१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ श्रावण २८ मंगलबार १०:१०:००
Read Time : > 2 मिनेट
खेलकुद

गेलले तोडे लाराको रेकर्ड

Read Time : > 2 मिनेट
२०७६ श्रावण २८ मंगलबार १०:१०:००

भारतविरुद्धको दोस्रो खेलमा वेस्टइन्डिज डकवर्थ लेविस नियमअनुसार ५९ रनले पराजित भयो । तर, वेस्टइन्डिजका बायाँहाते ब्याट्सम्यान क्रिस गेलको अनुहारमा फरक चमक थियो । पोर्टस् अफ स्पेनमा आउट हुँदा पनि गेल मन्द मुस्कानसहित क्रिजबाट बाहिरिए । उनलाई जासन होल्डरले मैदान छाड्दा साथ दिए । टिम पराजित हुँदा पनि गेलप्रतिको विश्वास र सहानुभूति मैदानमा निकै राम्रो देखियो । जित हासिल नगरे पनि गेलको उपलब्धिमा अन्य वेस्टइन्डिजका खेलाडी पनि हर्षित थिए । भारतविरुद्धको खेलमा दुई दिनको अन्तरमा गेलले दुई उपलब्धि हात पारे, जुन तत्कालका लागि तोडिन असम्भवप्रायः देखिन्छ । पहिलो खेलमा उनले वेस्टइन्डिजबाट तीन सय एकदिवसीय खेल खेल्ने एक मात्र खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाए । दोस्रो खेलमा वेस्टइन्डिजबाट एकदिवसीय खेलमा सर्वाधिक व्यक्तिगत रन बनाउने ब्याट्सम्यानको रेकर्ड कायम गरे ।

१० हजार चार सय आठ रन
भारतले पहिलो ब्याटिङ गर्दै वेस्टइन्डिजलाई दुई सय ९० रनको उच्च लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउनुअघि गेलसमक्ष ब्रायन लाराले एकदिवसीय खेलमा वेस्टइन्डिजबाट कायम गरेको १० हजार चार सय पाँच रनको रेकर्ड तोड्ने अवसर थियो । उक्त लक्ष्य पूरा गर्न उनले धेरै स्कोर जोड्नुपर्ने आवश्यकता थिएन । गेल ११ रन मात्र बनाएर आउट भए, तर पनि उनका लागि यो दिन विशेष रह्यो । गेलले तीन सय खेलमा वेस्टइन्डिजका लागि सर्वाधिक एकदिवसीय रन बनाउने कीर्तिमान आफ्नो नाममा पारे । उनले लारालाई तीन रनले पछाडि पार्दै १० हजार चार सय आठ रन बनाए । संयोग कस्तो रह्यो भने लाराको नाममा एक दशकदेखि रहेको दुईवटा कीर्तिमान पाखा लगाउन उनलाई पछिल्ला लगातार दुई खेल पर्याप्त बने ।

विश्वकपमा पहिलो दोहोरो शतक
गत महिना इंग्ल्यान्डमा भएको १२औँ एकदिवसीय विश्वकपमा गेलको ब्याट खासै चल्न सकेन । तर, विश्वकप इतिहासको एउटा रेकर्ड नै गेललाई सधैँ सम्झन पर्याप्त छ । विश्वकपमा पहिलो दोहोरो शतक गेलले जिम्बावेविरुद्ध सन् २०१५ मा बनाएका थिए । उनले त्यसवेला दुई सय १५ रन जोडेका थिए । न्युजिल्यान्डका मार्टिन गुप्टिलले कीर्तिमानी दोहोरो शतक बनाउनुअघिसम्म गेलको नाममा विश्वकपमा सर्वाधिक रनको व्यक्तिगत इनिङ थियो ।

वेस्टइन्डिजका सर्वाधिक रनकर्ता 

  • क्रिस गेल  -   १०४०८
  • ब्रायन लारा  -  १०४०५
  • शिवनारायण चन्द्रपाउल  -  ८७७८
  • डेस्मोन्ड हेनस  -  ८६४८
  • भिव रिचर्डसन  -  ६७२१

२० वर्षको करिअर
सन् १९९९ मा गेलले भारतविरुद्ध टोरोन्टोमा एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनको डेब्युमा वेस्टइन्डिजका कप्तान लारा नै थिए । लाराले आफूभन्दा एक स्थानमाथि गेललाई ब्याटिङ अवसर दिए । उनले डेब्यु खेलमा केवल आठ बलको सामना गरी एक रन मात्र बनाए । दुई दशकको क्रिकेट यात्रामा गेलले धेरै उतार–चढावको सामना गरे । तर, उनले कहिल्यै हिम्मत हारेनन्, सधैँ आफूलाई एक लडाकु खेलाडीका रूपमा उभ्याइरहे । यसैकारण गेलले आजको दिनमा वेस्टइन्डिजकै लिजेन्ड ब्याट्सम्यानको छवि बनाउन सके । एकदिवसीय, टी–२० र टेस्ट खेलमा गेलले धेरै रेकर्ड बनाएका छन् । उनले एकदिवसीय खेलमा तीन सय एक खेलमा २५ शतक र ५३ अर्ध शतक प्रहार गरिसकेका छन् ।

गेल भारतविरुद्ध दोस्रो खेलमा ११ रन मात्र बनाएर आउट भए, तैपनि उनका लागि यो दिन विशेष रह्यो । उनी तीन सय खेलमा वेस्टइन्डिजका लागि सर्वाधिक एकदिवसीय रन बनाउने कीर्तिमान आफ्नो नाममा पार्न सफल भए

रेकर्डको तस्बिर पोस्ट गर्ने सोख
गेल फिल्ड र ड्रेसिङ रुममा त्यति साह्रो बोल्दैनन् । थोरै मात्र बोल्दा पनि कप्तानको आग्रहमा मात्र गेलको बोली फुट्छ । यसबाहेक उनी चुपचाप बस्न मन पराउँछन् । क्रिजमा भने उनको ब्याट बोल्छ । उनको ब्याट चलिरहँदा विपक्षी बलर उनीसामु निरीह हुन्छन् । यसका साथै उनको एउटा अचम्मको खुबी छ । जब–जब क्रिकेटमा आफूले कुनै नयाँ रेकर्ड बनाउँछन्, त्यसवेला गेल त्यही अंकमा फोटो पोस्ट गर्छन् । तीन सय एकदिवसीय खेल पूरा गर्दा पनि गेलले यही अंकमा फोटो सुट गराएका थिए । विश्वकपमा दुई सय १५ रन बनाउँदा पनि गेलले यही अंकमा फोटो खिचाए । ‘जब कुनै रेकर्ड बन्छ, मलाई फोटो खिच्न मन लाग्छ,’ गेल अक्सर भन्ने गर्छन्, ‘त्यो दिन पछिसम्म याद राख्नका लागि म यस्तो फोटो खिच्न मन पराउँछु ।’

विश्वकप भुुलाउने प्रयास
डेढ महिनाअघि इंग्लिस भूमिमा विश्वकप सुरु हुनुअघि गेलले आफ्नो अन्तिम क्रिकेट यात्रा घोषणा गरेका थिए । तर, राष्ट्रिय टोलीबाट थप खेल्ने चाहना र टोलीलाई केही विशेष योगदान दिने उद्देश्यका कारण गेलले आफ्नो सन्न्यास तत्कालका लागि स्थगित गरे । विश्वकप करिअरकै अन्तिम भए पनि एकदिवसीय खेलमा आफू केही समयका लागि उपलब्ध हुने उनले जनाएका थिए । विशेषतः गेलको चाहना विश्वकपमा गरेको खराब प्रदर्शन भुल्न कुनै खेलमा विशेष योगदान दिनु छ । त्यसको सदुपयोग उनी भारतविरुद्धको सिरिजमा गर्न चाहन्छन् ।