१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ पौष ६ आइतबार ०९:१५:००
Read Time : > 2 मिनेट
प्रदेश

एचआइभी संक्रमित १४ मध्ये  १३ महिलाले जन्माए स्वस्थ शिशु

Read Time : > 2 मिनेट
२०७६ पौष ६ आइतबार ०९:१५:००

भेरी अस्पतालमा जन्मिएका १४ शिशुमध्ये १३ मा एचआइभी नेगेटिभ      

एचआइभी संक्रमित महिलाले जन्माएका १४ मध्ये १३ बालबालिका स्वस्थ रहेको पाइएको छ । एचआइभी संक्रमित गर्भवती महिलाले भेरी अस्पतालबाट नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी सेवा लिएपछि १४ मध्ये १३ शिशुमा एचआइभी नेगेटिभ पाइएको हो । 

भेरी अस्पतालमा एचआइभी/एड्स फोकल पर्सनसमेत रहेका ग्यास्ट्रोलोजिस्ट फिजिसियन डा. संकेत रिसालले संक्रमित गर्भवतीले नियमित रूपमा एन्टिरेट्रोभाइरल (एआरटी) औषधि सेवन गरेका कारण गर्भको शिशुमा संक्रमण सर्न नपाएको बताए ।

‘एक संक्रमित गर्भवती अस्पतालको सम्पर्कमा ढिला आएका कारण एचआइभीबाट बचाउन नसकिएको हो,’ डा. रिसालले भने, ‘समयमै सम्पर्कमा आएका सबैलाई संक्रमणबाट जोगाउन सफल भएका छौँ ।’ 

संक्रमित गर्भवती आमाले नियमित औषधि सेवन गरे ४५ प्रतिशतसम्म हुने जोखिमलाई दुई प्रतिशतमा झार्न सकिने उनले बताए । नियमित औषधि सेवन गरेका संक्रमित गर्भवतीलाई सुत्केरी गराउन स्वास्थ्य संस्था वा अस्पताल लैजानुपर्ने र जन्मेको शिशुलाई पहिलो दिनदेखि ६ हप्तासम्म एआरटी प्रोफाइलेक्सिस औषधि चलाउनुपर्ने बताए ।

‘एचआइभी संक्रमितबाट जन्मेका सन्तानमा एचआइभी हुने दर सामान्यतया २० देखि ४५ प्रतिशतसम्म रहन्छ, तर भेरी अस्पतालले एचआइभीमा शतप्रतिशत प्रगति गरेको छ,’ उनले भने ।

जाँच गर्ने मेसिन नहुँदा पहिचान गर्न समस्या
भेरी अस्पतालमा एचआइभी जाँच गर्ने भाइरल लोड मेसिन नहुँदा एचआइभी परीक्षणमा समस्या भएको छ । साबिक मध्य र सुदूरपश्चिम क्षेत्रका बिरामीको उपचार गर्दै आएको अस्पतालमा एचआइभी जाँच गर्ने भाइरल लोड मेसिन नहुँदा एचआइभीको जाँच गर्न धनगढी र काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको डा. रिसालले बताए । 

उनका अनुसार भेरी अस्पतालमा रगतको नमुना लिएर धनगढी र काठमाडौं पठाउँदा लामो समय लाग्ने गरेको छ । धनगढीमा धेरै भीडभाड हुने भएकाले प्रायजसो नमुना काठमाडौं पठाउने गरेको उनले बताए ।

‘नेपालगन्जबाट पठाएको स्याम्पलको रिपोर्ट आउन सातदेखि १५ दिन लाग्छ,’ उनले भने, ‘भेरी अस्पतालमा मेसिन भएको भए आवश्यक परेका वेला जाँच गर्न सकिन्थ्यो, मेसिन नहुँदा बिरामीलाई समस्या भएको छ ।’

एचआइभी संक्रमित एक सय ४५ को मृत्यु
बाँकेमा पाँच सय ३५ पुरुष, चार सय १४ महिला र १३ तेस्रोलिंगी गरी एक हजार एक सय एक एचआइभी संक्रमित छन् । तीमध्ये दुई सय ४२ महिला र दुई सय १९ पुरुष गरी चार सय ६१ जनाले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् ।

सन् २०१९ मा चार सय ३३ जनाको एचआइभी जाँच गरिएको डा. रिसालले बताए । बाँकेमा ३० जना लागुऔषध प्रयोगकर्तामा पनि एचआइभी संक्रमण देखिएको छ । फेला परेका संक्रमितमध्ये हालसम्म एक सय ४५ जनाको एड्सका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

उच्च सफलता पाउनेमा भेरी अस्पताल देशकै पहिलो भएको दाबी
चिकित्सकले एचआइभी संक्रमित महिलाबाट झन्डै शतप्रतिशत स्वस्थ शिशु जन्माउन सफल हुने देशकै पहिलो अस्पताल भएको दाबी गरेका छन् । एक वर्षको अवधिमा अस्पताल आएका १४ मध्ये १३ महिलाले स्वस्थ शिशु जन्माएका हुन् ।

‘चिकित्सकले राम्रो सुझाब दिएर मात्र हुने थिएन, संक्रमित गर्भवती महिलाले पनि सल्लाह, सुझाबलाई राम्रोसँग पालना गर्दा एचआइभी संक्रमित महिलाले जन्माएका नवजात शिशुमा एचआइभी संक्रमण हुन पाएन,’ डा. रिसालले भने, ‘शतप्रतिशत सफलता पाउनेमा भेरी अस्पताल देशकै पहिलो हो भन्ने हाम्रो दाबी छ ।’ 

पिएमटिसिटी कार्यक्रममार्फत उचित सल्लाह, सुझाब र परामर्श दिएको डा. रिसालले बताए । उनले चिकित्सकको सल्लाह, सुझाबलाई मनन गरी संक्रमित महिलाले नियमित रुपमा गर्भ जाँच गराएकै कारण राम्रो परिणाम ल्याउन सफल भएको बताए ।

भेरी अस्पतालका चिकित्सकले नवजात शिशुमा एचआइभी संक्रमण हुन नदिन धेरै मिहिनेत गरेको बताए । विगतमा संक्रमित महिलाले जन्माएका शिशुमा एचआइभी संक्रमण हुने गरेको थियो । ‘बच्चा गर्भमै रहँदादेखि जन्मेको ६ हप्तासम्म औषधि खुवाएर बच्चालाई संक्रमण हुनबाट जोगाउन चिकित्सकले धेरै मिहिनेत गरेका छौँ,’ डा. रिसालले भने ।