१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ कार्तिक १८ सोमबार ११:३०:००
Read Time : > 1 मिनेट
प्रदेश

मुसहर बस्तीमा रोकिएन ज्वरोको प्रकोप

Read Time : > 1 मिनेट
२०७६ कार्तिक १८ सोमबार ११:३०:००

सिरहाको लहान नगरपालिका–१५ ढोढनाको लग्राहा (सिसवनी) र मेनहर्वा दलित बस्तीमा तीन सातादेखि फैलिएको ज्वरोको प्रकोप अझै नियन्त्रणमा आएको छैन । गरिब मुहसर बस्तीमा फैलिएको ज्वरोले सुत्केरी, बालबालिकादेखि वृद्धवृद्धासम्म थलिएका छन् । 

मुसहर बस्ती जंगलनजिकै पर्छ । बस्तीमा विगत दुई सातादेखि फैलिएको ज्वरोले गाउँका बालबालिका, सुत्केरी र वृद्धवृद्धा बढी प्रभावित भएका स्थानीय रामे सदायले बताए । ‘हरेक घरमा ज्वरो आउने, टाउको दुख्ने र रुघाखोकी लागेका बिरामी छन्,’ सदायले भने, ‘नगरपालिका र स्वास्थ्य चौकीको टोलीले चेकजाँच गरेर औषधि वितरण गरे पनि सन्चो भएको छैन ।’

१५ दिनकी सुत्केरी २४ वर्षीया सुमिनदेवी सदाय रक्तअल्पताकी बिरामी हुन् । अहिले उनलाई ज्वरो पनि थपिएको छ । तर, आर्थिक अभावमा उपचार गराउन नपाएको सदाले बताइन् । मेनहर्वा गाउँको पुछारमा घर रहेकी ४९ वर्षीया आशादेवी सदायले विगत एक सातादेखि टाउको दुख्ने, जिउ काम्ने, ज्वरो आउने र खोकी लाग्ने गरेको बताइन् । ‘घरबाट लहान बजारसम्म ओहोरदोहोर गर्न मात्र दुई सय रुपैयाँ अटोरिक्सालाई भाडा तिर्नुपर्छ, बनीबुतो र मजदुरी गरेको आम्दानीले हातमुख जोड्न पनि मुस्किल छ, कसरी उपचार गर्नु ?’ स्थानीय पन्चा सदायले भने । मुसहर बस्तीमा औसतमा हरेक घरमा एकजना ज्वरोले थलिएका बिरामी रहेको उनको भनाइ छ । 

सिसवनीमा पनि ज्वरोको प्रकोप
ढोढनाको सिसवनी गाउँका ३७ परिवार मुसहर पनि ज्वरोले थलिएका छन् । स्थानीय राजकुमार सदायले घरका सातजनामध्ये आफू मात्रै सद्दे रहेको बताए । ‘पत्नीसहित पाँचजनालाई पालैपालो ज्वरो आइरहेको छ,’ उनले भने, ‘मजदुरी गरेर जीविका चलाउनुपर्छ, उपचार गर्ने रकम छैन ।’ सिसवनी गाउँकै ३१ वर्षीय जितन सदाय दुई सातादेखि ज्वरोले थलिएका छन् । पति बिरामी हुँदा चुलो बाल्नसमेत अप्ठ्यारो परिरहेको पत्नी झालो सदायले गुनासो गरिन् ।

सिसवनीकी ५१ वर्षीया मूर्ति सदाय आफैँ तीन महिनादेखि ज्वरोले थलिएकी छिन् । ‘टाउको दुख्छ, खोकी पनि लागिरहेको छ,’ उनले भनिन्, ‘घरको देखभाल गर्ने वृद्ध पति ननुवा सदायसमेत ज्वरोले थलिएपछि घर चलाउन साह्रै अप्ठ्यारो परेको छ ।’ विगत तीन महिनादेखि लगातार ज्वरो आउनुका साथै खोकीसमेत लागिरहेकाले क्षयरोगको आशंका गरिए पनि जाँच गर्न नपाएको उनको गुनासो छ । 

आफ्नै खर्चमा उपचार
गरिबी र अभावले ग्रस्त रहेको मुसहर बस्तीमा ज्वरोको प्रकोप फैलिएको समाचार पढेपछि आफ्नै खर्चमा चेकजाँच र औषधि वितरण गरेको डा. सदाले बताए । ‘जाँच गरिएका ४० जना बिरामीमध्ये एक सुत्केरी महिलालाई रक्तअल्पता देखिएपछि डेढ महिनासम्म आइरन चक्की खान सिफारिस गरेको छु,’ उनले भने । त्यसका साथै तीनजनामा क्षयरोगको आशंका लागेकाले सरकारी स्वास्थ्य संस्थामा खकार जाँच गर्न लेखिदिएको उनले बताए । ज्वरोले थलिएका अन्य बिरामीलाई पारासिटामोल, पेन्टाप्राजोल, सेट्रिजिन, सिप्रोफ्लोक्सासिन, सेफिकजिम, कफसिरपलगायतका औषधि वितरण गरिएको डा. सदाको भनाइ छ ।

डा. सदाले १० कात्तिकमा पनि लहान–१५ को ढोढना गाउँमा ३६ जना ज्वरोका बिरामीको स्वास्थ्य जाँच गरेका थिए । त्यसअघि नगर स्वास्थ्य शाखा र ढोढना स्वास्थ्य चौकीबाट औषधिसहित खटिएको चारजना स्वास्थ्यकर्मीको टोलीले ७ कात्तिकमा ज्वरोप्रभावित बिरामीको चेकजाँच गरेको थियो । 

गाउँमै गएर स्वास्थ्य जाँच
मुसहर बस्ती ज्वरोले थलिएको विषयमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि सिरहा जिल्ला अस्पतालका चिकित्सक डा. दिलीपकुमार सदाले शुक्रबार गाउँमै गएर बिरामीको स्वास्थ्य जाँच गरेका छन् ।

बिरामीको चेकजाँच र औषधिसमेत वितरण गरिएको डा. सदाले बताए । डाक्टर सदासहित ल्याब असिस्टेन्ट चन्देश्वर यादव र ढोढना स्वास्थ्य चौकी प्रमुख सिनियर अहेव रामसुन्दर चौधरीसहितको टोलीले शुक्रबार मेनहर्वामा ज्वरोले थलिएका बिरामीको जाँच र औषधि वितरण गरेको हो ।

जिल्ला अस्पतालमा मेडिकल अधिकृतका रूपमा कार्यरत सदा मुसहर समुदायकै पहिलो डाक्टर हुन् ।