१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १७ मंगलबार ०८:२९:००
Read Time : > 1 मिनेट
सम्पादकीय

सागको भव्य सुरुवात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १७ मंगलबार ०८:२९:००

दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार भव्य समारोहबीच उद्घाटन गरिन् । नेपालले आयोजना गरेका यसअघिका साग या राष्ट्रिय खेलकुद प्रतियोगिताका तुलनामा यो आयोजनाको सुरुवात भव्य थियो । चार वर्षअघिको भूकम्पले झन्डै ध्वस्त भएको दशरथ रंगशालामा त्यसपछि आयोजना भएको यो नै भव्य समारोह थियो ।

एक महिनाअघिसम्म पनि बन्दै गरेका संरचनाका कारण आयोजना नै संकटमा पर्ने हो कि भन्ने आशंका थियो । रंगशालाको निर्माण अन्तिम समयसम्म पनि जारी थियो । उता केही प्रतियोगिताको आयोजना गर्ने अवसर पाएको पोखरामा पनि खेल र निर्माणकार्य सँगसँगै जारी रह्यो । पौडी प्रतियोगिता आयोजना हुने पोखरीमा पानी भर्ने कामसमेत अन्तिम समयमा भएको थियो । तर, यसले आयोजनाको भव्यतालाई रोकेन । हिजो साँझसम्म दर्जनभन्दा बढी स्वर्णपदक जितेर नेपालले उत्साहजनक प्रदर्शन आरम्भ गरेको छ ।

यी घटनाले नेपाली पदाधिकारीले चाहने हो भने तोकिएकै समयमा यतिका ठूला कार्यक्रम आयोजना गर्न सम्भव छ भन्ने देखाएको छ । यसैगरी साग आयोजनाअघिका तयारीमा बग्रेल्ती समस्या रहँदारहँदै पनि नेपाली खेलाडीले आफ्ना तर्फबाट पदक दिलाउन भरमग्दुर प्रयास गरेको देखिएको छ । यो नेपाली खेल जगत्का लागि उत्साहजनक अवस्था हो । यद्यपि यहीबीच एकजना आशा गरिएकी खेलाडीले बन्द प्रशिक्षणबाट भागेर कतार पुगेको समाचारले एउटा निराशाको संकेत गरेको थियो ।

नेपालले सागको भव्य सुरुवात गरेर आफ्नो बढ्दो क्षमता प्रदर्शन गरेको छ, अहिलेको कामलाई निरन्तरता दिने हो भने खेल क्षेत्रमा उल्लेख्य सुधार आउने देखिन्छ
 

साग आयोजनाका क्रममा देखिएको मुख्य समस्या भनेको नेपालीले नियमित रूपमा गर्नुपर्ने काममा ध्यान नदिँदा या पदाधिकारीले समयको महत्वलाई भन्दा निर्माणका कामबाट हुन सक्ने आयस्ता बढाउन अधिकतम प्रयास गर्ने गरेकाले समस्या आउने गरेका हुन् । खेल जगत्को नेतृत्व प्रभावशाली भयो भने अब आउने वर्षमा नेपालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता अयोजना गर्दा पूर्वाधारको अभावले रोकिनु पर्नेछैन भन्ने तथ्यलाई पनि यसपटकको कामले प्रमाणित गरेको छ । यो कामलाई समयमै सम्पन्न गर्न खेलकुदमन्त्री, राखेपका सदस्यसचिव र खेल पदाधिकारी पछिल्ला केही साता निकै खटेका थिए ।

यस्तो खटाइ वास्तवमा आफ्नै मूर्खताको परिणाम पनि हो । वेला छँदै काम गर्ने बानी हुने हो र जिम्मेवारी लिएका निर्माण कम्पनीले आफ्नो दायित्व समयमै पूरा गर्ने हो भने अन्तिम समयमा धपेडी हुँदैन । पोखरामा निर्माण हुँदै गरेको रंगशालाको प्यारापिट, त्यसवरपरको बाटो, मैदानवरपरको भूसतहको व्यवस्थापनसमेत राम्ररी सम्पन्न भएको छैन । यसका लागि हाम्रा खास पदाधिकारीभन्दा बढी हाम्रो समग्र पद्धति नै जिम्मेवार देखिन्छ ।

सरकारले लगानी बढाउँदै जाने हो र खासगरी खेलाडी र पूर्वाधारमा गरिने लगानीलाई प्रभावकारी बनाउने हो भने नेपालले धेरै खेलमा दक्षिण एसियाका अरू देशसँग मज्जाले प्रतिस्पर्धा गर्न सक्छ । क्रिकेटले पनि यो संकेत दिएकै छ । महिला भलिबललगायत यसपटकका प्रदर्शनले पनि त्यही संकेत गर्छन् । जे होस्, यसपटक साग खेलमा नेपालले भव्य सुरुवात गरेर आफ्नो बढ्दो क्षमता प्रदर्शन गरेको छ । अहिलेको कामलाई निरन्तरता दिने हो भने खेल क्षेत्रमा उल्लेख्य सुधार आउने देखिन्छ ।