१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ पौष ९ बुधबार ०८:०२:००
Read Time : > 2 मिनेट
सप्तरंग

चल्तीका गीतले रैथाने संगीत ओझेलमा पर्दैन : झुमा लिम्बू

Read Time : > 2 मिनेट
२०७६ पौष ९ बुधबार ०८:०२:००

करिब दुई दशकदेखि नेपाली गीत/संगीतमा सक्रिय छिन्, झुमा लिम्बू । उनको गीति एल्बम ‘खासाम’ लिम्बू भाषा र संस्कृतिको दस्तावेजजस्तै बनेको छ । ०६० सालमा बजारमा आएको गीति एल्बम ‘ए साइँला’बाट उनी नेपाली लोकगीतमा स्थापित भइन् । उनी अहिले लोकसंगीतको अध्ययन र संरक्षणका लागि ‘रैथाने संगीत अभियान’मा लागेकी छिन् । गायिका लिम्बूसँग नयाँ पत्रिकाका लागि राज सरगमले गरेको कुराकानी :

अहिले म्युजिक भिडियोका आधारमा गीतको मूल्यांकन गर्न थालिएको छ । सुन्नेभन्दा हेर्ने चलन बढेर यस्तो भएको हो ?
हेर्ने चलनले दर्शक बढाउँछ, तर सिर्जनशीलतामा ह्रास ल्याउँछ । गीतको मूल्यांकन भिडियोका आधारमा गर्नुहुँदैन । किनकि, भिडियोले दृश्य देखाउने हो । गीतको भाव, शब्द र संगीत त सुनेर मात्र महसुस गर्न सकिन्छ । अहिलेका गीतलाई प्यारोडी भन्ने कि लोक, द्विविधा नै छ । भिडियो राम्रो बनाएर मात्र लोकगीत राम्रो हुने होइन । यसमा लोकभाका, भूगोल, परिवेश, स्वर र मौलिकता मुख्य विषय हुन् ।

लोकगीतमा मौलिकता गुम्दै गएजस्तो लाग्छ । यसो हुनुको कारण संकलकहरूको अभाव हो ?
गायक–गायिकालाई गीत बजारमा ल्याउन हतार छ । तर, कुन समाजको गीत गाइरहेका छौँ भन्नेबारे अध्ययन, अनुसन्धान गर्ने समय छैन । त्यसका लागि मिहिनेत देखिएको छैन । स्थलगत अनुसन्धान र गहिरो अध्ययनबाट मात्रै लोकगीत जीवन्त रहन सक्छ । त्यसका लागि राज्यले पनि सहयोग गर्नुपर्छ ।

राज्यको भूमिका कस्तो हुनुपर्छ ?
संगीत अनुसन्धानात्मक हुनुपर्छ । सर्जकलाई त्यसमा लाग्न राज्यले प्रेरित गर्नुपर्छ । राज्यको सहयोग उपलब्ध भयो भने स्रष्टाहरू खोज, अनुसन्धानमा लाग्नेछन् । स्रष्टाहरू रहरले यस क्षेत्रमा आएका छन् । तर, राज्यमा कुनै चिन्ता देखिँदैन । लोकगीतलाई प्राज्ञिक ढंगबाट अगाडि बढाउनुपर्‍यो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाहरू त सक्रिय नै छन् नि ?
प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाहरूमा राजनीतिक दलका नेताहरूले गायक, संगीतकार र लेखकहरूलाई छानेर पठाउने अधिकार छैन । हाम्रो विधालाई राजनीतिज्ञले छान्न पाउँदैन । त्यही विधाका विज्ञले छान्नुपर्छ । तर, प्रज्ञा प्रतिष्ठानमा पार्टीका नेताहरूले कार्यकर्तालाई पठाइरहेका छन् । भागबन्डाका आधारमा जागिर दिइरहेका छन् । अनि कसरी स्रष्टाहरू मूलधारमा आउन सक्छन् त ?

बजारमा चलेका गीतले रैथाने संगीतलाई केही फरक पार्दैन । किनकि, रैथाने संगीतको मुख्य पक्ष नै माटोको गीत हो ।

मूलधारको संगीत कस्तो हुनुपथ्र्यो ?
गीत–संगीतमै लागेर बाँच्न सक्ने अवस्थामा अझै पनि नेपाली स्रष्टा छैनन् । विभिन्न भाषाभाषीको गीत–संगीतमा लागेका स्रष्टाले पनि आफ्नो सिर्जनालाई मूलधारमा ल्याउन प्रयास गर्नुप-यो । आफ्ना लोकभाका, संस्कृति र भेगका कला मूलधारमा आउनुपर्‍यो । बाजा, भाका, धुन बनाउन र गाउन सक्ने प्रतिभालाई केन्द्रसम्म ल्याउनुप-यो । तर, एकजना मात्र लागिपरेर मौलिक र रैथाने संगीत केन्द्रसम्म आइपुग्न गाह्रो छ ।

लोकगीतको बजार कता गइरहेको छ ?
बजार स्थिर हुँदैन, कहिले ओरालो त कहिले उकालो लाग्छ । बजारमा चिनिएका कलाकर्मीले कम्तीमा परिवार पालेका छन् । तर, बजारमा चलेका सबै गीत–संगीतले मात्र रैथाने संगीतलाई बचाउन सक्दैनन् । बजारमा चलेर परिवार धान्न सकिएला तर इतिहास धान्नु फरक कुरा हो । एकथरी सोखले र अर्काथरी मनैदेखि कला, संस्कृतिको जगेर्नामा लागिपरेका छन् । सञ्चारमाध्यमले पनि असली स्रष्टालाई चिन्न सक्नुपर्‍यो । तब मात्रै रैथाने संगीत र स्रष्टाहरूको उत्थान हुन सक्छ ।

चल्तीका गीतले रैथाने संगीतलाई ओझेलमा त पार्दैनन् ?
बजारमा चलेका गीतले रैथाने संगीतलाई केही फरक पार्दैन । किनकि, रैथाने संगीतको मुख्य पक्ष नै माटोको गीत हो । रैथाने संगीतलाई चिन्नेहरू बिस्तारै बढ्नेछन् । यस्ता गीत–संगीत बजारमा झट्ट नबिक्लान् । तर, दिगो र संरक्षितचाहिँ हुन्छन् । राम्रो बजाउन र गाउन सक्ने सातै प्रदेशका प्रतिभालाई ल्याएर नेपाल भ्रमण वर्ष–२०२० लाई पनि टेवा पुग्ने गरी कार्यक्रम गर्दै छौँ । त्यसबाट रैथाने संगीतलाई बलियो टेवा पुग्ने विश्वास छ ।