मनाङको नार्पाभूमि गाउँपालिका– ५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। हिमपहिरोमा परी आइतबार दुईजनाको शव फेला परेकोमा सोमबार थप दुईजनाको शव फेला परेको हो।
हिमाल आरोहणमा गएका नौ पर्वतारोही र १३ जना सहयोगीसहित २२ जनामध्ये हिमपहिरोका कारण १० जना नार्पाको फु गाउँमा सम्पर्कमा आएका थिए भने अन्य १० जना आइतबारदेखि सम्पर्कविहीन थिए।
सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजिए) को टोलीले सोमबार थप दुईजनाको शव फेला पारेको हो।
एसोसिएसनका अनुसार सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो। यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय (जिप्रका) मनाङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद बोहराका अनुसार सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर परिचालन गरिएको थियो। तर, मौसम खराबीका कारण आइतबार खोजीकार्यमा अवरोध भएपछि सोमबार बिहानदेखि पुनः खोजी सुरु गरिएको उनले जानकारी दिए।
यसैगरी, मनाङको चामे गाउँपालिका– ४ स्थित लमजुङ हिमालबाट आएको लेदोसहितको पहिरोले चामे र तातोपानी क्षेत्रका घर, पुल तथा पशुचौपायामा क्षति पुर्याएको छ।
आइतबार करिब १६ः४५ बजेतिर आएको पहिरोका कारण चामे– ४ स्थित जगदीश शाहको खाजा पसल, नरमाया तामाङको होटेल र आकाश लामाले निर्माण गरिरहेको ग्यारेजमा क्षति पुगेको छ। त्यस्तै, बमबहादुर पौडेलको खोरमा रहेका तीनवटा बंगुर र ३०–३५ वटा कुखुरा पनि पहिरो तथा बाढीबाट प्रभावित भएका छन्।
छिरिङ धोर्जे लामाको होटेल रोयल गार्डेनअगाडिको गेटसमेत मर्स्याङ्दी नदीले बगाएको छ।
यसैगरी, चामे– ५ स्थित तातोपानी जाने सडक क्षेत्रमा रहेको मेलिना गुरुङको होटेल, अनिता लामाको होटेल, चामे गाउँपालिका– ५ का वडाध्यक्ष लोप्सन लामाको घर, मंगल विकको घर र सन्त विकको घर मर्स्याङ्दी नदीमा बढेको पानीकाे बहाबका कारण डुबानमा परेका छन्।
साथै, चामेबाट माथिल्लो मनाङ जोड्ने सडकखण्डअन्तर्गत चामे– ४ र ५ जोड्ने बेलिब्रिज पनि मर्स्याङ्दी नदीको बढेको बहाबले डुबाएको छ। ठाडो खोलामा रहेको काठको सवारी आवतजावत गर्ने पुलसमेत हिलोसहित आएको पहिरोले बगाएको छ।