मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ भदौ ३० सोमबार ०९:४३:००
Read Time : > 1 मिनेट
अर्थ

बैंकबाटै करोडौँ  रकम अवैध  रूपमा बाहिरिँदै

नक्कली कम्पनीमार्फत बैंककै सहयोगमा सम्पत्ति शुद्धीकरण भइरहेको खुलासा 

Read Time : > 1 मिनेट
२०७६ भदौ ३० सोमबार ०९:४३:००

अवैध गतिविधिमा संलग्न गिरोहले बैंकमार्फत नै करोडौँ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानबिन गरेको हो ।

नक्कली कम्पनी खडा गरी २६ करोड रुपैयाँ दुईवटा बैंकमार्फत भारत पुर्‍याइएको एक घटनाको अनुसन्धान सकेर विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ । अवैध गतिविधिमा संलग्न एक भारतीय नागरिकले एभरेस्ट बैंक र नेपाल एसबिआई बैंकबाट २६ करोड रुपैयाँ अवैध रूपमा भारत पुर्‍याएका हुन् । ती व्यापारीले बैंकका कर्मचारीलाई समेत प्रभावमा पारी सम्पत्ति शुद्धीकरण र अवैध कारोबार गरेको विभागले जनाएको छ । 

टेलेक्स ट्रान्सफर (टिटी) मार्फत त्यसरी रकम भारत पुर्‍याइएको हो । नेपालमा आफ्नो ठूलो कम्पनी भएको कागज देखाएर उनले पटकपटक गरेर भारतीय बैंकमा रहेको आफ्नो खातामा पैसा लगेका हुन् । ‘अनुसन्धान गर्दा उनको नेपालमा कुनै पनि कम्पनी देखिएन,’ विभागका एक अधिकारीले भने, ‘नक्कली कागजपत्रकै आधारमा ठूलो रकम भारत लगेको देखिएको छ । यो एउटा प्रतिनिधि घटना मात्र हुन सक्छ ।’ अवैध रूपमा नेपालबाट भारतमा पैसा लैजाने भारतीय नागरिक फरार भइसकेका छन् । 

विभागले सो प्रकरणमा संलग्न एभरेस्ट र एसबिआई बैंकका कर्मचारीसँग बयानसमेत लिइसकेको छ । ती कर्मचारी र भारतीय नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विभागले एक साताभित्रै मुद्दा दायरको तयारी गरेको छ । कम्पनीको आधिकारिकता तथा आम्दानीको स्रोतजस्ता विषयको अध्ययन नै नगरी बैंकका कर्मचारीले टिटीमार्फत करोडौँ रकम शुद्धीकरणमा सघाएका विभागको दाबी छ ।

अन्य बैंकमाथि पनि छानबिन 
यसरी बैंकमार्फत नै सम्पत्ति शुद्धीकरणमा गरिएको घटना नेपालमा पहिलोपटक खुलेको हो । एउटा घटनाको अनुसन्धान टुंगिएको र यस्ता धेरै घटना भएको हुन सक्ने विभागका अधिकारीहरू बताउँछन् । टिटीमार्फत बाहिरिएका ठूलो कारोबारको विवरण मगाएर विभागले छानबिन थालेको छ । जसमा अन्य बैंक पनि पर्न सक्ने अनुसन्धान अधिकारीहरू बताउँछन् ।

नेपालबाट विदेश पठाउने माध्यम लेटर अफ क्रेडिट (एलसी), टेलेक्स ट्रान्सफर र डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डी÷पी) तथा डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स (डी÷ए) हुन् । विदेशबाट सामान आयातका लागि एलसी खोलेर पैसा पठाइन्छ । यस्तो कारोबारमा बैंक नै ग्यारेन्टी बस्छ । 

बैंक ग्यारेन्टी नबसी टिटीमार्फत पनि विदेश पैसा पठाउन सकिन्छ । जुन माध्यमबाट एकपटकमा अधिकतम ३० हजार डलरसम्म मात्र पठाउन मिल्छ । यिनै दुई माध्यमबाट नेपालबाट विदेशमा पैसा पठाइन्छ । नेपालमा डी÷ए र डी÷पीको प्रयोग निकै कम हुने गरेको छ । 

जसमध्ये टिटी माध्यमको दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण भइरहेको खुलेपछि विभागले यसबारे राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ । राष्ट्र बैंकले समेत यसबारे बैंकहरूलाई परिपत्र गरिसकेको छ । 

लाभांश लैजाने नाममा पनि सम्पत्ति शुद्धीकरण भइरहेको विभागको आशंका छ । ठूलो रकम लाभांश विदेश लैजान पनि राष्ट्र बैंकको स्वीकृति चाहिने प्रावधान छ । नेपालमा काम गर्ने विदेशी नागरिकले महिनामा बढीमा तीन हजार तथा वर्षमा ३६ हजार टिटीमार्फत विदेश पैसा पठाउन सक्छन् । त्यसभन्दा बढी पठाउनुपरे राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने प्रावधान छ । 

बैंकमार्फत नै सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी तथा कारोबारको जोखिम भएपछि गत साता मात्र नेपाल राष्ट्र बैंकले हरेक बैंक तथा वित्तीय संस्थामा सम्पत्ति शुद्धीकरण निवारण समिति गठन गर्न निर्देशन दिएको छ । एकीकृत निर्देशिका संशोधन गरी यस्तो प्रावधान लागू गरिएको हो ।