वकप उपाधि कप्तानका रूपमा जितेका थिए ।

धोनीले ९० टेस्ट, तीन सय ५० एकदिवसीय र ९८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । धोनीबाहेक अम्बाती राइडु, दिनेश कार्तिक तथा खलिल अहमेद पनि सम्झौता सूचीमा परेनन् ।  बोर्डले बिहीबार सार्वजनिक गरेको सूचीअनुसार ए प्लस ग्रेडमा रहेका खेलाडीले वार्षिक सात करोड भारु पाउनेछन् । यसैगरी, ए ग्रेडमा रहेका खेलाडीले वार्षिक पाँच करोड र बी ग्रेडमा रहेकाले तीन करोड भारु पाउनेछन् । सी ग्रेडका खेलाडीले एक करोड पाउनेछन् । ए प्लसमा कप्तान विराट कोहली, रोहित शर्मा र जस्प्रित बुमराह छन् ।