१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चालाई ज्वरो आउँदा के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३२:oo

ज्वरो आफैँमा रोग होइन, लक्षण हो । बालिबालिकालाई धेरै कारणले ज्वरो आउँछ । भाइरल इन्फेक्सन हुँदा ज्वरो आउँछ । मौसम परिवर्तनसँगै रुघाखोकी, प्लु, डेंगुजस्ता इन्फेक्सनले ज्वरो आउँछ । बच्चालाई श्वासप्रश्वासमा समस्या, रुघाखोकी हुँदा पनि ज्वरो आउँछ । मौसम परिवर्तनका कारण शरीरमा रोगका कीटाणु सक्रिय भएका हुन्छन् । त्यसैले परिवर्तित मौसममा सजग हुनुपर्छ । 

ब्याक्टेरियल इन्फेक्सन हुँदा ज्वरो आउँछ । टाइफाइड, जन्डिस, निमोनिया आदि विभिन्न रोगको संक्रमणले पनि ज्वरो आउँछ । पाँच वर्षमुनिका बच्चालाई ज्वरो आउँदा विशेष ध्यान दिनुपर्छ । यतिवेलासम्म रोगसँग लड्ने क्षमता वृद्धि भइसकेको हुँदैन । घरमा कसैमा रुघाखोकी लागेमा बच्चाहरू छिटै प्रभावित हुने गर्छन् । 

यस्तो वेला सचेत हुने 
- बच्चालाई एक सय दुई डिग्रीभन्दा कम ज्वरो छ, खेलिरहेको छ, खान सकिरहेको छ, दिसा–पिसाब गरिरहेको छ भने आत्तिनुपर्दैन । ज्वरो एक सय दुई डिग्री छ र अवस्था सामान्य छ भने ४८ देखि ७२ घन्टासम्म कुर्न सकिन्छ ।

तर, ज्वरोसँगै बारम्बार बान्ता भइरहने, खाना खान नसक्ने, आमाको दूध चुस्न नसक्ने, ८–१० घन्टा पिसाब नगर्ने, सिकिस्त हुँने, घाँटी अररो हुनेलगायत लक्षण देखियो भने तुरुन्तै अस्पताल लैजानुपर्छ । त्यस्तै, कुनै पनि उमेरका बच्चालाई एक सय चार डिग्री ज्वरो देखिएमा तत्कालै अस्पताल लैजानुपर्छ । 

- ज्वरोसँगै बारम्बार बान्ता हुँदा खतरा हुन्छ । यस्तो वेला शरीरमा पानीको मात्रा कम हुन्छ । बच्चालाई डिहाइड्रेसन भएमा तुरुन्त रिहाइड्रेसन गर्नुपर्ने हुन्छ । 

- मेनेन्जाइटिसको लक्षण भएर बच्चालाई ज्वरोसँगै बान्ता भयो भने तुरुन्त उपचार आवश्यक पर्छ । एन्टिबायोटिक औषधिको आवश्यक पर्छ । 

- कतिपय अवस्थामा ज्वरोसँगै अन्य समस्या जोडिएर आउँछ । कतिपय बच्चाले जन्मिदै सिभियर निमोनिया पनि लिएर आएको हुन्छ । निमोनियाका कारण ज्वरो आउँछ । यस्तो वेला तुरुन्तै उपचार आवश्यक पर्छ । बच्चालाई अक्सिजनको कमी भएको हुन्छ । कतिपय आमाबुबालाई ज्वरो मात्रै आएको हो भन्ने लाग्छ, तर निमोनिया भइसकेको हुन्छ । 

- जन्डिस भएको बच्चालाई पनि ज्वरो आउँछ, कलेजो पनि बिग्रिएको हुन सक्छ । यस्तो वेला बच्चा अचेत भएर ठूलो समस्या आउन सक्छ । सिकिस्त भएको बच्चालाई उपचार गरिहाल्नुपर्छ । 

- पिसाबको इन्फेक्सनले ज्वरोसँगै बान्ता हुन सक्छ । यस्तो वेला उपचारका लागि लगिहाल्नुपर्छ । 

ज्वरो बल्झिरहँदा के गर्ने ?

बच्चालाई विभिन्न कारणले ज्वरो बल्झिरहन्छ । दुई वर्षसम्म बच्चालाई रुघाकोखीसँगै ज्वरो आइरहन्छ । भाइरल इन्फेक्सनको कारणले ज्वरो बल्झिन्छ । घरमा धूम्रपान गर्ने मान्छे हुँदा, साथै सरसफाइमा ध्यान नदिँदा रुघाखोकी लाग्छ र ज्वरो बल्झिन्छ । त्यसैले घरमा स्वस्थकर वातावरण सिर्जना गर्नुपर्छ । घरमा कसैलाई रुघाखोकी लागेको छ भने टाढै रहनुपर्छ । पूर्ण निको नभई स्कुल पठाउनुहुँदैन । 

- निमोनिया वा मेनेन्जाइटिसले ज्वरो बल्झिरहन्छ । यस्तो कुनै रोग छ कि भनेर स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । साधारण भाइरल इन्फेक्सनको कारणले ज्वरो आउँदा आत्तिनुपर्दैन । 

बच्चाको पोषण 
- उमेरसँगै बच्चाको पोषणमा ध्यान दिनुपर्छ ।
- जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । जसले रोगसँग लड्ने क्षमता बढाउँछ । 
- १५ महिनासम्मको बच्चालाई लगाउनुपर्ने खोप लगाउने । खोपले बच्चालाई संक्रामक रोगबाट बचाउँछ ।
- बच्चालाई पोषण नपुग्दा रोगसँग लड्ने क्षमता कम हुन्छ । 
- पोषणको कमीले गर्दा भाइरल इन्फेक्सन भइरहन्छ । 

बच्चालाई स्वस्थ राख्न 
६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । त्यसपछि प्रोटिनयुक्त खानेकुरा खुवाउने, लिटो पनि खुवाउने । चाउचाउ, बिस्कुट, कुरकुरे, कोक, फ्यान्टाजस्ता खानेकुरा बन्द गर्ने, बाहिर पकाएका खाने कुरा नदिने । फ्रिजमा धेरै दिन राखेका खानेकुरा नदिने, यस्ता कुराले शरीरमा रोगविरुद्ध लड्ने क्षमता कम गर्छ ।

खानेकुरामा सन्तुलन नमिल्दा, बाहिरको खानेकुरा खाँदा, अस्वस्थकर खानपान लगायतले ज्वरो आउने गरेको पाइएको छ । खानपिनमा अत्यन्त ध्यान दिनुपर्छ ।पानी धेरै पिउनुपर्छ । साथै, स्वस्थ खानेकुरा र पर्याप्त फलफूल खानुपर्छ । 

ad
ad