१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ पौष २८ सोमबार ११:३९:००
Read Time : > 1 मिनेट
सप्तरंग

‘मेरी बास्सै’ छाड्दा सिरानी भिज्यो

Read Time : > 1 मिनेट
२०७६ पौष २८ सोमबार ११:३९:००

आँसु संवाद

०४५ देखि अभिनयमा सक्रिय छन्, दमन रूपाखेती । रेडियो नेपालको ‘बाल कार्यक्रम’बाट अभिनय यात्रा सुरु गरेका उनी ०४९ मा दिनेश डिसीद्वारा निर्देशित ‘ट्वाक्क टुक्क’बाट हास्यकलाकारका रूपमा देखिए । त्यसपछि रेडियो नेपालमा ‘दिनप्रतिदिन’ नामक रेडियो नाटकमा अभिनय गरे । संयोगवश, पछि उनलाई नै निर्देशनको जिम्मा आयो, त्यो कार्यक्रमको । अहिले पनि रेडियो अडियोमा सोही नाममा कार्यक्रम प्रशारण हुन्छ । 

दमन रूपाखेती, हास्यकलाकार

हास्य टेलीशृंखला ‘मेरी बास्सै’को प्रारम्भिक निर्देशक हुन्, उनी । त्यस शृंखलाको ‘घरज्वाइँ’ पात्रले उनलाई लोकप्रिय बनायो । त्यसपछि उनले ‘झ्याइँकुटी झ्याइँ’ टेलिशृंखला निर्देशन गरे । त्यसमा उनले अभिनय गरेको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको चरित्र लोकप्रिय बन्यो । दुई दशकभन्दा बढी समयदेखि हरेक गाईजात्रा महोत्सवमा प्रहसन पनि दिँदै आएका उनीसँग गरिएको आँसु संवाद :

जीवनमा कहिल्यै रुनुभएको छ ?
हास्यकलाकारसँग पनि सेन्टिमेन्ट हुन्छ । १६ माघ ०५९ मा मेरी दिदीको मृत्यु भयो । त्यो अकल्पनीय घटनाले मलाई धेरै रुवायो । अब १६ माघ आउन लाग्यो, मेरो मन विचलित हुन थालिसकेको छ ।

रुनु राम्रो हो कि नराम्रो ?
रुनु भनेको भित्रको पीडा बाहिरिनु हो । पीडालाई त्यसरी फाल्नु राम्रो हो । हाँसो र पीडाका आँसु फरक हुन्छन् । तर, जसरी निस्के पनि आँसु झर्नु आँखा र मन दुवैका लागि राम्रो हो ।

कसैलाई रुवाउनु पनि भएको छ ?
व्यक्तिगत र व्यावसायिक दुवै हिसाबमा जानेर कसैलाई रुवाएको छैन । बरु, आफैँ रोएको छु । ‘मेरी बास्सै’ छोड्दाजस्तो पीडा जीवनमा कहिल्यै भएन । अहिलेका राम्रा हास्यकलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्नेबुढा’सँगको साथ छाड्दा ४–५ घन्टासम्म रोएँ । त्यतिवेला मेरो सिरानी नै भिजेको थियो ।

पर्दामा रुवाउने/रुने चरित्र गर्नुभएको छ ?
रमेश बुढाथोकीको ‘प्रतिद्वन्द्वी’मा गणेश उप्रेतीको भाइजस्तो भूमिकामा थिएँ । त्यसमा रुने र रुवाउने नै भूमिका थियो, मेरो । त्यसमा रोएको र रुवाएको दुवै छु ।

दर्शकलाई हँसाउन सजिलो कि रुवाउन ?
हँसाउन गाह्रो हुन्छ । रुवाउन त कुनै सेन्टिमेन्टल कथा भए पुग्छ । हँसाउनलाई धेरै नै मिहिनेत जरुरी हुन्छ । यसो भन्दै गर्दा रुवाउन मिहिनेत चाहिन्न भनेको होइन ।

फिल्म हेरेर रुनुभएको छ ? 
हिन्दी फिल्म ‘बागवान’ हेरेर रोएको छु । हामीले नै फिल्म गर्दा पनि सेन्टिमेन्टल ब्याकग्राउन्ड म्युजिक बज्दा आङ सिरिंग हुन्छ । त्यसले मन छोयो भने आँसु खस्छ नै ।

आफूले अभिनय गरेकामध्ये प्रिय पात्र कुन हो ?
‘मेरी बास्सै’को ‘घरज्वाइँ’को चरित्र सम्झिँदा गर्व लाग्छ । ‘झ्याइँकुटी झ्याइँ’को ‘शेरबहादुर देउवा’को चरित्र पनि प्रिय लाग्छ ।