१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ भदौ ११ बुधबार ०६:०४:००
Read Time : > 1 मिनेट
अर्थ

गोल्यानको अर्गानिक उत्पादन बजारमा

Read Time : > 1 मिनेट
२०७६ भदौ ११ बुधबार ०६:०४:००

व्यावसायिक घराना गोल्यान ग्रुपले ‘माटो’ ब्रान्डमा अर्गानिक तरकारी तथा फलफूल बजारमा ल्याएको छ । यो घरानाले आफ} उत्पादन गरेको र किसानबाट खरिद गरेको अर्गानिक तरकारी तथा फलफूल बजारमा ल्याएको हो । ग्रुपले किसानसँग अर्गानिक उत्पादन किनेर प्याकेजिङ गरी उपभोक्तासम्म पुर्‍याउने काम सुरु गरेको छ ।

पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटबाट माटो ब्रान्डको अर्गानिक तरकारी बिक्री सुरु भएको छ । माटो ब्रान्डको तरकारी भाटभटेनीका अरू स्टोरहरू र विभिन्न मार्टमा पनि उपलब्ध हुने बताइएको छ । माटो ब्रान्डमा काउली, बन्दा, टमाटर, सुकेको लसुन, भिन्डी, क्याप्सिकम, खुर्सानी, फ्रेन्च बिन, सिमी, धनिया, काँक्रोलगायत तरकारी किन्न पाइनेछ । गोल्यानको फार्ममा मौसमी फलफूल, मौसमी तरकारी, चिया, कफी, मह, मरमसलाको कच्चा पदार्थ, चामल उत्पादन हुन्छ ।

गोल्यान ग्रुपले झापामा २ सय बिघा क्षेत्रफलमा कृषि फार्म सुरु गरेको छ । यो घरानाले दुई हजारभन्दा बढी किसानको पाँच सय बिघामा फलेको उत्पादन किनेर बजारमा पुर्‍याएको हो । गोल्यानको आफ्नै २ सय बिघामा कृषि उत्पादन भइरहेको छ । ‘कृषिलाई व्यावसायिक रूपमा अगाडि बढाउन सिएसआरको रूपमा अगाडि बढेका हौँ,’ गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले भने, ‘हाम्रो लक्ष्य आफैँ पनि अर्गानिक कृषि उत्पादन गर्ने र स्थानीय किसानलाई पनि कृषिमा आकर्षित गर्ने हो ।’ यो समूहले कृषिमा २ अर्बभन्दा बढी लगानी गर्ने लक्ष्य लिएको छ ।

अहिले तरकारीमा बिचौलियाको जगजगी छ । गोल्यान ग्रुपले किसानबाट बढीभन्दा बढी मूल्य तिरेर अर्गानिक तरकारी खरिद गरी बजारमा पुर्‍याउँछ । किसानको उत्पादनलाई उचित मूल्यसहित बजारको सुनिश्चितता गर्नु आफूहरूको उद्देश्य रहेको उनले सुनाए । ‘किसानलाई उचित मूल्य दिएर तरकारी उपभोक्तासम्म पुर्‍याउँदा हामीलाई अलि–अलि घाटा छ,’ उनले भने, ‘हाम्रो उद्देश्य नाफा कमाउने नभई कृषिमा किसानको आकर्षण बढाउने र उपभोक्ताको भन्सासम्म अर्गानिक तरकारी सुपथ मूल्यमा पुर्‍याउने हो ।’

गोल्यानका अनुसार अर्गानिक उत्पादन बढाएर निर्यात गर्ने सोच छ । यसै वर्षदेखि स्ट्रबेरी निर्यात हुँदै छ । ‘स्याङ्जाको सुन्तला, मुस्ताङ र जुम्लाको स्याउले बजार पाइरहेका छैनन्, नेपाली उपभोक्ताले विदेशबाट आयात गरिएको फलफूल खान बाध्य छन्,’ गोल्यानले थपे, ‘अब हामी किसानको अर्गानिक उत्पादनलाई बजार उपलब्ध गराउँछौँ ।’ माटो ब्रान्डमा अर्गानिक उत्पादन मात्र पाइनेछ । विदेशी उत्पादन बिक्री गरिनेछैन । ‘विषादीरहित तरकारी र फलफूल बिक्री गर्छौं, गुणस्तरमा कुनै सम्झौता गर्दैनौँ,’ गोल्यानले भने, ‘मासुबाहेक सबै कृषि उत्पादन बिक्री गर्छौं ।’